काठमाडौं – अक्सिजन प्लान्ट विष्फोटमा एउटा सिलिन्डरसँगै अरू पनि विष्फोट भएको आशंका गरिएको छ । छानबिन गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन् ।


ADVERTISEMENT


जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेलका अनुसार एउटा सिलिन्डर सुरूमा पड्किएको थियो। तर त्योसँगै अरू पनि पड्किएको हुनुपर्ने उनले बताए।


ADVERTISEMENT

# # #


यद्यपि कतिवटा पड्किएको थियो भन्ने यकिन भइसकेको छैन। यस विष्फोटमा परी एक जनाको घटनास्थलमा मृत्यु भएको छ। ७ जना घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।

‘यो ठूलो विष्फोट हो। विष्फोट अनुसार मृतकको संख्या एकदमै कम भएको देखिन्छ,’ एसएसपी पोखरेलले भने। ‘कतिवटा सिलिन्डर पड्किएको भन्ने नै थाहा भइसकेको छैन। सुरूमा सिलिन्डर एउटा पक्कै पड्किएको हो। त्यसले अरूलाई पनि पड्कायो। तीन-चार वटा सिलिन्डर पड्किएको हुनुपर्छ, त्योसँगै भेटिएका पाइपहरू पनि पड्किए,’ उनले थपे।

यस्तै मृतकको शव पनि टुक्रा टुक्रा भएको अवस्थामा फेला परेको उनले बताए । भुइँको सिलिन्डर ६० मिटरमाथि लगेर फालिएको अवस्थामा फेला परेको एसएसपी पोखरेलले बताए । ‘ठूलो सिलिन्डर ६० मिटरमाथि फालिएको अवस्थामा फेला परेको छ। दुई सय मिटरको रेडिएसनमा विष्फोट भएको जस्तो देखिन्छ,’ उनले भने ।

काम गर्दा भित्र १० जना थिए। त्यसलाई पनि पुष्टि गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । गृह मन्त्री बालकृष्ण खाणले घटनासम्बन्धी छानबिन गर्न निर्देशन दिएका छन् । घटनामा खेलाँची नगरी उद्दार कार्यमा लाग्न गृहमन्त्रीले निर्देशन दिएको पोखरेलले बताए ।