काठमाडौँ – काठमाडौँमा जारी एकदिवसीय सिरिजको अन्तिम खेलमा जिम्बाब्बे ‘ए’ले नेपाललाई २१४ रनको विशाल चुनौती दिएको छ ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको जिम्बाब्बे ‘ए’ले मैदान भिजेपछि ३३ ओभरमा झारिएको खेलमा बिस्फोटक ब्याटिङ गर्दै ३२.१ ओभरमा सबै विकेट गुमाउँदै २१३ रन बनाएको हो ।


ADVERTISEMENT

# # #


जिम्बाब्बे ‘ए’का लागि टाडिवानासे मरुमानीले अर्धशतकीय इनिङ् खेले । उनले ३१ बलमा ७ चौका र १ छक्का ठोक्दै ५० रन बनाए । यस्तै कुट्जाई मौन्जेले ३४ बलमा ४ चौका र २ छक्कासहित ३९ तथा रोय काइयाले ४८ बलमा ३ चौका र १ छक्कासहित ३६ रन जोडे ।

यस्तै कप्तान टोनी मनयोंगाले १२ बलमा २ चौका र २ छक्कासहित २४, सेफास जुवाओले १८ बलमा २ छक्कासहित १६ रन तथा लुके जोग्वेले १५ बलमा १ चौका र १ छक्कासहित १९ रन जोडे ।

नेपालका लागि किशार महतोले एक्लैले जिम्बाब्बे ‘ए’का ५ विकेट चट्काए । ७ ओभर बलिङ गरेका उनले १ मेडेन राख्दै ४३ रन खर्चिए । यस्तै सोमपाल कामीले २ तथा करण केसी र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट हात पारे ।नेपालले जवाफी ब्याटिङ गर्दैछ ।

यसअघि पहिलो खेलमा जिम्बाब्बे ‘ए’ले ३ विकेटले जितेको थियो भने दोस्रो खेलमा नेपाल ९ विकेटले विजयी भएको थियो । आजको खेलमा विजयी हुने टोलीले सिरिज जित्नेछ । यसअघि तीन खेलको टी–२० सिरिजमा यी दुई टोलीले १–१ जितसहित सिरिज बाँडेका थिए ।