रामचन्द्र पाण्डे, काठमाडौँ– गत मंसिर १० गते ३२ जिल्लामा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको सदस्य निर्वाचनको मतगणना आजबाट सुरु हुने भएको छ ।


ADVERTISEMENT


निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार अनुसार साँझ मतदान सकिएलगत्तै मतगणना प्रारम्भ हुनेछ । पहिलो चरणको ३२ जिल्लामा पाँच बजे नै र दोश्रो चरणको निर्वाचनका मतपेटिका संकलन सकिएपछि गणना गरिने उनले बताए । आयोगले सबै निर्वाचन क्षेत्रको मतगणना जिल्ला सदरमुकाममा बलियो सुरक्षा घेराबीच हुने जनाएको छ ।


ADVERTISEMENT

# # #


मतगणनासंगै चुनावी प्रतिस्पर्धामा रहेका ७०२ उम्मेदवारको भविष्य खोल्न आजैबाट सुरु हुनेछ । जसमध्ये १११ जना उम्मेदवारमात्र विजयी हुनेछन् ।

प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा चार हजार ४६५ मतदान केन्द्रहरुमा मतदान भएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनतर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ पहिलो चरणको निर्वाचनमा ७०२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

उक्त निर्वाचनमा ३१ लाख ९१ हजार ९४५ मतदाताले मताधिकार प्रयोग गर्ने भएपनि विविध कारणले प्रतिशत माधै मत खसेको छ । पहिलो चरणको निर्वाचनमा दुई हजार ९१९ मतदानस्थल र चार हजार ४६५ मतदान केन्द्र कायम गरिएको थियो ।

छुट्टा छुट्टै मतगणना गर्दा अर्को चरणको निर्वाचन र त्यसको परिणाममा प्रभाव परेको भन्ने गुनासो आएपछि निर्वाचन अयोगले दुईवटै चरणको निर्वाचन सम्पन्न भएपछि मात्रै मतगणना गर्ने निर्णय गरेको थियो ।

पहिलो चरण अन्तर्गत प्रदेश नं १ का ७, प्रदेश नं ३ का ६, प्रदेश नं ४ का ६, प्रदेश नं ५ का २, प्रदेश नं ६ का ७ र प्रदेश नं ७ का ४ जिल्लामा मंसिर १० मा मतदान भएको थियो । उक्त निर्वाचनमा ६५ प्रतिशत मतदान भएको थियो ।

आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्ष तथा समानुपातिक प्रणालीअन्तर्गतका मतगणना एकैसाथ गर्न जिल्ला निर्वाचन कार्यालयहरुमा सर्कुलर पठाएको छ ।

यद्यपि मतगणना स्थल तथा गणकको पर्याप्तता नभएका स्थानमा भने पहिला प्रत्यक्ष र पछि समानुपातिक प्रणालीअन्तर्गतको मतगणना गर्न नसकिने प्रवक्ता ढकालले बताए । ढकाललले प्रत्यक्षतर्फको परिणाम आउन ४ दिन र समानुपातिकको परिणाम आउन ८ दिन लाग्ने बताए ।