चितवन– त्रिशूली नदी बस दुर्घटनामा मृत्यु भएका सात जनाको सनाखत भएको छ ।


ADVERTISEMENT


नदीमा हराइरहेकाको खोजी जारी रहेको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार छ जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपक थापाकाले मृत्यु हुनेमा अर्घखाँचीका ५२ वर्षीय नुदराज अधिकारी, दैलेखका ३० वर्षीय अमरबहादुर शाही, नवलपरासी बर्दघाट नगरपालिका वडा नं १ का ५० वर्षीय कृष्ण ढकाल, रुपन्देही देवदह– ९ का ३० वर्षीय दीपक पाण्डे, कपिलवस्तु बाङ्ग्राका ३९ वर्षीय ओमबहादुर सिंजापति र वतन खुल्न नसकेका अन्दाजी ३० वर्षीय विष्णु रहेको जानकारी दिए ।

उपचारका लागि ललितपुरको बिएण्डबी अस्पताल पुर्याइएकी सन्धिखर्क नगरपालिका– ४ अर्घाखाँचीकी ४३ वर्षीया लक्ष्मी पौडेलको उपचारका क्रममा बुधबार नै मृत्यु भएको थियो ।

लु २ ख २९१ नंको उक्त बस काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ४९७२ नंको ट्रकमा ठोक्किएर अनियन्त्रित भई सडकबाट त्रिशूलीमा खसेको थियो । घाइतेमध्ये नौ जनाको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा र १३ जनाको बिएण्डबी र नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

नदीमा डुबेको बस निकाल्नका लागि प्रयास जारी छ । बससँगै अन्य तीन जना बेपत्ता भएको अनुमान गरिएको छ । प्रहरी उपरीक्षक थापाले अर्घाखाँचीका मनीषा थापा र शंकर कुँवरका परिवारले उनीहरु बेपत्ता भएको जनाएको बताए ।

दुर्घटनामा घाइते भएका छमहिने बालककी आमा थापा भएको उनले बताए । बालकको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ । बसले शुरुमा २६ जनाको चलानी काटेको, कलंकीबाट चार जना चढाएको र चालक र सहचालक दुई जना गरी बसमा ३२ जना सवार रहेको बताइएको छ ।

काठमाडौँबाट अर्घखाँची जान नारायणगढतर्फ आउँदै गरेको बस इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा बुधबार बिहान ९ः१५ बजे दुर्घटना भएको थियो ।