जनकपुर– वर्षौँदेखि डुबान र कटानको समस्या भोग्दै आएका धनुषाको धनुषाधाम नगरपालिका–४ रामपुरका मतदाताले बलुवा खोलामा पुल बनाइदिने उम्मेदवारलाई आफ्नो मत दिने बताएका छन् । बलुवा खोलामा पुल निर्माण नहुँदा वर्षायाममा डुबान र कटानको समस्या भोग्दै आएका धनुषाधाम नगरपालिकाको सरसा, रामपुर, लवटोलियासहित एक दर्जनभन्दा बढी गाउँका स्थानीयवासी जोखिमपूर्णा यात्रा गर्न बाध्य छन् ।


ADVERTISEMENT


कामविशेषले धनुषाधाम बजारसम्म आवतजावत गर्ने सो क्षेत्रका स्थानीयवासी एकातिर खोलामा पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् भने अर्कातिर खोला गहिरो भएकाले बाढीका बेला सवारीसाधन नै भासिने जोखिम छ । ‘गाउँदेखि धनुषाधाम बजारसम्म पुग्न समस्या छ’, रामपुरकी सीतादेवी यादवले भनिन्, ‘पुल नहुँदा कतिपयले जोखिम उठाएरै खोला तरेर बजारसम्म पुग्छन् भने कतिपयले घुमाउरो बाटोको प्रयोग गरेर पुग्ने गरेका छन् ।’


ADVERTISEMENT

# # #


सुक्खायाममा केही सहज भए पनि बाढीको समयमा दुई महिनासम्म स्थानीयवासीलाई आवतजावत गर्न गाह्रो हुन्छ । ‘यो समस्याबारे वडा र नगरका जनप्रतिनिधिदेखि मन्त्रीसम्मलाई अवगत गराएँ, तर अझै खोलामा पुल निर्माणका लागि कुनै पहल हुनसकेको छैन’, यादवले सुनाइन् । सो खोलामा पुल निर्माण भए सहजरूपमा बजारसम्म आवतजावत गर्न सकिन्छ । पुल निर्माणपछि गाउँबाट धनुषाधाम बजारसम्म पुग्न पाँच किलोमिटर जति मात्र हुनेछ । त्यो दूरी पैदल एक घण्टा र सवारीसाधनमा ओहोरदोहोर गर्न १० मिनेट मात्र लाग्छ । पुल निर्माण नहुँदा घुमारो बाटो प्रयोग गर्न बाध्य भएको उनको दुःखेसो छ ।

बालुवा खोलाको बाढीले बर्सेनी क्षति पुर्‍याउने गरेको स्थानीयवासीले जनप्रतिनिधिदेखि केन्द्रीय नेतालाई गुहार्दै आएका छन् । ‘‘खोलामा पुल नबन्दा भोग्नुपरेको पीडाबारे गुहार्दै आएका छौँ, हाम्रो कुरा अहिलेसम्म कसैले सुनेनन्’, रामपुरकै सुभद्रा देवीले सुनाउँछिन्, ‘निर्वाचित भएदेखि नै धनुषाधाम नगरपालिकाका जनप्रतिनिधिलाई समेत खोलाले पुर्‍याउँदै आएको क्षति र पुलको आवश्यकताबारे ध्यानाकर्षण गराए पनि आश्वासनबाहेक केही पाउन सकेका छैनौँ ।’ खोलामा तटबन्धसँगै पुल निर्माणको ग्यारेन्टी गर्ने उम्मेदवारलाई स्थानीय तह निर्वाचनमा मतदान गर्ने मतदाताले बताएका छन् ।

‘चुनावका बेला भोट लिन ठूला–ठूला आश्वासन बाँड्ने नेता पदमा पुगेपछि बिर्सिने गरेका छन्’, लवटोलियाका सिम्रिक साहले भने, ‘अब बालुवा खोलामा पुल निर्माणको ग्यारेन्टी गर्ने नेतालाई मात्र हामी मत दिन्छौँ । बाढीले बर्सेनि वरिपरिका गाउँ डुबानमा पर्ने समस्या छ । रासस