कर्णाली – वीरेन्द्रनगरबासीलाई गर्मीयाममा खानेपानी हाहाकार हुनु सामान्य लाग्थ्यो । अघिल्ला वर्षमा मनसुन सुरु हुँदा दैनिकजसो धारामा पानी आउँथ्यो । तर यसपटक धारामा पानी आउन छाडेको एक–दुई दिन होइन महिना नाघिसकेको छ । यहाँ एक महिनासम्म धारामा पानी नआउँदा उपभोक्ता आक्रोशित बनेका छन् ।


ADVERTISEMENT


वीरेन्द्रनगर नगरपालिका–३ पतेनी रोडका टेकबहादुर थापाले वर्षात्मा पनि पिउनेपानीको समस्या रहेको बताए । “खानेपानी किनेर पनि खान सकियो, तर शौचालय प्रयोग गर्न, भाडाकुँडा र लत्ताकपडा धुन धेरै समस्या भयो”, उनले भने, “महिनौँ दिनसम्म पानी नआउँदा पनि उपभोक्ता संस्थाले कुनै चासो दिएको छैन ।”


ADVERTISEMENT

# # #


वडा नं ३ मा मात्र होइन वीरेन्द्रनगरका अधिकांश वडामा पानी आउँदैन । वडा नं ९ का खानेपानी धारामा पानी नआएको महिना दिन भन्दा बढी बितिसकेको छ । मङगलगढी–लाटीकोइली सडक निर्माणका कारण यस क्षेत्रमा चार महिनादेखि खानेपानी अवरुद्ध छ । वडा नं ९ बौद्ध टोलका कपिलजङ्ग शाहीले नयाँ पाइप जडान गरिसक्दा धारामा पानी नआएको गुनासो गरे । उक्त सडक निर्माणका क्रममा त्यहाँ नयाँ पाइप जडान भइसकेको छ । “पाइप जडानपछि एक दिन आयो, त्यसपछि आएकै छैन”, उनले भने, “टोल समिति, वडा कार्यालय, खानेपानी उपभोक्ता संस्थाको कार्यालयमा जति गुनासो गर्दा पनि सुनुवाइ हुँदैन ।” धारामा पानी नआउँदा इनारको पानी पिउन बाध्य भएको उपभोक्ताको गुनासो छ ।

वीरेन्द्रनगरमा सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले खानेपानी आपूर्ति व्यवस्थापन गर्दै आएको छ । वर्षातका बेलामा उपभोक्ताका धारामा पानी पठाउन नसकेको भन्दै नगरवासीले संस्थाप्रति आक्रोश पोख्ने गरेका छन् । “खडेरीको मौसममा सधैँ हाहाकार हुन्थ्यो, यसपटक मध्यअसारमा हाहाकार भइरहेको छ”, वीरेन्द्रनगर ६ का होटल व्यवसायी वीरबहादुर शाहीले भने, “असार सुरु भएपछि त धारामा पानी देख्न पाइएको छैन ।” पानीको चरम अभाव भएपछि सुर्खेत उद्योग वाणिज्य सङ्घले केही दिन अघि खानेपानी सेवा सहज बनाउन संस्थाको ध्यानाकर्षण गराएको थियो । सङ्घका पदाधिकारीले मुहान र टुयाङ्कीको स्थलगत अवलोकन गरेका थिए ।

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले बर्खायाम लागेसँगै पानी वितरणमा समस्या आएको जनाएको छ । संस्थाका अध्यक्ष कुलमणि देवकोटाले मुहानमा पिउनयोग्य पानी नहुँदा वितरण नगरिएको बताए । उनका अनुसार झुप्रा र खरीखोलाको मुहानमै लेदो र धमिलो पानी छ । बाढी र पहिरोले खानेपानी संरचनामा क्षति पुर्याएको छ । अध्यक्ष देवकोटाले असार ४ गतेसम्म छ दिन अन्तरालमा पानी वितरण गर्ने गरिएकामा मुुहानमै बाक्लो लेदो र धमिलो हुुँदा प्लान्टमा हाल्न नसकिएको बताए ।

लाइनको मर्मत र इन्टेक तथा प्लान्टमा पानी हाल्ने प्रयास भइरहेको उनको भनाइ छ । आजदेखि आंशिक रुपमा धारामा पानी पठाउने काम भइरहेको बताइएको छ । झुुप्रा खोला र खरी खोलाको मुहानमाथिका बस्तीमा डोजर लगाएर सडक निर्माण भइरहेकाले हिलो बगेर पानीको स्रोत नै धमिलो बनेको संस्थाको दाबी छ । उपभोक्ताको आक्रोश बढेपछि नगर उपप्रमुख निलकण्ठ खनालले मुहान अवलोकन गर्नुका साथै एक साताभित्रै धारामा पानी पठाउने गरी काम सक्न निर्देशन दिएका छन् ।

प्रदेश राजधानी वीरेन्द्रनगरमा बढ्दो जनघनत्वसँगै खानेपानी मुख्य समस्याको रुपमा रहँदै आएको छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले हाल २० हजार घरधुरीलाई धारामार्फत खानेपानी वितरण गर्दै आएको छ । यहाँ १८ हजारबढी खानेपानी धारा अपुग रहेको छ । माग र आपूर्तिको सन्तुलन मिलाउन आलोपालो प्रणाली लागू गर्नुपरेको संस्थाले जनाएको छ । गर्मीयाममा ९६ घण्टामा एक दिन पानी वितरण गर्ने गरिएको थियो ।

छ अर्ब लागतको परियोजना सञ्चालन हुँदै

आव २०७९/८० देखि सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा वीरेन्द्रनगरमा रु छ अर्ब लागतमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना सञ्चालन हुने भएको छ । भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट सुर्खेत उपत्यका ल्याएर खानेपानी आपूर्ति गर्ने उद्देश्यले आयोजना निर्माण गर्न वीरेन्द्रनगर नगरपालिका र प्रदेश सरकारले ‘म्याचुल फण्ड’ स्थापना गर्न बजेट विनियोजन गरिसकेका छन् । आयोजनाका लागि ८० प्रतिशत सङ्घीय सरकार, २० प्रतिशत रकम प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिका र उपभोक्ता संस्थाबाट जुटाउन लागिएको छ । विश्व बैंकको ऋण सहयोगमा सङ्घीय सरकारको खानेपानी मन्त्रालयले आयोजना निर्माणका लागि वीरेन्द्रनगरलाई रु छ अर्ब अनुदान दिएको हो ।

निर्माण सुरु भएको छ वर्षभित्र भेरीको पानी लिफटिङका साथै नगरभित्रका अन्य पानीका मुहानको संरक्षण, एकीकृत जलाधार व्यवस्थापन, जीर्ण आयोजनाको सुधार, उपभोक्ता संस्थाको सबलीकरणलगायत कार्यमा सो बजेट खर्च हुनेछ ।

नगरप्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगरमा आगामी ३० वर्षसम्म बढ्न सक्ने जनसङ्ख्याको आँकलन गरेर खानेपानी आयोजना निर्माण गर्न लागिएको बताए । खानेपानी तथा ढल व्यवस्थापन विभाग, कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाबीच गत फागुनमा समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । रासस