नेपाली कांग्रेसका तर्फबाट ललितपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार चन्द्र महर्जनसंग गरिएको कुराकानी


ADVERTISEMENT


निर्वाचन नजिकै आइसक्यो तयारी कस्तो छ ?


ADVERTISEMENT

# # #


साथीहरुको सहयोगमा हामीले घरदैलो कार्यक्रम गरिरहेका छौँ । अझपनि पुगिरहेको छैन । पहिलेको निर्वाचनमा ४१ दिन लागेको थियो । तर यसपाली हामी १५/१६ दिन मात्रै घुमेका छौं । हामीले अहिले आमसभा भन्दा पनि घरदैलोमा ध्यान दिएका छौँ । किनभने सबैको घर दैलोमा गएपछि उनीहरुको व्यक्तिगत तथा सामुदायिक समस्या थाहा हुन्छ ।  क्षेत्रफल ठूलो भएकोले अलि समस्या भएको छ । समय थोरै छ तर घरदैलो सकिएको छैन । तपाई मार्फत पनि म मतदातालाई भन्न चाहन्छु कि घरदैलो कार्यक्रम गर्न खोज्दा खोज्दै पनि समयको अभावले सबै ठाउँमा गर्न सकिएन । अरु तयारी त भइ नै रहेको छ ।

खाँड अघिल्लो पटक मलाई विजयी गराईदिनु भयो । मैँले गर्न सकेको जति गरेँ । प्रमुखतः म संविधान बनाउनपट्टी लागेँ । सबैको हक अधिकार सुनिश्चित हुने संविधान बनेको छ । त्यसको कार्यान्वयनका लागि निर्वाचन भइरहेको छ । फेरि पनि म यहाँ उम्मेदवार भएर आएको छु ।

अहिले मुलूकमा वाम एमाले र माओवादीले वाम गठबन्धन गरेका छन् भने तपाईहरुले पनि लोकतान्त्रिक गठबन्धन गर्नु भएको छ । कांग्रेसले वाम गठबन्धनलाई अधिनायकवाद लाद्ने षड्न्त्र भनिरहेको अवस्थामा तपाईँको यसमा के मत छ ?

अहिले दुई धारमा निर्वाचन हुन गइरहेको छ । हारजित भन्दा पनि यो जनमत संग्रह हो । २१ गते मतहाल्दा हामीले सोच्न सकेनौँ भने हामी अझ ५० वर्ष पछाडी पर्न सक्छौँ । माओवादीको १० वर्षे जनयुद्धले देशलाई १० वर्ष पछाडी धकेल्यो । वाम गठबन्धनका नाममा यिनीहरुले कम्युनिस्ट सरकार बनाउन खोज्दैछन् । यदि त्यसो भयो भने लोकतन्त्र खतरामा पर्छ । देशमा विकास हुन सक्दैन । अब हामी कति पछि जाने ? वाम गठबन्धनले जनताको अधिकारको रक्षा गर्न सक्दैन । जनताका अधिकार विस्तारै हडप्दै जान सक्छ ।

५०/६० वर्ष संघर्ष गरेर बल्ल प्राप्त गरेको लोकतन्त्र जोगाउन सकिएन भने देशमा अझ कती लामो संघर्ष गर्ने ? २१ गते वामलाई बहुमत दिएर पठायो भने जनताको हालत के हुन्छ ? जनतालाई नै देशको मालिक बनाउन ७० वर्षदेखि शहिदको बलिदान गरेर ल्याएको उपलब्धी गुम्यो भने के गर्ने ? त्यस कारण लोकतन्त्रको रक्षाका लागि, जनताको हक अधिकारको सुरक्षाका लागि, देशको आर्थिक समृद्धिका लागि अहिलेको अवस्थामा नेपाली कांग्रेसको विकल्प छैन ।

कांग्रेसको विकल्प छैन भनिरहँदा तपाई यस अघि पनि यही क्षेत्रकाट जित्नु भएको थियो । अहिले पनि उम्मेदवार भएर आइरहनु भएको छ । तपाईँलाई भोट किन दिने ? तपाईँका एजेण्डाहरु के हुन् ?

