काठमाडौं – सत्ता गठबन्धनको भागबन्डामा काठमाडौं महानगरको उपमेयर नेकपा एकीकृत समाजवादीलाई परेपछि उक्त पार्टीमा दाबेदार संख्या बढेको छ ।


ADVERTISEMENT


महानगरका ३२ मध्ये १० वडामा उक्त पार्टीको दावी छ । उपमेयर पनि पार्टीको भागमा परेपछि वडाध्यक्ष बनाउन तयार पारिएका व्यक्तिहरु पनि उपमेयरका लागि संघर्ष गर्दैछन् ।


ADVERTISEMENT

# # #


महानगरको उपमेयरमा सबभन्दा बलियो दावी छ, रामेश्वर श्रेष्ठको । उनी पार्टीको महानगर कमिटीका अध्यक्ष हुन् । कुनै बेला युथ फोर्सको उपत्यका इन्चार्जका रुपमा काम गरेका उनले अहिलेसम्म जनताबीचको चुनावी प्रतिस्पर्धा झेलेका छैनन् ।

उपमेयरका लागि तीनजना बहालवाला वडाध्यक्षले दावी पेश गरेका छन् । तीमध्ये वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डङ्गोल तुलनात्मक रुपमा बलियो मानिएका छन् । पार्टीका सम्मानित नेता झलनाथ खनालको बसोबास रहेको डल्लु उनको वडा हो । उनी अहिले महानगरपालिकाका प्रवक्ता हुन् ।

अर्का दावेदार हुन्, शुद्ध डङ्गोल । उनी ७ नम्बर वडा (चावहिल) का अध्यक्ष हुन् । उक्त वडा तालमेलमा पनि एकीकृत समाजवादीले पाउने करिब निश्चित छ । तर, उपमेयर पार्टीको भागमा आएपछि उनले वडाध्यक्षमा दोहोरिने सपना देख्न छोडेका छन् ।

त्यस्तै, एक महिनाअघि एमाले परित्याग गरेका २५ नम्बरका वडाध्यक्ष बालकृष्ण श्रेष्ठ पाएदेखि उपमेयर नै राम्रो हुने भनी लविङमा जुटेका छन् । काठमाडौंको ठेट नेवार बस्ती मखनटोलका बासिन्दा श्रेष्ठ बाल दाइका नामले वडामा लोकप्रिय छन् ।

उपमेयरकै दावेदारी प्रस्तुत गर्ने महिलाको संख्या पनि बढेको छ । चावहिल घर भएकी केन्द्रीय सदस्य सीता श्रेष्ठदेखि कामपा ३० की बासिन्दा एवं पार्टी केन्द्रीय सदस्य रन्जना मास्केसम्मको उपमेयरमा दावी छ ।

पार्टीको जिल्ला कमिटी उपाध्यक्ष रहेकी ओमकुमारी श्रेष्ठ पनि उपमेयरको दावी गरिरहेकी छन् । पहिला ३१ को वडाध्यक्ष दावी गरेकी उनले मंगलबार महानगरको बाँडफाँटमा पार्टीले उपमेयर पाउने भएपछि वडाध्यक्षको माग छोडेकी छन् ।