काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेले मुलुकलाई भूराजनीतिक द्वन्द्वतिर धकेल्ने काम सरकारले गरेको भन्दै आवश्यकताअनुसार आलोचना, विरोध र भण्डाफोर गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


सोमबार ललितपुरमा बसेको एमाले सचिवालय बैठकले पछिल्लो समय वर्तमान सरकारले बाह्य सम्बन्धहरुमा विचलन ल्याएको र मुलुकलाई भूराजनीतिक द्वन्द्वतिर धकेल्ने काम गरेको भन्दै आलोचना, विरोध र भण्डाफोर गर्ने निर्णय गरेको हो । स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति खलबलिएको अवस्थामा नेपालको स्वतन्त्रता सार्वभौमसत्तामा आँच आउन नदिन एमालेको भूमिकालाई प्रभावकारी बनाउने निर्णय भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


बैठकले स्थानीय तह निर्वाचनको गम्भीर रुपमा समीक्षा गरेको र निर्वाचनमा सत्तापक्षले राज्यसत्ताको दुरुपयोग गरेको भन्दै चिन्ता व्यक्त गरेको ज्ञवालीले बताए । उनले पपुलर मतमा एमाले कांग्रेसभन्दा अगाडि रहेको तर गठबन्धनका कारण पालिका प्रमुख तथा उपप्रमुखमा विगतको भन्दा कमजोर नतिजा आएको धारणा राखे । समयमै उम्मेदवार चयन गर्न नसक्दा, अकांक्षीहरुको व्यवस्थापन गर्न नसक्दा केही ठाउँमा पराजय भएको भन्दै उनले प्रमाणित तथ्य र पार्टीलाई हराएको पुष्टि हुनेलाई सम्बन्धित कमिटीले कारबाही गर्ने स्पष्ट पारे ।

त्यस्तै ज्ञवालीले एमाले मुलत राष्ट्रिय शक्तिको रुपमा थप सुदृढ बनाउने अभियानमा रहेको तर वाम एकता सम्भव नरहेको धारणा राखे । उनले एमालेले कसैलाई प्रधानमन्त्रीको अफर गरेको चर्चामा सत्यता नरहेको बताए । त्यस्तै बैठकले असार २ र ३ गते एमालेका जनप्रतिनिधिहरुका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको उनले बताए ।