– धिरज प्रताप सिंह : प्रहरी महानिरीक्षक


ADVERTISEMENT


सरकारले प्रहरी प्रशासनलाई सुरक्षा जिम्मेवारी दिएर निर्वाचन एक चरणमा सम्पन्न गर्ने गरी जिम्मेवारी दिएको थियो । त्यसलाई हामीले सम्पन्न गरेर देखायौं । २०५१ सालपछि भएका चुनावहरु अहिलेसम्म कुनै पनि एक चरणमा सम्पन्न गर्न सकिएको थिएन ।


ADVERTISEMENT

# # #


२०५१ सालको चुनाव स्वर्गीय गिरिजा प्रसाद कोइराला नेतृत्व सरकारले गराएको थियो। त्यसपछिका कुनै पनि चुनाव एक चरणमा सम्पन्न भएनन् । त्यसैले नेपाल प्रहरीले अहिलेको चुनावमा ऐतिहासिक काम गरेको छ । २०५१ सालपछि जनयुद्ध र विविध सुरक्षा चुनौतीका कारण चुनावहरु एकचरणमा हुन सकेका थिएनन् । यसपटक पनि सुरक्षा चुनौती थिए ।

यद्यपि यसअघिका चुनावमा भाग नलिएर सुरक्षा चुनौती थपिदिने पार्टीहरुले पनि यसपालि मुलधारमा सहभागी भएर चुनावमा भाग लिए । त्यो राम्रो कुरा हो । यो लोकतन्त्रको सुन्दर पक्ष हो । सबैको सक्रिय साहभागिताका कारण भयरहित र शान्तिपूर्ण तरिकाले चुनाव सम्पन्न भएको छ । अझ यसमा प्रहरीको भूमिका धेरै सक्रिय रहेको मैँले पाएको छु ।

यसपटकको चुनावमा मधेश प्रदेशमा पनि धेरै प्रहरी पोष्टहरु थपिएको कारण समस्याहरु आएनन् । धेरै राजनैतिक दलहरु चुनावमा भाग लिनु एकदमै सकारात्मक पक्ष हो । यसले हामीलाई पनि काम गर्न सजिलो भयो । प्रतिनिधि  निर्वाचित नहुने अवस्थाका दलहरुले पनि सौहार्दतापूर्वक निर्वाचनमा भाग लिएकाले चुनावमा धेरै सुरक्षा चुनौती र डरलाग्दो अवस्था थिएन । तथापि केही छिटपुट घटनाहरु भने भए । हामीले सोचेभन्दा कम घटना भएर निर्वाचन सम्पन्न भएको छ । केही घटनाहरु तराईका क्षेत्रमा र केही घटना पहाडी क्षेत्रमा भए ।

विवाद भएका र सुरक्षा चुनौती देखिएका स्थानमा पनि निर्वाचन सम्पन्न भइसकेको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, म्यादी प्रहरी र अनुसन्धान ब्यूरो सबैले निर्वाचन भयरहित बनाउन भूमिका खेल्नुभयो । उहाँहरु सबैलाई धन्यवाद दिन चाहान्छु । ७५३ वटै स्थानीय तहको नतिजा पनि आइसकेको छ ।

निर्वाचन भयरहित एवम् शान्तिपूर्ण तवरले सम्पन्न गरेकोमा प्रधानमन्त्री र गृहमन्त्रीले हामीलाई धन्यवाद पनि दिनुभएको छ । मानव अधिकार आयोगले पनि एक दुई घटनाबाहेक निर्वाचन भयरहित शान्तिपूर्ण भएको रिपोर्ट प्रस्तुत गरेको छ । आयोगको रिपोर्टमा आफ्नो मताधिकार सही तरिकाले जनताले गर्न पाएको उल्लेख भएको छ । यो सुखद् पक्ष हो ।

म संगठनको नेतृत्वमा आइसकेपछि संगठनकै प्राथमिकता फेरिएला भनेर पनि कतिपयले सोच्नुभएको होला । संगठनको प्राथमिकता व्यक्ति फेरिँदैमा फेरिँदैन । संगठनका प्राथमिकता पहिले नै निर्धारण भइसकेको हुन्छ । व्यक्ति परिवर्तन हुँदैमा कुनै पनि संगठनले प्राथमिकता परिवर्तन गरेर जाँदैन पनि ।  अघिल्ला हाम्रा निर्णयहरु हेर्नुभयो भने पनि यस्तो देख्नुहुन्छ । भाषा परिवर्तन होला काम गर्ने तरिका फरक पर्ला तर काम एउटै हो । प्राथमिकता पनि उही नै हुने हो ।

