काठमाण्डौं-लमजुङमा यस वर्ष सुन्तला उत्पादनमा ह्रास आएको छ । सामान्य वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले सुन्तला उत्पादनमा ह्रास आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गतवर्ष जिल्लामा पाँच हजार २७४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।


ADVERTISEMENT


जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीले रोग कीराका कारण सुन्तला बगैँचा मासिदै गएकाले उत्पादनमा कमी आएको बताए ।


ADVERTISEMENT

# # #


सुन्तला उत्पादनमा देशभर प्रसिद्धि कमाएको लमजुङमा टुप्पो मर्ने रोगका कारण सुन्तलाको बोट विस्तारै मर्दै गएको किसानहरूले बताएका छन् । कृषि कार्यालयका प्राविधिकले सुन्तलाका बोटमा सिट्रस ग्रिनिङ्ग भाइरस रोग देखापरेको बताएका छन् ।

जिल्लाको एक हजार दुई सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकोमा करिब ६ सय हेक्टर क्षेत्रफलमा मात्र सुन्तला उत्पादन हुँदै आएको छ । लमजुङको कुन्छा, दुराडाँडा, भोेर्लेटार, ईशानेश्वर, राइनास मोहोरियाकोट, तार्कुघाट, सिम्पानी, भुलभुले, गाउँशहर, भोँजेलगायतका स्थानमा सुन्तला खेती हुँदै आएको छ ।

यीमध्ये चिती र उदिपुरलाई कृषि विकास कार्यालयले नमुना पकेट क्षेत्र घोषणासमेत गरेको छ । नमुना क्षेत्र भनेर घोषणा गरिए पनि बाँझाखेत, सिम्पानी, दुराडाँडालगायतका क्षेत्रमा ग्रिनिङ भाइरसका कारण सुन्तलाको पूरै बोट मरेपछि उत्पादन नै शून्य हुने अवस्थामा पुगेको कृषि विकास कार्यालयले जनाएको छ ।