यो क्षेत्रमा ५१ सालदेखि भिजेको छु । ५१ सालदेखि म यहीको प्रतिनिधित्व गरिरहेको छु । कमी कमजोरी त होलान् । निर्वाचित भइसकेपछि जनप्रतिनिधिले गर्न सक्ने काम मैँले सोचेजति गर्न सकिन होला । तर भूकम्पका बेला मैँले राम्रै काम गरेको छु । राज्यले गर्न नसेकेका काम हामीले गर्न सक्दैनौँ । हाम्रो काम त स्रोत जुटाउने हो । विदेशी लगानी भित्र्याउन सकेको भए हामी खाडीमा पसिना बगाउन जानु पर्दैनथ्यो । यस क्षेत्रमा धेरै समस्या छ । पानीको समस्या बाटोको समस्या एकदमै बढी छ । भन्नेबेलामा काठमाडौँलाई छाएको ललितपुर जिल्ला भन्छौँ । तर अहिले पनि यहाँ गारेटो बाटोहरु छन् ।

१५ सालदेखि ६९ सालसम्म यो लालकिल्लाका रुपमा कहलिएको ठाउँ हो । यो समयमा यहाँ के कती काम भयो थाहा छैन । तर म पहिलो पटक निर्वाचन भइसकेपछि ७० सालदेखि यो तीन वर्षमा कती काम भयो भन्ने कुरा तपाईहरुले मुल्याङ्कन गर्न सक्नुहुन्छ । २९८ वटा बाटो पिच भएका छन् । करोडौँ रुपैया पानीको व्यवस्थापनमा बिनियोजित भएको छ । शिक्षा, स्वास्थ्य, पर्यटन क्षेत्रमा पनि थुप्रै काम भएका छन् । संसद् विकास कोषको पैसा पनि मैँले यही खर्च गरेँ । ग्वार्कोदेखि नमोवुद्धसम्मको बाटो मेरै कालमा बनाउन पहल भएको हो । अब मैँले नेतृत्व पाएँ भने ते पूरा गर्ने मेरो लक्ष्य छ । त्यपछि पर्यटकीय सम्भावना बोकेको ललितपुरलाई पर्यटकीय हबको रुपमा विकास गर्न सकिन्छ । त्यस्तै वैज्ञानिक कृषिको विकास गरेर आर्थिकोपार्जन गर्न सकिन्छ । त्यसैले शिक्षा, स्वास्थ्यदेखि लिएर आर्थिक उन्नतीसम्मका विकासका लागि मैैँले सोच र योजना बनाएको छु । यसका लागि म फेरि पनि निर्वाचित भएर काम गर्न चाहन्छु । त्यस्तै अन्य कामहरु पनि छन् ।  ललितपुरका कतिपय गाउँहरुमा पानी छैन । जबसम्म त्यहाँका जनतालाई पानी खुवाउन सक्दैन तबसम्म विश्राम लिन्न भनेर आएको छु । त्यसका लागि मतदाताहरुको सहयोगको आवश्यकता पर्दछ ।

ललितपर २ नं क्षेत्रलाई नेपाली कांग्रेसको ‘सेभ जोन’ भनेर पनि हेरिन्छ । खासमा प्रतिस्पर्धा कस्तो छ ?
प्रतिस्पर्धालाई कस्तो बनाउने भन्ने शक्ति जनताको हातमा छ । मैँले त भनूँला कि मेरो यती मत आउँछ । तर भोट दिने त जनता हो नि । यसलाई मत दिन्छौँ भनेर मतदाता जसरी विश्वास गरेर बसिराख्नु भएको छ । त्यो २१ गतेपछि थाहा हुन्छ । चुनावमा आउनु सबै जित्नै भनेर आएका हुन्छन् । त्यस कारण प्रतिस्पर्धा कामजोर छैन । ७० सालको कुरा गर्दा अहिलेको प्रतिस्पर्धीले ८ हजार ल्याउनुभएको हो भने अर्को प्रतिस्पर्धी माओवादीले १२ हजार ल्याएकै हो । अहिले वाम गठबन्धन भएर आउनु भएको छ । २० हजारको हाराहारी उहाँको हिसाबमा छ । मैँले त्यही निर्वाचनमा २३ हजार ल्याएको थिएँ । अब हाम्रो पनि गठबन्धन त छ । त्यो हामीले हिसाब गरेका छैनौँ । निर्णय मतदाताको हातमा छ । यदि उहाँहरुले मलाई विश्वास गर्नुहुन्छ भने म उहाँहरुको विश्वास तोड्ने छैन ।

अन्त्यमा तपाईँका आम मतदातालाई के भन्नुहुन्छ ?

मतदातालाई मेरो भन्नु केही छैन । मैँले अघि नै भनिसकेँ कि अहिले दुई धारबीच चुनाव हुँदैछ । यो धार नबुझेर बाटो चुक्यो भने हामी गन्तव्यमा पुग्न सक्दैनौँ । जसको परिणाम देश अझ ५० वर्ष पछाडी धकेलिन्छ । त्यसैले मतदातालाई त्यो बाटो नबिराउनका लागि, लोकतन्त्र जोगाउनका लागि, आफ्नो अधिकार सुनिश्चित गर्नका लागि, संविधानको कार्यान्वयन गरेर देशमा आर्थिक समृद्धि ल्याउनका लागि नेपाली कांग्रेसको रुख चिन्हमा मतदातन गर्नुस् भन्न चाहान्छु ।