काठमाण्डौं-चालू आर्थिक वर्षको चार महिनामा वैदेशिक रोजगारीमा हुने ठगीका करिब आठ सय उजुरी परेका छन् । चालू आव २०७४/७५ को साउनदेखि कात्तिकसम्म आफू ठगिएको भन्दै सात सय ९४ जना कामदारले वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन् ।


ADVERTISEMENT


वैदेशिक रोजगारीमा गएका र जाने तयारीमा रहेकाहरू आफू ठगिएको भन्दै उजुरी दिन आउने गरेको विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए । उजुरी दिनेको संख्या अहिले बढ्दो क्रममा छ ।


ADVERTISEMENT

# # #


विभागमा सबैभन्दा बढी व्यक्तिगत ठगीका उजुरी परेका छन् । ‘कुनै पनि इजाजत कम्पनी नभएका व्यक्तिले विदेश पठाइदिन्छु भन्दै आफूलाई ठगी गरेको उजुरी दिने बढी छन्, उनले भने। तर संस्थागत उजुरीमा भने कमी आएको छ । संस्थागत उजुरी भन्नाले म्यानपावर कम्पनीबाट भएको ठगी हो ।

चालू आर्थिक वर्षको चार महिनामा म्यानपावर कम्पनीबाट ठगीमा परेको भन्दै तीन सय ८९ जना कामदारले उजुरी दिएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । पछिल्लो समय व्यक्तिगत ठगीका घटना पनि बढिरहेका छन्। यस्तै व्यक्तिगत ठगीका चार सय पाँच वटा उजुरी दर्ता भएका छन् ।

रोजगारीका लागि दैनिक करिब दुई हजार नेपाली विभिन्न मुलुक जाने गरेका छन् । ऋण खोजेर वा जग्गा जमिन धितो राखेर विदेश पलायन हुने युवा स्वदेशमै दलाल र म्यानपावर व्यवसायीबाट ठगिइरहेका छन् । चालू आवको चार महिनामा मात्रै डेढ लाखभन्दा बढी युवा विदेश गइसकेका छन् ।

विभागमा दर्ता भएका सात सय ९४ उजुरीमध्ये चार सय ७२ को छिनोफानो भएको अधिकारीको भनाइ छ र विभागले चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा ९१ वटा उजुरी अदालतमा दर्ता गरेको छ । विभागका अनुसार म्यानपावर कम्पनीका नाममा आउने संस्थागततर्फको उजुरी अदालतमा गएको छैन ।

व्यक्तिगत उजुरीकर्ताबाट अदालतमा ११ करोड ५५ लाख रुपैयाँबराबरको बिगो दाबी गरिएको छ । विभागले अहिलेसम्म म्यानपावर कम्पनीलाई कामदार पठाउँदा सम्झौता अनुसार सेवा सुविधा उपलब्ध गराउन नसकेको र विभागको नियम उल्लंघन गरेको भन्दै ४२ लाख रुपैयाँ जरिवाना गरिएको छ ।