काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तत्काल पार्टीका भातृ संगठनलाई पूर्णता दिन आग्रह गरेका छन्।


ADVERTISEMENT


बिहीबार राजधानीमा आयोजित आगामी निर्वाचनमा भातृ संस्थाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता महरले भ्रातृ संगठनले पूर्णता नपाउँदा पार्टी र संगठनका लागि काम गर्ने कार्यकर्ताहरूले स्थान नपाएको बताए ।


ADVERTISEMENT

# # #


‘पार्टीका भातृ र शुभेच्छुक संस्थाले पूर्णता नपाउँदा काम गर्न निकै गाह्रो भइरहेको छ। क्याम्पस, जिल्ला, प्रदेश र केन्द्र सबै ठाउँमा भातृ र शुभेच्छुक संस्थाको नेतृत्व जाम छ,’ उनले भने, ‘युवासँगै थुप्रै व्यक्ति बाहिर रहेकाले स्वतन्त्रहरू सलबलाउन थालेका छन्। राजनीतिप्रतिको वितृष्णा बढ्दो छ।’

उनले राजनीतिप्रति युवा वर्ग र बाहिर रहेका मानिसको आकर्षण बढाउनका लागि चाँडोभन्दा चाँडो भातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिनुपर्ने उल्लेख गरे । नेता महरले पदाधिकारीसहितको पूर्ण आकारको कमिटी बनाउन पार्टी नेतृत्व पङ्क्तिको गम्भीर ध्यानाकर्षण गराउन चाहेको बताए। यसो गर्ने मात्रै नयाँ परिस्थितिसँग प्रतिस्पर्धा गर्न सकिने महरको दाबी छ।

सबै भातृ र शुभेच्छुक संस्थाको पूर्ण कमिटी बनाउँदा १५ हजार मानिसले जिम्मेवारी पाउने र त्यसले सक्रियता बढ्ने भएकाले गठबन्धन बिनै पनि पार्टी प्रतिस्पर्धा गर्न सक्षम हुने महरको भनाइ छ।

‘जिम्मेवारी विहीनले के माग गर्ने ? कसलाई काम लगाउने ? अहिले धेरै युवा रनभुल्लमा छन् । अब यो परिस्थितिको अन्त्य हुनुपर्छ। पार्टीलाई जीवन्त पार्न भातृ संस्थालाई पूर्णता दिनै पर्छ,’ महरले भने।

उनले पार्टीलाई सशक्त र पुनर्ताजकी बनाउन भातृ संगठन र शुभेच्छुक संस्थाले सञ्जीवनी बुटीको काम गर्ने बताए। उनले भने, ‘नेविसंघ कांग्रेसको मुटु हो । युवासंघ तरुणहरूको ऊर्जा हो। सांस्कृतिक संघ कलाकर्मीहरूको संगठन हो। यस्तै अन्य थुप्रै संगठनले पूर्णता पाउन सकेका छैनन्।’

उनले तुरुन्त भातृ संगठनलाई पूर्णता नदिए पार्टीप्रतिको युवा आकर्षण घट्नेप्रति नेतृत्व गम्भीर हुनुपर्ने बताए। महरले पटक(पटक पार्टीको बैठकमा पनि आफूले यही माग राख्दै आएको बताए। यसप्रति नेतृत्व पनि गम्भीर रहेकाले चाडै भातृ संगठनले पूर्णता पाउनेमा आफू विश्वस्त रहेको महर बताउँछन्।