काठमाण्डौं-प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी देशभर बम विस्फोटका घटना बढ्दै छन् । शीर्ष नेतालक्षित विस्फोट र आक्रमणका घटना भइरहे पनि सरकार लचिलो देखिएको छ ।


ADVERTISEMENT


गृहसचिव मोहनकृष्ण सापकोटाले विस्फोटका घटनामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको संलग्नता रहेको बताए । ‘सो पार्टीले चुनाव बिथोल्ने घोषणा गरेको छ र विस्फोटका घटनामा पनि त्यही दल दोषी छ भन्ने हाम्रो निष्कर्ष छ,’ उनले भने । आफ्नो संलग्नता छैन भनेर विज्ञप्ति ननिकाल्नुले पनि विप्लवको संलग्नता पुष्टि हुने उनले दाबी गरे ।


ADVERTISEMENT

# # #


सचिव सापकोटाले विप्लव नेतृत्वको पार्टीले अन्य समूहलाई पनि परिचालन गरेको दाबी गरे । ‘शुक्रबार धादिङबाट दुई भारतीय नागरिक हतियार र विस्फोटक पदार्थसहित पक्राउ परे, उनीहरूलाई समेत विप्लव समूहले नै प्रयोग गरेको हुन सक्छ,’ उनले भने ।

गृह मन्त्रालयले पहिलो चरणको निर्वाचन सुरक्षाको अनुभवका आधारमा रणनीति परिवर्तन गरेको जनाएको छ । प्रवक्ता नारायणप्रसाद दुवाडीले नयाँ सुरक्षा रणनीति लागू भइसकेकाले निर्वाचनविरुद्धका घटना रोकिने विश्वास व्यक्त गरे ।

निर्वाचनविरोधी गतिविधिमा संलग्न हुनेविरुद्ध आवश्यक पर्दा गोलीसमेत हान्ने अधिकार दिएको र सुरक्षा निकायलाई थप आक्रामक रूपमा प्रस्तुत हुन निर्देशन दिएको गृहसचिव मोहनकृष्ण सापकोटाले बताए । मन्त्रालयले शनिबार पत्रकार सम्मेलन गरी विस्फोटका घटना अब पूर्ण रूपमा नियन्त्रणमा आउने जनाएको हो ।

निर्वाचन आयोगले शृंखलाबद्ध बम विस्फोटको घटनालाई प्रमुख चुनौतीका रूपमा लिएको छ । उदयपुरका प्रतिनिधिसभा उम्मेदवार घाइते, दाङमा म्यादी प्रहरीको मृत्यु, राजधानी काठमाडौंमै शृंखलाबद्ध बम विस्फोटपछि आयोगले अलि बढी नै ‘सुरक्षा थ्रेट’ महसुस गरेको हो । दिनहुँ विस्फोटका घटना बढेपछि आयोगले मतदातालाई सुरक्षित रहेको महसुस गराउने गरी सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालयसँग समन्वय गरिरहेको जनाएको छ ।