दाङ – दाङमा माटोको इँटालाई सुन भनेर बिक्री गर्न खोज्ने पाँच जना पक्राउ परेका छन् । तुलसीपुरको एकान्त होटेलमा दुई वटा इँटालाई सुन भनेर सर्वसाधारणलाई बिक्री गर्न खोज्ने दाङ, सल्यान र दार्चुलाका पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT


पक्राउ पर्नेमा दाङको राजपुर गाउँपालिका ६ खांग्रा नाकाका २६ वर्षीय राजकुमार बुढा, सोही ठाउँकै २४ वर्षीय प्रकाश खड्का, सल्यानको शारदा नगरपालिका वडा नम्बर १ का ४९ वर्षीया सावित्रा बुढाथोकी, कुमाख गाउँपालिका १ का ३० वर्षीया गीता बुढा र दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर २ का २३ वर्षीय सुरेन्द्र सिंह धामी रहेका छन् ।


ADVERTISEMENT

# # #


पक्राउ परेकाको साथबाट दुई थान इँटाको टुक्रा, हरियो रंगको जेब्रा झोला १ थान र सुनजस्तो देखिने पहेँलो धातुको टुक्रा एक थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

पक्राउ परेका उनीहरुले सुनजस्तो देखिने धातु स्याम्पलको रुपमा देखाएर सर्वसाधारण नागरिकलाई झुक्याई झोलामा राखेको इट्टा बिक्री गर्न खोजेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइरहेको छ ।