बैतडी– जिल्लाका आठ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । १० स्थानीय तह रहेको जिल्लामा पुर्चौंडी नगरपालिका र दोगडाकेदार गाउँपालिकाबाहेक अन्य तहको मतपरिणाम सार्वजनिक भएको हो ।


ADVERTISEMENT


बैतडीमा हालसम्म नेपाली कांग्रेस र नेकपा (एमाले)ले तीन÷तीन, नेकपा (माओवादी केन्द्र)ले एक र स्वतन्त्रले एक तहमा जित हासिल गरेका हुन् । कांग्रेसले पाटन नगर, शिवनाथ गाउँपालिका र सिगास गाउँपालिका प्रमुखमा विजयी प्राप्त गरेको छ । एमालेले दशरथचन्द नगर, पञ्चेश्वर गाउँपालिका र सुर्नया गाउँपालिकामा जित हासिल गरेको हो । त्यस्तै माओवादीका उम्मेदवार मेलौली नगर र स्वतन्त्र डिलाशैनी गाउँपालिकामा विजयी भएका छन् ।


ADVERTISEMENT

# # #


जिल्लाको पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा एमालेका गोरखबहादुर चन्द र उपाध्यक्षमा एमालेकै बीना भट्ट विजयी भएका छन् । यस्तै शिवनाथ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कर्णसिंह साउद र उपाध्यक्षमा एमालेका सकुन्तला साउद विजयी भएका हुन् । मेलौली नगर प्रमुखमा माओवादीका भीमबहादुर चन्द र उपप्रमुखमा कांग्रेसका पार्वती बोहरा विष्ट विजयी भएका छन् ।

यस्तै दशरथचन्द नगर प्रमुखमा एमालेका पुष्करराज जोशी र उपप्रमुखमा कांग्रेसका कौशिला चन्द निर्वाचित भएकी छन् । पाटन नगर प्रमुखमा कांग्रेसका गौरीसिंह रावल र उपप्रमुखमा माओवादीका कमलसिंह बोहरा विजयी भएका हुन् । यस्तै सुर्नया गाउँपालिकाको अध्यक्षमा एमालेका अम्मरबहादुर कुँवर र उपाध्यक्षमा नेपाली कांग्रेसका मञ्जु बोहरा विजयी भएका छन् ।

सिगासको अध्यक्षमा कांग्रेसका हरिसिंह धामी र उपाध्यक्षमा एमालेका धाना धामी विजयी भएका छन्, भने डिलाशैनीको अध्यक्षमा स्वतन्त्रका सन्तोशप्रकाश जोशी र उपाध्यक्षमा कांग्रेसका भगीरथ बोहराले जित हासिल गरेका छन् । रासस