कैलाली –  टीकापुरका रैथाने थारुहरु टीकापुर बजारमा एक्लै निस्कने हिम्मतसमेत गर्दैन थिए । कुनै बेला यस्तो पनि थियो । यो  २०७२ सालको सन्दर्भ हो । प्रदेश सीमाङ्कनको विषयले केन्द्रको राजनीति तातिरहँदा सुदूरको कैलाली सबैभन्दा प्रभावित क्षेत्र बन्यो।


ADVERTISEMENT


साउनको आखिरी साता अखण्ड पक्षधर र थारुबिचको द्वन्द्वसँगै अञ्चल प्रहरी प्रमुख लक्ष्मण न्यौपाने र एक काखे बालकसहित ८ जना मारिए । त्यही प्रकरणले गाउँमा रहेका युवा कि पक्राउ, कि त फरार हुन थाले । त्यसैको प्रतिफल थियो,  बजारमा एक्लै हिँड्डुल गर्ने हिम्मत समेत गुमाउनुपर्ने स्थिति आयो। थारुहरुमाथिको सरकारी दमन यतिसम्म रह्यो कि सुरक्षा निकायकै घेराभित्र थारुहरुका घर तोडफोड र आगजनी भए।


ADVERTISEMENT

# # #


सुरक्षा निकायमाथि नै आक्रमण भएर ज्यान गएपछि थारु आन्दोलनलाईलाई लिएरु प्रहरी आक्रोशित बन्न पुग्यो। त्यही घटनाको मुख्य योजनाकार रेशम चौधरी ठहरिए । उनी अहिले जेल जीवन बिताइरहेका छन्।

अदालतले दोषी ठहर्‍याए पनि यस क्षेत्रमा रेशम चौधरीको छवि ‘नायक’कै रुपमा स्थापित भइरह्यो ।  त्यसलाई यसपालाको स्थानीय निकायको निर्वाचनले जनमत मार्फत् ‘लालमोहर’ लगाइएको छ ।  भूमिगत रहेरै तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट प्रतिनिधिसभा निर्वाचनमा सहभागी भए र जित समेत निकालेका थिए रेशमले। स्थानीय तहको निर्वाचनले उनको प्रभाव कैलालीको टीकापुर र आसपासका क्षेत्रमा उत्तिकै छ भन्ने पुष्टि गरिदिएको छ। र, स्थानीय तहमा जिल्लाकै ठूलो दलका रुपमा स्थापित भएको छ।

उनले जेलबाटै परिकल्पना गरेको ‘नागरिक उन्मुक्ति पार्टी’ले कैलालीमा पहिलो स्थान ल्याउन सफल भएको हो। गत पुसमा श्रीमती रन्जिता श्रेष्ठको संयोजकत्वमा उनले नागरिक उन्मुक्ति पार्टी गठन गरी निर्वाचन आयोगमा दर्ता गराएका थिए।

उक्त पार्टीले कैलालीको टीकापुर र भजनी नगरपालिका तथा जानकी र जोशीपुर गाउँपालिकामा जित निकालेको छ। यससँगै १३ स्थानीय तहमा एक्लै ४ स्थानीय तह जितेर चौधरीको पार्टी पहिलो बनेको हो।

चार स्थानीय तहको प्रमुख र तीन उप प्रमुखमा जित निकालेर नागरिक उन्मुक्ति पार्टी पहिलो दल बनेको हो कैलालीमा। जोशीपुर र जानकी गाउँपालिकाको अध्यक्षरउपाध्यक्ष, टीकापुर नगरपालिकाको प्रमुख र भजनी नगरपालिकाको प्रमुखरउपप्रमुखमा विजयी भएर पहिलो दल बन्न सफल भएको हो।

२०७४ को निर्वाचनमा टीकापुर नगरप्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस, जोशीपुर गाउँपालिकाको अध्यक्षरउपाध्यक्षमा कांग्रेस, भजनी नगरपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्र विजयी भएका थिए।

