काठमाडौँ– नेपालमा भर्खरै मात्रै मनसुन भित्रिएको छ । यसबेला इन्फ्लुएन्जा भाइरस बढी क्रियाशिल रहने भएकाले वर्षायाममा अधिकांश व्यक्तिमा फुलुको समस्या देखिन्छ । इन्फ्लुएनजा भाइरसले व्यक्तिमा देखिने श्वासप्रश्वास सम्बन्धिको रोग निम्त्याउँछ । ‘इन्फ्लुएन्जा’ पनि भनेर चिनिने यसलाई श्वासप्रश्वास सम्बन्धि देखापर्ने रोगको प्रमुख कारक तत्वको रुपमा लिइन्छ ।


ADVERTISEMENT


‘फ्लु’ संक्रमण प्रसारण प्रकृया


ADVERTISEMENT

# # #


अत्यन्त संक्रामक रहेको यस भाइरस फ्लु संक्रमितले खोक्दा, बोल्दा वा हाछ्युँ गर्दा सो व्यक्तिको नाक तथा मुखबाट निस्कने स–साना ड्रपलेसको माध्यमबाट हावामा फैलन्छ । र, उक्त व्यक्तिको आसपास रहेका अर्काे व्यक्तिमा योे भाइरस सजिलै प्रसारण हुने तथ्य विभिन्न अध्ययनहरुले देखाएको छ । यसैगरि, केहि व्यक्तिलाई भने, फ्लु भाइरस भएका कुनै पनि वस्तु अथवा सतह छोएको आफ्नो हात सफा अथवा स्वच्छ नगरिकनै सिधै मुख, नाक तथा आँखामा लगेको/ छोएको खण्डमा पनि फ्लुको संक्रमण हुने सम्भावना रहन्छ ।

यसरी शरीरमा प्रवेश गरेको फ्लुले विशेषतः व्यक्तिको नाक, घाँटी हुँदै फोक्सोमा समेत असर पुर्‍याउँछ । सामान्य रुघाखोकि देखि जटिल श्वासप्रश्वास समस्याको अवस्थासम्म निम्त्याउँने फ्लुलाई बेवास्ता गरेमा यसले व्यक्तिलाई मृत्युको मुखसम्म डोर्‍याउने सम्भावना समेत प्रबल रहन्छ ।

लक्षणहरु

अधिकांश रोगका पहिचान त्यसका लक्षणहरु बाटै हुने गर्दछ । यसर्थ एन्फ्लुएन्जा संक्रमण बिरामीको हकमा भने संक्रमित व्यक्तिमा घाँटी दुख्ने, नाकबाट सिंगान बगिरहने, उच्च ज्वरो, टाउकोको दुखाई, मांसपेशी तथा हाडजोर्नीको दुखाई महशुस हुनेजस्ता लक्षणहरु देखा पर्दछ ।

यसका अधिकांश लक्षण भाइरल रुघाखोकीको जस्तो देखिएता पनि तुलनात्मक रुपमा यो सामान्य रुघाखोकी भन्दा बढि घातक हुन्छ । तसर्थ यस्ता लक्षण देखेका व्यक्तिले यसलाई बेवास्ता नगरी एकपटक अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुपर्दछ ।

उच्च जोखिमको दायरामा यी समूह

तुलनात्मक रुपमा हेर्ने हो भने, अधिकांश रोगले प्रतिरोधात्मक क्षमता कम भएका समूहलाई बढि आक्रमण गरिरहेको हुन्छ । तसर्थ यस हिसाबले भन्ने हो भने पनि मुख्यतयाः पाँच वर्षभन्दा कम उमेरका बालबालिका, ६५ वर्षभन्दा माथिका वृद्ववृद्वा तथा दिर्घरोगीहरुलाई फ्लुले संक्रमण गर्न सक्ने जो्खिम समूहअन्र्तगत सुचिकृत गर्न सकिन्छ ।

यस्तै, कतिपय सन्दर्भमा गर्भवति अवस्थाको दौरान अन्यको तुलनामा महिलाको स्वास्थ्य संवेदनशिल हुने भएकाले पनि यस समूहलाई पनि फ्लु संक्रमण जोखिम समूहको रुपमा लिइन्छ ।

फ्लु विरुद्व ‘इन्फ्लुएन्जा भ्याक्सिन’ को उपयोगिता

फ्लुबाट बच्नका लागि विज्ञहरुले विशेष प्राथमिकताका साथ सुझाउ गरिएको भरपर्दाे उपाय भनेकै ‘एन्फ्लुएन्जा भ्याक्सिन’ हो । फ्लु विरुद्व लगाइने यस खोपले व्यक्तिमा एन्फ्लुएन्जाको जोखिमलाई कम गर्नुका साथै खोप लिएका व्यक्तिमा यसको संक्रमण देखिएता पनि त्यसबाट निम्तिने गम्भीर अवस्थाको सम्भावनालाई न्युन पार्न समेत मद्दत गर्दछ ।तसर्थ स्वस्थ स्वास्थ्य एवम् नतिजा दुवै तवरबाट सफल देखिएको यसलाई फ्लुबाट बच्ने सुरक्षित एवम् भरपर्दाे उपाय मानिन्छ ।

खोप लगाउनुपर्ने समुह र समयतालिका

एन्फ्लुएन्जा भ्याक्सिनलाई एक स्वेच्छिक खोप पनि मानिन्छ । यद्यपि बाल चिकित्सकहरुले भने बालबालिकाको पुर्व स्वस्थ स्वास्थ्यको दृष्टिकोण हिसाबले पनि ६ महिना कटेका प्रत्येक ५ वर्ष मुनिका बालबालिकालाई यो खोप दिइनु पर्छ भन्ने मान्यता राख्ने गरेको पाइन्छ । र, ९ वर्षको उमेरसम्म पनि यस खोपको मात्रा नलिएका र संगै फ्लुबाट पनि संक्रमण नभएका बालबालिकालाई ४ हप्ताको अन्तरालमा खोपको दुई मात्रा दिइनुपर्छ । यद्यपि यसका लागि भने एकपटक अनिवार्य रुपमा सम्बन्धित चिकित्सकको परामर्श लिनुपर्दछ ।

यस्तै, सीडीसीले ६५ वर्ष उमेरभन्दा माथिका समूहको हकमा भने प्रत्येक ६ महिनाको अन्तरमा यो खोप दिन सिफारिस गरेको छ । यसैगरि गर्भको दौरान महिलाको प्रतिरक्षा, मुटु तथा फोक्सोको कार्यप्रणालीमा परिवर्तन भइरहने भएकाले यस्ता समूहमा फ्लुको जोखिम उच्च हुने भएकाले गर्भवति महिलाले पनि यो खोप लगाउन अनिवार्य दखिन्छ ।

समग्रमा अन्य सामान्य व्यक्तिहरुले भने प्रत्येक १/१ वर्षको अन्तरालमा एन्फ्लुएन्जा भ्याक्सिन लगाउनुपर्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । तर, खोपको मात्रा लिन जादाँ व्यक्तिले आफुमा भएको एलर्जी लगायतका अन्य स्वास्थ्य समस्या भएको खण्डमा भने सम्बन्धित चिकित्सक/स्वास्थ्यकर्मीलाइ खुलस्त रुपमा जानकारी गराउनुपर्छ ।