काठमाण्डौं-मङ्सिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि भक्तपुरमा उम्मेदवारी दिएका दलका नेताहरू घरदैलो अभियानलाई अन्तिम रूप दिँदै गोप्य भेटघाट र चुनावीसभामा केन्द्रित भएका छन् । करिब तीन सातासम्म निरन्तर घरदैलो अभियान गरेका उम्मेदवारहरू घरदैलो अभियानको समीक्षा गर्दै अब गोप्य भेटघाट र चुनावीसभामा केन्द्रित भएका हुन् । नेपाली काँग्रेस, नेकपा (एमाले) र नेपाल मजदुर किसान पार्टीलगायतका राजनीतिक दलहरूको घरदैलो अभियान अन्तिम चरणमा पुगेको हो ।


ADVERTISEMENT


उम्मेदवारहरूले आआफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने सबै नगरपालिकाको प्रत्येक वडा र टोलमा पुगेर गोप्य भेटघाट र चुनावीसभा गर्ने बताएका छन् । भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टी, नेपाली काँग्रेस र वाम गठबन्धनबीच प्रतिस्पर्धा हुने भए पनि क्षेत्र नं. २ मा भने नेपाली काँग्रेस र नेकपा (एमाले)बीच कडा प्रतिस्पर्धा हुँदैछ ।


ADVERTISEMENT

# # #


नेपाली काँग्रेस भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार दमननाथ ढुङ्गानाले घरदैलो कार्यक्रम सम्पन्न गरेर चुनावी सभाका लागि तयारी गर्दैै ससाना बैठकमा सक्रिय भएको बताए । उनका अनुसार घरदैलो अभियानमा मतदाताले राखेको गुनासालाई सम्बोधन गर्न र निर्वाचनको अन्तिम तयारीका लागि बुधबारदेखि नै कोठे बैठकमा सक्रिय भएका छौँ । १४ देखि १८ गतेसम्म निर्वाचन क्षेत्रभित्रका चोकचोकमा चुनावी सभा गर्ने तयारी छ । उनले भने, “घरदैलो अभियानबाट आफूहरू उत्साहित हुँदै अब चुनावी सभाका लागि केन्द्रित भएका छौँ । ”

नेकपा (एमाले) भक्तपुर २ का उम्मेदवार महेश बस्नेतले आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने सूर्यविनायक, मध्यपुर थिमिका सबै वडा र टोलटोलमा पुगेर घरदैलो अभियान सम्पन्न भएको र अब चुनावी सभा र गोप्य भेटघाटमा केन्द्रित भएको बताए । उनले मङ्सिर १५ गतेदेखि १८ गतेसम्म प्रत्येक दिन तीनदेखि चार स्थानमा चुनावी सभा गर्ने बताए । घरदैलो अभियानबाट आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै अबको समय चुनावी सभा र मतदातासँग भेटघाटमा व्यस्त रहने बस्नेतको योजना छ ।

नेमकिपा भक्तपुर १ का उम्मेदवार प्रेम सुवालले घरदैलो अभियान सकिएर अब पार्टीको घोषणापत्र र मतदानका बारेमा मतदातासामु कक्षा सञ्चालन गर्दै चुनावी सभामा केन्द्रित भएको बताए । १५ देखि १८ गतेसम्म भक्तपुरको दुवै निर्वाचन क्षेत्रमा चुनावी सभा हुने भन्दै उनले त्यसका लागि पार्टीले सबै तयारी गरेको स्पष्ट पारे ।

जिल्ला निर्वाचन कार्यालय भक्तपुरका अनुसार विवेकशील साझा पार्टी, नयाँ शक्ति पार्टी, राप्रपा, एकीकृत राष्ट्रिय जनता पार्टी र स्वतन्त्र गरी चार दर्जन उम्मेदवारले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारी दिएका छन् ।

साना दलका उम्मेदवारहरूले पनि घरदैलो सम्पन्न गरी कोठे भेटघाटमा सक्रिय भएको ती दलका उम्मेदवारहरूले बताएका छन् ।