बुटवल – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा जजिरा एयरलाइन्सको जहाजसँग चरा ठोक्किएको छ । चरा ठोक्किएपछि सावधानी अपनाउँदै राति नै फिर्ता जानु पर्ने जजिराले अहिलेसम्म उडान गरेको छैन । जजिरा एयरलाइन्सको जहाज अहिलेसम्म विमानस्थलमै रहेको छ ।


ADVERTISEMENT


विमानस्थलका प्रवक्ता श्याम किशोर साहका अनुसार हवाई जहाजको बाहिरी भागमा रगत देखिएको छ । तर रनवेमा कतै चरा देखिन्न ।


ADVERTISEMENT

# # #


‘पाइलटहरूले अवतरणको क्रममा चरासँग ठोक्किएको आशंका गरेका छन् । तर रनवेमा देखिनु पर्ने चरा देखिएन, साहले भने, ‘चरा कतै इन्जिनमा त गएन भनेर जहाज होल्ड भएको छ ।’

१ सय २१ जना यात्रु बोकेर आएको जजिरा एयरलाइन्सको जहाज राति पौने २ बजे चरासँग ठोक्किए पनि सबै सकुशल रहेका छन् । काठमाडौँबाट प्राविधिक आएर इन्जिनको चेकजाँच गरेपछि मात्र जजिराले यहाँबाट उडान भर्न सक्ने साहले बताए ।

जेठ २ गतेदेखि गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गरिरहेको जजिरा एयरलाइन्सले साताको ३ उडान गरिरहेको छ । सोमबार, बुधबार र शुक्रबार उडान गरिरहेको जजिराले निकट भविष्यमा दैनिक उडानको तयारी समेत गरेको छ ।