काठमाडौं – बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रुससँग युद्ध अन्त्यका लागि भएका वार्ता असफल हुनसक्ने बताएका छन् । भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री जोनसनले रुसले राजधानी कीभमा ताजा हमला गर्नसक्ने बताए ।


ADVERTISEMENT


भारत भ्रमणका क्रममा युक्रेन युद्धबारे भारतको तटस्थता अन्त्य गर्न भारतीय समकक्षीलाई प्रोत्साहन गर्ने उनले बताए । तर, भारतले रुससँगको लामो समयदेखिको सम्बन्ध तोड्ने सम्भावनालाई भने उनले अस्वीकार गरे ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री नरेन्द्र मोदी र जोनसनबीच शुक्रबार नयाँ दिल्लीमा भेट वार्ता हुँदैछ । भेटका क्रममा जोनसनले आफ्ना भारतीय समकक्षीलाई रुस–युक्रन युद्धमा युक्रेनको पक्षमा उभिन मोदीलाई मनाउन प्रयास गर्ने अनुमान गरिएको छ ।

‘मैले युक्रेनको बारेमा नरेन्द्र मोदीसँग कुरा गरिसकेको छु र वास्तवमा भारतीयहरूले बुचामा भएको घटनाको निन्दा गरेका छन’ उनले भने । प्रधानमन्त्री जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग व्यवहार गर्नु भनेको गोहीसँग ‘बार्गेनिङ’ गर्नुजस्तै भएको बताए ।

रुसले पछिल्लो समय आफ्नो सम्पूर्ण बल पूर्वी युक्रेनमा केन्द्रित गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्वी युक्रेनबाट रूसी सेनालाई हटाएको आफूले हेर्न चाहेको उनले बताए ।

सन् २०१४ मा रुसमा बिलय भएको क्रिमिया प्रायद्वीपबारे जेलेन्स्कीले छलफल गर्न सक्ने उनले बताए । युक्रेनी जनताले आफ्नो भविष्यको निर्णय आफैं गर्ने उनको भनाई थियो । ‘युक्रेनबिना युक्रेनको बारेमा केही निर्णय गर्नु हुँदैन ’, उनले थपे ।