काठमाडौँ – प्रणालीलाई पछ्याउने र कानुनको पालनामा सजग भएपछि बेरुजुको मात्रा घट्ने काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार आन्तरिक लेखा परीक्षण तथा बेरुजु समपरीक्षण एकाईले वडा सचिव, लेखापाल र इञ्जिनियरहरुसँग गरेको अन्तरक्रियाका क्रममा उनले वित्तीय अनुशासनको पालना गरेर बेरुजु हुन नदिने वातावरण बनाउनुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


‘सानातिना कुरामा ख्याल नपुग्दा तथा यस्ता कुरालाई ध्यान नदिँदा कहिलेकाहीँ असल नियतले गरेका कामका विषयमा प्रश्न आउन सक्छन् ।’ प्रमुख शाहले भने, ‘वित्तिय अनुशासनको पालना गरेर बेरुजु हुन नदिने वातावरण सिर्जना गर्नुपर्छ ।’

यस्तै अन्तरक्रियामा उपप्रमुख सुनिता डंगोलले, हतारमा काम नगर्न सुझाव दिइन् । ‘भोलि वेरुजु देखिने गरी काम गर्नुहुँदैन । अहिले सम्पन्न गरेका काम सम्बन्धी भोलि फाइल पल्टाएर सुरुदेखि हेर्नु नपरोस् ।’ उपप्रमुख डंगोलको भनाइ थियो ।

अन्तरक्रियामा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले, हिजोका वेरुजुलाई न्युनीकरण गर्ने र आगामी दिनमा वेरुजु हुन नदिनेतर्फ आफूले काम गरिरहेको उल्लेख गरे । ‘हामी यो आर्थिक बर्षको अन्त्यसम्ममा पेश्की शुन्य अभियानमा छौँ ।’ उनले भने, ‘लेखा परीक्षण प्रतिवेदनमा देखाइएका नियमित गर्न मिल्ने बेरुजुलाई नियमित गर्छौैँ । त्यस्तै समपरीक्षण र असुलउपर विधिबाट बेरुजु घटाउँछौँ ।’

अन्तरक्रियामा प्रशासन विभागका प्रमुख महेश काफ्ले, वित्त विभागका प्रमुख बुद्धरत्न मानन्धर, सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापा र राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले आफूमातहत वडाबाट भएका काम र वेरुजु तथा फर्स्योटका लागि अबलम्बन गरिनु पर्ने प्रक्रियाका विषयमा प्रस्तुतिकरण गरेका थिए ।

यस्तै वडासचिवहरु यम बसेल, शुशिल सुवेदी, रमेश घिमिरे, सुवोध खड्का, कमल गौत्तम, सुरेश साहु, जयदेव घिमिरे, श्याम पाण्डे, शिवराज सोती, देवी वस्ती, टंक बराल, मञ्जु आचार्य, चन्द्रगोपाल प्रधान, सुनिल राजभण्डारीसहित सहभागीले वडाबाट हुने प्राविधिक र प्रशासनिक कामको अन्तरसम्बन्ध मिलाउनु पर्नेमा जोड दिए ।

वडा सचिवलाई प्रत्यायोजन हुने अधिकार, योजनाको स्वीकृत गर्ने दायरालगायत व्यवहारिक कुराहरुमा उनीहरुले धारणा राखेका थिए । वडाबाट गरिने पूर्वाधारमा लगत इष्टिमेट, मुल्याङ्कन र भुक्तानी प्रक्रियाको सम्बन्धमा उनीहरुको जोड थियो । उनीहरुले घटना दर्ता समयमा हुन नसक्दा सामाजिक सुरक्षाका कार्यक्रममा वेरुजु देखिएको औँल्याएका थिए ।

महानगरले वडामा पूर्वाधार विकास र प्रशासनिक खर्च निकासा दिने गरेको छ । यसरी निकासा गरिएको रकम खर्च गर्दा देखिएका वेरुजु व्यवस्थापनका लागि वडाका कर्मचारीहरुसँग अन्तरक्रिया गरिएको हो ।

लेखा परीक्षण तथा समपरीक्षण एकाई प्रमुख गोपालप्रसाद पोरखेल भन्छन्, हामीले वेरुजु फर्स्योटको २९ प्रतिशत लक्ष्य हासिल गरिसकेका छौँ । प्रक्रियामा रहेको प्रगति ४५ प्रतिशत पुग्न लागेको छ । यो बर्षको अन्त्यसम्ममा ५० प्रतिशत पुर्‍याउने प्रयासमा छौँ ।

अन्तरक्रियामा वडासँग सम्बन्धित पूर्वाधार, राजस्व, वित्त र प्रशासन क्षेत्रमा छलफल गरिएको थियो ।