काठमाडौं – नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिह महरले एम्बुस बिस्फोटमा घाइते विद्यार्थी नेतृ मिरा कटुवाललाई नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य मनोनित गरेका छन् ।


ADVERTISEMENT


नेविसंघ उदयश्री क्याम्पस उदयपुर इकाई अध्यक्षसमेत रहेकी कटुवाल प्रदेश र प्रतिनिधिसभा चुनाव प्रचारप्रसारका क्रममा गत बुधवार उदयपुरमा एम्बुसमा परी घाइते भएकी थिइन् । उयदपुरमा प्रतिनिधिसभाका लागि नेपाली कांग्रेस उम्मेदवार नारायण कार्कीसहितको टोलीसंगै प्रचाप्रसारमा रहेका बेला अज्ञात समुहको एम्बुस बिस्फोटबाट घाइते कटुवालले एउटा खुट्टाको घुडामुनीको भाग गुमाएकी छिन् ।


ADVERTISEMENT

# # #


शिक्षण अस्पताल काठमाडौंमा उपचाररत कटुवाललाई उच्च सम्मानका साथ केन्द्रीय सदस्यमा मनोनित गरिएको नेविसंघले जनाएको छ । चुनावी प्रचारप्रचारका क्रममा गृह जिल्ला रहेका नेविसंघ अध्यक्ष नैनसिंह महरले मूख्य सचिव दिल्ली हमाल मार्फत् कटुवाललाई अस्पतालमै मनोनित गरिएको पत्र बुझाएका छन् ।

“ज्यानै लिने गरी उम्मेदवारसहितको टोलीमाथि भएको आक्रमण निन्दनीय छ” अध्यक्ष महरले टेलिफोन सम्पर्कमा भने–“यो लोकतन्त्रमाथिकै हमला हो, उम्मेदवारले आफ्ना कुरा जनता माझ राख्न नदिने गरी भइरहेका हिंसात्मक गतिबिधि गर्ने जो कोही लोकतन्त्रको शत्रु हो ।” अध्यक्ष महरले भावुक हुँदै अगाडि थपे–कटुवालजीप्रति सिंगो नेविसंघको गहिरो सहानुभूति छ । विद्यार्थी आन्दोलनमा उहाँले पुर्याउनुभएको योगदानको सम्मानका लागि केन्द्रीय सदस्यमा मनोनित गरेका हौ ।”

शिक्षण अस्पतालमा उपचाररत कटुवालको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको चिकित्सकहरुले जनाएका छन् । घटनापछि घाइतेलाई भेट्न अस्पतालमै पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए ।