कपिलवस्तु– कपिलवस्तुमा तत्कालीन माओवादी सेनाका डेपुटी कमाण्डर रहेका चक्रपाणि खनाल र पूर्व राजदूत दीप कुमार उपाध्यायबीच तीव्र प्रतिष्पर्धा हुने देखिएको छ । उपाध्याय भारतका लागि नेपालका राजदूत पदबाट राजीनामा दिएर चुनाव लड्न जिल्ला आएका हुन् । खनाल तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालका राजनीतिक सल्लाहकार रहेका थिए ।


ADVERTISEMENT


फरक फरक पृष्ठभूमिका दुबै विसं २०७० को संविधानसभाको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार बलराम अधिकारीसँग पराजित भएका थिए । निर्वाचनका विषयमा जोड घटाउ भइरहँदा उनीहरुको उम्मेदवारीले नै यहाँको चुनावी माहोल तताएको छ ।


ADVERTISEMENT

# # #


विकास निर्माणकै मुद्दालाई प्रमुख चुनावी एजेण्डा बनाएका उनीहरुले बाटोघाटो, पुलपुलेसा, खानेपानी, पर्यटन, शिक्षा र स्वास्थ्यलाई नै दोहोर्याएका छन् । उम्मेदवार उठाएका अधिकांश राजनीतिक दलले उठाएका विषयसँग मिल्दोजुल्दो माग यहाँका मतदाताको पनि छ । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाका अल्ताफ अहमद खानले आफ्नो क्षेत्रमा बाटोे, खानेपानी र शिक्षाको समस्या समाधान भए जीवनस्तर माथि उठ्ने बताउछन् ।

उनले भने, “विद्यालय नभएका कारण अहिले पनि हाम्रा बच्चा मदरसा शिक्षाको भरमा छन् ।” प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेश ९क० का एमालेका उम्मेदवार विष्णु पन्थीले कृषिको आधुनिकीकरण र पर्यटन प्रर्वद्धन गरेर समृद्ध कपिलवस्तु बनाउन सकिने तर्क गर्दै सडकको स्तरोन्नति र कालोपत्र गर्ने काम प्रमुख एजेन्डा भएको बताए ।

कतिपय स्थानमा पुलपुलेसाको निर्माण आवश्यक भएको ठान्नुहुने उनी जनताको जीवनस्तर उकास्न उद्योग खोल्न प्रोत्साहन दिई रोजगारी सिर्जना गरिने बताउछन् ।

प्रतिनिधिसभा क्षेत्र नं १ का सङघीय समाजवादी फोरम नेपालका उम्मेदवार अब्दुल रसिद खाँ अहिले पनि अस्पताल नभएका कारण दुर्गम क्षेत्रमा महिलाले बच्चा जन्माउन नसकेर मृत्यु हुने अवस्था विद्यमान रहेको र कतिपय स्थथानमा दश जोड दुईका क्याम्पस पनि नभएको तितो यथार्थ सुनाउछन् ।

प्रतिनिधिसभा क्षेत्र नं १ का काँग्रेसका उम्मेदवार दीप कुमार उपाध्यायले पूर्वाधार विकास, सिँचाइ र आर्थिक तथा सामाजिक रुपान्तरण यहाँको चुनावी मुद्दा भएको बताए । जिल्लाको दक्षिण भेगमा अहिले पनि चेतनाको कमी रहेकाले आर्थिक तथा सामाजिक रुपान्तरण चुनौतीको विषय भएको उनी स्वीकार्छन् ।

राप्ती नदीको पानी लिफ्टिङ गरेर सिँचाई गर्ने परियोजनामार्फत जिल्लाको धेरै हेक्टर क्षेत्रफलमा सिंचाई गर्न सकिने उनी बताउछन् । ६ वटा नगरपालिका र चार गाउँपालिका रहेको कपिलवस्तुमा कूल तीन लाख ११ हजार ७६० मतदाता रहेका छन् । तीमध्ये पुरुष १ लाख ६९ हजार ४६४ र महिला १ लाख ४२ हजार २९४ छन् भने तेस्रो लिङ्गी २ जना रहेका छन् । यहाँ २५ हजार २१२ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय, कपिलवस्तुले जनाएको छ । यसअघि भएको संविधानसभाको निर्वाचनमा मतदाताको सङख्या २ लाख ३८ हजार ८५७ मात्रै थियो ।

तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लामा कूल मतदान केन्द्र ४१० र मतदानस्थल २३३ तोकिएको छ । प्रतिनिधिसभा क्षेत्र नं १ मा एक लाख १६ हजार ९३७, प्रतिनिधिसभा क्षेत्र नं २ मा एक लाख २ हजार ४२० र प्रतिनिधिसभा क्षेत्र नं ३ मा सबैभन्दा थोरै ९२ हजार ४०३ मतदाता रहेका छन् । तीन निर्वाचन क्षेत्रमा गरी कूल ९६ वडा छन् । युवराज पाण्डे/रासस