जानकी गाउँपालिकाको अध्यक्षमा गणेश चौधरीले ७ हजार १ सय ५१ मत पाएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका परशुराम महतोले ५ हजार २ सय ४२ मत पाउँदा एमालेका टङ्कबहादुर बमले ४ हजार २ सय ४१ मत ल्याए। त्यसैगरी, उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै लालमती देवी कठरिया ६ हजार ५ सय २६ मतसहित निर्वाचित भइन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी गीता चौधरीले ४ हजार ५ मत ल्याउँदा गठबन्धनबाट माओवादीका जयप्रकाश दहितले ४ हजार ५४८ मत प्राप्त गरे। राजनीतिमा आउनुअघि गणेश चौधरी पत्रकारिता क्षेत्रमा सक्रिय थिए। कान्तिपुर दैनिकसँग जोडिएर लामो समय पत्रकारिता गरेका उनी २०७२ सालपछि भने अभियन्ताका रुपमा अघि बढेका थिए।

भजनी नगरपालिकामा निवर्तमान नगरप्रमुख तथा गठबन्धनको भाग पाएका माओवादी केन्द्रका उम्मेदवार शेरबहादुर चौधरीलाई तीन हजारभन्दा बढी मतान्तरले पराजित गर्दै नागरिक उन्मुक्तिका उम्मेदवार केवल चौधरी विजयी भएका छन् । यसैगरी उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गोकेन्द्र भण्डारीलाई दुई हजार ४ सय मतले पछि पार्दै नागरिक उन्मुक्तिकै राजु तिरुवा विजयी भएका छन् । प्रमुख, उपप्रमुख जितेको नागरिक उन्मुक्तिले ३ वडाध्यक्ष, माओवादी केन्द्रले ३ वडाध्यक्ष, नेकपा एमालेले २ वडाध्यक्ष र नेपाली कांग्रेसले १ वडाध्यक्ष जितेका छन्।

यस्तै, कांग्रेसको पकड क्षेत्रका रूपमा रहँदै आएको कैलालीको जोशीपुर गाउँपालिकाको अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका चित्रबहादुर चौधरी विजयी भएका छन्। ४ हजार ९ सय ३ मत प्राप्त गरी चौधरी विजयी भएका हुन्। नेपाली कांग्रेसका बंसराम बडायक थारुले ३ हजार ३ सय ६८ मत प्राप्त गरे। गाउँपालिकाको उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै रेखादेवी कठरिया विजयी भएकी छन्। उनले ४ हजार ५ सय ८९ मत प्राप्त गरेकी छन्।

उता, धनगढीपछि कैलालीको अर्को ठूलो व्यापारिक नगरीका रूपमा परिचित टीकापुर नगरपालिकाको मेयरमा पनि नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रामलाल डगौरा थारु विजयी भएका छन्। गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नवराज रावललाई पराजित गर्दै डगौरा विजयी भएका हुन्। डगौरा ९ हजार ६ सय ४२ मत पाउँदै विजयी भएका हुन् भने रावलले ६ हजार ६४२ मत पाए । यस्तै, उपप्रमुखमा भने गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका खडकबहादुर शाह विजयी भएका छन्।

नागरिक उन्मुक्तिका यी ४ स्थानीय तहबाहेक कैलालीको गोदावरी, कैलारी र लम्कीमा काङ्ग्रेस, गौरीगंगा र मोहन्यालमा माओवादी केन्द्र, चुरे र बर्दगोरियामा एमाले तथा घोडाघोडीमा एकीकृत समाजवादी विजयी भएको छ। धनगढीमा भने स्वतन्त्र उम्मेदवार गोपाल हमाल जित नजिक छन्।

२०७४ को निर्वाचनमा जिल्लामा एमालेले सात पालिका, कांग्रेसले तीन, माओवादी केन्द्रले दुई र तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले एक पालिका प्रमुख जितेको थियो।