देउखुरी – स्थानीय तह निर्वाचनका दाङका मतदानस्थलमा मतदान अधिकृत र कर्मचारी सामग्रीसहित पठाएको छ । सुरक्षाकर्मीका साथमा कर्मचारी, मतपेटिका, मतपत्र, स्वस्तिक चिह्न, मतदाता नामावलीलगायत आवश्यक सामग्री पठाइएको छ ।


ADVERTISEMENT


मुख्य निर्वाचन कार्यालयमार्फत निर्वाचन अधिकृतले मतदानमा आवश्यक पर्ने स्वस्तिक छाप, नङमा लगाउने मसी, स्टायाम्प प्याड, छेकवबा, पोलबुक, लाह छाप, सुरक्षण सिल, मत पेटिका स्टिकर, मैनबत्ती मतदाता परिचयपत्र पठाइएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


अन्य सामग्रीमा कैची, रबर म्याट, स्टाप्लर, ग्लुस्टिक, पन्चिङ मेसिन, सेनिटाइजर, प्राथमिक उपचार बाकस, निर्वाचन निर्देशिका अनुसूची, स्टेसनरीका सामान पठाइएको छ । जिल्लामा लामो दूरीका स्थान बङ्गलाचुली, राप्ती, राजपुर, बबई र लमही नगरपालिकामा २६ गते पठाइएको थियो भने छोटो दूरी भएका स्थान गढवा, दङ्गीशरण, शान्तिनगर गाउँपालिका, तुलसीपुर, घोराही उपमहानगरपालिकामा आज पठाइएको मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिए ।

छ हजार बढी जनशक्ति परिचालन

निर्वाचनका लागि कर्मचारी र सुरक्षाकर्मी गरी छ हजार बढी जनशक्ति परिचालन गरिएको छ । तीन हजार ६८८ कर्मचारी र तीन हजारको सङ्ख्यामा सुरक्षाकर्मी गरी छ हजार ६८८ जनशक्ति निर्वाचनमा खटाइएको हो । निर्वाचन कार्यालयका अनुसार दाङमा ४६१ मतदान केन्द्र छन् ।

हरेक मतदान केन्द्रमा आठ जनाको दरले कर्मचारी खटिने छन् । एउटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, दुईजना सहयोगी र तीनजना स्वयंसेवक परिचालन हुने प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरी गरी तीन हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन हुने प्रहरी प्रमुख सुरेश काफ्लेले जानकारी दिनुभयो । थप सुरक्षाकर्मीलाई समेत तयारी अवस्थामा राखिने र आवश्यक पर्ने ठाउँमा तत्काल परिचालन गरिने योजनासहित सुरक्षा योजना तयार पारिएको उनले बताए । यसैगरी नेपाली सेनाले बम डिस्पोजल टोलीलाई समेत तयारी अवस्थामा राख्ने बताइएको छ ।

निर्वाचन सुरक्षा कार्ययोजना बनाएर निर्वाचनलाई गस्ती, सम्भावित अपराधका घटनाको विश्लेषण र नियन्त्रणका लागि टोल बस्तीमा प्रहरी परिचालन गरिएको प्रहरी कार्यालयले जनकारी दिएको छ । मतदानस्थल पुग्न, मतदान गर्न र घर फर्कनेसम्मको वातावरणलाई सुरक्षित बनाइएको छ  । आजसम्म सम्बन्धित मतदानस्थलमा सम्पूर्ण कर्मचारी पुग्ने कार्यक्रम छ । भोलि र पर्सी मतदाता परिचयपत्र वितरण गर्ने र सोही बेला मतदाता शिक्षा पनि चलाइनेछ ।

त्यसैगरी सोही दिन नै मतदानका लागि केन्द्र निर्माणका काम गरिनेछ । जिल्लामा १५३ मतदानस्थल र ४६१ मतदान केन्द्र तोकिएको छ । जिल्लामा दुई लाख नौ हजार ९९ महिला, दुई लाख सात हजार ९९ जना पुरुष र दुईजना तेस्रोलिङ्गी गरी चार लाख नौ हजार ९०२ जना मतदाता रहेका छन् ।