अनुसन्धान गर्ने, अपराध कम गर्ने, अपराध भएमा वस्तुनिष्ट छानबिन गर्ने, प्रहरीको मनोबल बढाउने, सुरक्षाका विषयमा केन्द्रित हुने, जनधनको रक्षा गर्ने, विवादहरुको औचित्यपूर्ण ढंगले समायोजन र हल निकाल्ने, मानव अधिकारको सम्मान गर्ने, यिनै प्राथमिकतामा आधारित रहेर काम गर्ने हो । पहिलेका प्रहरी प्रमुखहरुका प्राथमिकता पनि यिनै हुन् र मेरो पनि यही नै हो ।

केही समय मिडियामा छाउन कसैले प्रमुख भएर आएपछि प्राथमिकता फेरिएको हल्ला गरेछन् भने फरक कुरा हो नभए सबैको प्राथमिकता यही नै हुन् । अरु देशमा पनि व्यक्ति फेरिएकाले प्राथमिकता फेरिने हुँदैन । प्राथमिकता यही भए पनि यसलाई प्रभावकारी ढंगले काम गर्नुचाँहि विशेष कुरा हो । अहिले कमी केही छ भने प्राथमिकतालाई प्रभावकारी ढंगले सम्पादन गर्नुमात्र छ । म प्राथमिकतालाई सही ढंगले कार्यसम्पादनमा लाग्नेछु ।

जघन्य अपराधका विषयमा हामी निष्पक्ष भएर काम गर्नेछौं । यसैगरी निर्मला पन्तको हत्याकाण्डका विषयमा अनुसन्धानको काम पनि मेरो प्राथमितामा रहनेछ । यसको अनुसन्धानलाई लिएर विभिन्न टिका टिप्पणी पनि हुने गरेको छ । यो काम सम्पन्न गर्ने दायित्व हामीले पाएका छौं र काम पनि भइरहेको छ ।

प्रहरीले राम्ररी काम गर्न सकेन भनेर कतिपय स्थानमा प्रश्न पनि उठेका छन् । यसको लागि प्रभावकारी ढंगले काम गर्न नसकेका प्रहरी अधिकृतलाई कारबाहीको दायरामा ल्याउने काम पनि भएको छ । हालै सम्पन्न निर्वाचनमा पनि हामीले कारबाहीको दायरामा ल्याउने काम गरेका छौं ।

 प्राथमिकताहरू:
– अपराध नियन्त्रण गर्ने,
– वस्तुनिष्ठ अनुसन्धान गर्ने,
– शान्ति सुव्यवस्था कायम राख्ने,
– प्रहरीको मनोबल उच्च राख्ने,
– प्रहरीको औचित्यपूर्ण समायोजन गर्ने,
– मानव अधिकारलाई सम्मान गर्दै अझ आक्रामक तरिकाले प्रहरी सेवा जनताको घर घरमा पुर्याउने ।
– निर्मला पन्त लगायत जघन्य अपराधका अनुसन्धान ।

प्रहरी अधिकृतको बढुवाको कुरा उसको करियर र व्यक्तित्वसँग जोडिएको कुरा हो । यो गैरराजनीतिक हुनुपर्छ भन्ने मलाई लाग्छ । यसलाई हामीले ‘व्याच सिस्टम’ लागू गर्नुपर्छ । ‘व्याच सिस्टम’मा जो उत्कृष्ट हुन्छ उसैलाई प्राथमिकतामा राख्नुपर्छ । कसैलाई टिपेर ल्याउने कुरा गलत हो । ‘व्याच सिस्टम’मा यसो गरिँदैन । कार्य सम्पादन मूल्यांकनका आधारमा बढुवा हुनुपर्छ । कार्य सम्पादन मूल्यांकन पहिलेदेखि नै गरिइराखिएको पनि हुन्छ । व्याचका आधारमा प्रतिस्पर्धा गराउने र त्यसमा उत्कृष्ट काम गर्ने व्यक्तिलाई नै वरीयतामा राख्नुपर्छ ।

युएनमा प्रहरी जवानलाई पठाउने कुरा पनि मेरो कार्यकालको प्राथमिकतामा पर्नेछ । यद्यपि अहिले एफपीओ त त्यहाँ जाने अवस्था लगभग बन्द भइसकेको अवस्था छ । एक वर्षदेखि यो बन्द भएको अवस्था छ । यसका लागि विभिन्न चरणमा काम भइरहेको छ । हामीले यसका लागि भनेर एउटा समिति पनि गठन गरेका छौं । संयुक्त राष्ट्रसंघमा गएर काम गर्नु भनेको प्रहरी जवान हवल्दार लगायतको मनोबल बढाउने काम हो । उनीहरुले नयाँ कुराहरु सिक्ने अवसर पाउनु पनि हो । यसका लागि हामीले विभिन्न स्थानमा कुरा गरिराखेका छौं । यो कामका लागि हामी सकारात्मक भएर अघि बढिरहेको अवस्था छ ।

(जेष्ठ १९ गते आयोजित पत्रकार सम्मेलनमा महानिरीक्षक सिंहले राखेको धारणामा आधारित ।)