सुनसरी – गढी गाउँपालिकाको प्रमुखका नेकपा एमालेका आश नारायण चौधरी भारी मतले विजयी भएका छन् । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसका महेश दत्तलाई ३५५१ मतले पराजित गर्दै चौधरीले ऐतिहासिक जित दर्ता गरे ।


ADVERTISEMENT


सुनसरी क्षेत्र नं। ३ को गढी गाउँपालिकामा नेकपा एमालेले पहिलोपल्ट नेतृत्व गर्न पाएको हो । आज सम्पन्न मतगणना अनुसार कांग्रेसका महेश दत्तले ५३५० मत ल्याउँदा एमालेका चौधरीले ८९०१ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


चौधरीले फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतको पदबाट राजिनामा नै दिएर स्थानीय तहको निर्वाचनमा लडेका थिए ।

यस्तै पालिकाको उपाध्यक्षमा पनि नेकपा एमालेले नै जित हासिल गरेको छ । एमालेकी उम्मेदवार अनिता साहले कांग्रेसकी राजकुमारी चौधरीलाई पाखा लगाउँदै ऐतिहासिक जित हासिल गरिन् । उपाध्यक्षमा साहले ७८१५ मत प्राप्त गर्दा कांग्रेसकी चौधरीले ५८३८ मत प्राप्त गरेकी छन् ।

गढी गाउँपालिकाको वडा नं १ मा वाहेक एमालेले सबैमा प्यानलै जित दर्ता गराएको छ । यसअघि वडा नं २, ३, ४, ५ र ६ मा एमालेका उम्मेदवारले जित हासिल गरेका छन् ।

गढी गाउँपालिका नेकपा एमालेकी केन्द्रीय सदस्य तथा महिला अधिकारवादी नेतृ भगवती चौधरीको निर्वाचन क्षेत्र अन्तर्गत पर्दछ ।