रेवती प्रसाद दाहाल : एमाले वडा कमिटी अध्यक्ष, महालक्ष्मी नगरपालिका वडा नम्बर-१, ललितपुर


ADVERTISEMENT


तपाईंले वडामा पार्टीलाई जिताउनुभयो, वडामा राम्रो काम भएको प्रत्याभूति दिलाउन कसरी काम गर्नुहुन्छ ? के मद्दत गर्नुहुन्छ ?


ADVERTISEMENT

# # #


निर्वाचित जनप्रतिनीधि, वडा कमिटी, टोलबासी बुद्धिजीवी, ज्येष्ठ नागरिकहरु, अन्य कुनै पनि पार्टीका सदस्यता नलिएका व्यक्तिहरु सबैबाट वडाको भलाइका लागि जनप्रतिनिधिको सहयोगका लागि हामीले सक्दो सहयोग गर्नेछौं ।

वडाबासी सबैको सल्लाह बमोजिम नै हामीले काम गर्नुपर्छ । जनप्रतिनिधि मात्र आफूखुशी अघि बढेको खण्डमा त्यति राम्रो काम नहुन पनि सक्छ र तसर्थ सल्लाह सुझाव लिएर काम गर्नुपर्छ ।

समाजको भलाइ कसरी हुन्छ र कुन काम पहिलो प्राथमिकता हो, त्यो विचार गरेर काम गर्न जनप्रतिनिधिलाई सल्लाह दिइरहेको छु ।  मेरो व्यक्तिगत र कमिटीको तर्फबाट उहाँहरुलाई सहयोग गर्दै हामी अगाडि बढ्छौं ।

वडामा  गर्नुपर्ने कामचाँहि के देख्नुभएको छ यहाँले ?

अरु काम भन्दा पनि खानेपानीको समस्या यहाँको ठूलो समस्या हो । खानेपनीको स्रोत नभएको हुनाले यहाँको मुल समस्याको रुपमा यसलाई लिनुपर्छ । बजेट मात्रै धेरै भयो  भनेपनि स्रोतको कमीका कारण खानेपानीको समस्या समाधान गर्न हामीलाई अप्ठेरो छ ।

मेलम्चीको पानीको लागि हामीले एकखालको सम्झौता पनि गरेका छौं । सेकेण्ड फेजमा मेलम्चीको पानी आउने भएपनि हामीले पहिले कसरी राहत दिने भन्ने बारेमा सोच्नुपर्ने हुन्छ । कपडा धुने, भाँडा माझ्ने जस्ता कामका लागि डिप बोरिङको पानी प्रयोग गर्ने र खानको लागि थोरै पानी भए पनि पुग्ने भएकाले खानेपनीको समस्या हल गर्ने विकल्प खोज्नैपर्छ ।  हामी छिटो समस्या समाधानका लागि लागिरहेका छाैं । विकल्पहरुका बारे छलफल पनि गरिरहेका छाैं ।

बाटोको समस्याबारे यहाँको धारणा के छ ?

बाटोको समस्याचाँहि पहिले योजना नबनेका कारण जथाभावी घरहरु बने । साँघुरा बाटाहरु त्यसकै उपज हुन् ।  तत्कालीन गाविसको संरचना हुँदा योजनाबद्ध विकासको अवधारणा नभएकोले यस्तो बेथिती भएको हो । उतिबेला मानिसहरुमा चेतनाको पनि कमी थियो । तर, जग्गाचाँहि सस्तो थियो ।  जग्गा सस्तो भएको बेला योजना बनेन । जग्गाको मूल्य बढिसकेपछि योजना र चेतना पनि बढ्यो ।

ठूलो र फराकिलो बाटो कसरी बनाउने सोच्नुभएको छ ?

बाटोको छेउमा भएका कम्पाउन्डसम्म त भत्काउन सकिएला घर नै भत्काउन त सकिँदैन । घरको मूल्य यसै पनि धेरै हुन आउँछ । बसोबास गरिरहेको वडाबासीको घर भत्काएर उजाड बनाउन हुँदैन । घरबापतको रकम दिनसक्ने बजेट वडासँग भएको खण्डमा कुरा अर्कै हुने थियो ।

तसर्थ ठूलो र फराकिलो बाटो बनाउने  काममा  बाधा र व्यवधानहरु प्रशस्त आउँछन् । समस्याको हल गर्न छलफल र सम्झौताहरुमा  ध्यान दिन जरुरी छ । घनावस्ती भएका कारण बाटोको लागि दायाँबायाँ कताबाट जग्गा काट्न मिल्छ त्यतातर्फ सोचेर काम गर्नुपर्ने हुन्छ । यसरी बाटो फराकिलो बनाउन सकिएमा फाइदा  पुग्छ । विकासका कामहरु गर्दा सबै कुराहरुलाई सोचेर गर्नु राम्रो हुन्छ । यस्ता कामहरुमा विवाद पनि सिर्जना हुने भएकाले सबैलाई मिलाएर लैजानु राम्रो हुन्छ ।

कतिपय मान्छेहरुमाचाँहि अझै पनि ठूलो र फराकिलो बाटो चाहिन्छ भन्ने चेतना आइसकेको छैन । चेतना भए पनि कतिपय मानिसहरु विकासको विरोध गरिरहेका हुन्छन् । समस्याहरु भए तापनि सबैलाई समेटेर काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो । आफूखुशी मनोमानी गर्न हुँदैन ।  छलफल गरेर सल्लाह गरेर हामी अघि बढ्नु राम्रो हुन्छ ।

तपाईं वडाको भलाइका लागि जनप्रतिनिधि र जनतालाई सहयोग गर्न तयार हुनुहुन्छ होइन त ?

म र मेरो कमिटी सबैको भलाइका लागि तयार नै छ । वडामा  फोहोर मैला समाधान गर्नुपर्ने काम बाँकी नै छ । वडाका काममा हाम्रा तर्फबाट गर्नुपर्ने सहयोग गर्न म तयार नै छु । वडाले नसकेको काम गर्न नगरपालिका पनि छ । यसको सहयोगको अपेक्षा गर्न सकिन्छ । प्रदेश सरकार पनि छ । संघीय सरकार पनि विकासका काममा सहयोगी हुनेछ । सबैले समाजको भलाइका कुरा सोच्नुपर्छ । समाजको भलाइ हुने काममा वडाबासीले पनि सहयोग गर्नुहुनेछ ।

तपाईंको पार्टीले वडा जितेको कारण सबै पार्टीहरुलाई पनि मिलाएर लैजान कस्तो भूमिका खेल्नुहुन्छ ?

जनप्रतिनिधि भइसकेपछि उहाँ सबै पार्टीका व्यक्तिहरु र जनताको जनप्रतिनिधि हुनुहुन्छ । जनप्रतिनिधिले सबै पार्टीका व्यक्तिहरुलाई उस्तै व्यवहार गर्नुपर्छ । यसमा मैले पनि आफ्नो स्थानबाट समन्वयकारी भूमिका निभाउनुपर्छ भन्ने मलाई लाग्छ । सबै मिलेर अघि बढेर नै वडाको भलाइ हुने हो । म सबैलाई समेटेर जाने कुरामा सकारात्मक छु । समाज हामी सबैको साझा चौतारी भएकाले मनमुटाव, इर्ष्या, द्वैष राखेर हुँदैन । म सबैसँग भाइचाराको सम्बन्ध राखेर अघि बढ्नुपर्छ भन्ने मान्याता राख्छु ।