कैलाली – कैलालीको टीकापुर नगरपालिकाले ठगिनबाट जोगाउन उपभोक्ता सचेतना बढाउँदै लगेको छ । यसका लागि नगरपालिकाले बजार अनुगमनलगायतका कार्यक्रम नियमित गरिरहेको जनाएको छ । अनुगमनका क्रममा कैफियत देखिए कानुनअनुसार कारबाही गरिने नगरपालिकाले जनाउँदै आएको छ ।


ADVERTISEMENT


नगर उपप्रमुख खडकबहादुर शाहले कार्ययोजना बनाएर नियमित बजार अनुगमन गर्नुपर्ने र कैफियत भेटिए बिनापूर्वाग्रह कानुनअनुसार कारबाही गरिने बताएका छन् । उपभोक्ता हित संरक्षण शाखा टीकापुरले गरेको वार्षिक समीक्षा कार्यक्रममा उनले भने ,“आम नागरिकको जीवनसँग जोडिएका विषयमा व्यवसायी जिम्मेवार बन्नुपर्छ, उपभोक्ता ठगिएको, व्यापारीले ठगी गरेको भेटिए हामी कारबाही गर्छौँ । अनुगमनकार्य नियमित हुनेछ ।”


ADVERTISEMENT

# # #


कार्यक्रममा विभिन्न वडामा खटिएका उपभोक्ता सचेतना स्वयंसेवकले व्यवसाय दर्ता नभएका, मूल्यसूची नराखेका, म्याद नाघेका वस्तु बेच्ने गरेका र केही विक्रेताले वस्तुमा लेखेको लेवलसमेत पढ्न नसक्ने अवस्था भएको जानकारी गराएका थिए । वडा नं २ मा खटिनुभएकी स्वयंसेवक रिमा चौधरीले विजयनगर गाउँको बजारका पसलको अवस्था बुझ्दा सबैजसो पसलले म्याद नाघेका वस्तु बेच्ने गरेका र विक्रेता वस्तुको लेवल पढ्न नजान्ने अवस्थामा रहेको जानकारी दिए ।

वडा नं ५ का स्वयंसेवक सञ्जु चौधरीले गाउँको बजारमा हप्ता दिनअघि म्याद नाघिसकेका वस्तु खरिद गरेर बेच्न राखेको पाइएको बताए । “गाउँमा म्याद नाघेका खाद्यवस्तुसमेत बेच्ने गरेका पाइएका छन्”, उनले भने, “सामान खरिद गर्न बालबालिका र महिला जान्छन्, बालबालिका म्याद हेर्न जान्दैनन्, महिलाहरू पनि कोही नजान्ने, कोही ध्यान नदिने हुन्छ । यस्तो बेला व्यापारीले लापरवाही गरे स्वास्थ्य जोखिममा रहन्छ ।”

नगरपालिकाले हरेक वडामा दुई जनाका दरले १८ युवालाई स्वयंसेवकका रूपमा वडाका बजारमा पठाएको छ । नपाले यस वर्ष १३० अरु युवालाई पनि उपभोक्ता अधिकारका बारेमा अभिमुखीकरण गरेको छ । उपशाखाले वस्तुको आधारमूल्य थाहा पाउन हरेक महिनाको पहिलो साता खाद्यान्न, फलफूल, तरकारी गरी ६५ वटा उपभोग्य वस्तुको मूल्य सङ्कलन गरी सार्वजनिक गर्दै आएको छ । नपाका निरीक्षण अधिकृत रञ्जु आचार्य टीकापुरको बजारभन्दा ग्रामीण क्षेत्रमा झन् बढी समस्या देखिएको नगरपालिकाको अनुगमनले पनि देखाएको जानकारी दिए । ‘‘बजारभन्दा गाउँतिर रहेका साना बजारमा म्याद नाघेका वस्तु बिक्री भएका भेटिने गरेका छन्, त्यसैले हामीले गाउँ–गाउँका बजारमा अनुगमनका लागि स्वयंसेवक खटाएका हौँ”, उनले भने, “पहिलो चरणमा सम्झाउने र अवस्थाबारे जानकारी भयो, अब आउँदा दिनमा कानुनअनुसार अघि बढ्न सकिन्छ ।”

नगरपालिकाले बजार व्यवस्थापन ऐन र नियमावली बनाएर अनुगमन, गुनासो सुनुवाइ र कारबाहीका काम सँगसँगै गरिरहेको छ । आर्थिक विकास शाखाका प्रमुख नन्दबहादुर केसीले उपभोक्ता सचेत र व्यवसायी जिम्मेवार नभएसम्म उपभोक्ता सुरक्षित हुन नसक्ने बताएका छन् । उपभोक्ता हित संरक्षण मञ्च टीकापुका अध्यक्ष एकिन्द्र तिमिल्सिना उपभोक्तालाई सचेतना कार्यक्रम गरी व्यवसायीलाई जिम्मेवार बनाउनुपर्ने सुझाव दिनुभएको छ । रासस