काठमाडौँ – नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले तेस्रो पटक मागेको विदा अस्वीकृत भएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले ३५ दिनदेखि गयल बस्दै आएका एआईजी पोखरेलको विदा पुनः अस्वीकृत गरेका हुन् ।


ADVERTISEMENT


मंगलबार तेस्रो पटक ६ दिनका लागि मागेकाे पोखरेलको विदा आईजीपी सिंहबाट अस्वीकृत भएको प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले हिमालय पोष्टलाई बताए ।


ADVERTISEMENT

# # #


वैशाख १९ गतेदेखि नै लागू हुने गरी ३० दिनका लागि विदामा बसेका एआईजी पोखरेलको विदा जेठ १७ गते सकिएको थियो । त्यसपछि जेठ १८ गतेदेखि गयल रहेका उनले जेठ २४ गते १० दिनका लागि मागेको विदा आईजीपी सिंहले अस्वीकृत गरेका थिए ।

तर, विदा अस्वीकृत भए पनि लगातार गयल रहेका एआईजी पोखरेलले तेस्रो पटक असार २१ गते (आज) ६ दिनका लागि मागेको विदा समेत अस्वीकृत भएको हो । आईजीपी सिंहले विदा अस्वीकृत गर्दै कार्यालयमा हाजिर भएर काममा फर्किन निर्देशन दिएका थिए । तर, एआईजी पोखरेल विदा अस्वीकृत भए पनि कार्यालयमा अनुस्थित रहँदै आएका छन् ।

एआईजी पोखरेलले विदा अस्वीकृत भएको जानकारी बुझ्न नमानेपछि प्रहरी प्रधान कार्यालयले सो जानकारी उनको घरसम्म पुर्याएको छ ।

४५ दिनसम्म अनुपस्थित रहेमा वर्खास्त हुने

प्रहरी नियमावली, २०७१ का अनुसार विदा नलिई कुनै पनि प्रहरी अधिकारी गैरहाजिर हुन पाउँदैनन् । नियमावलीको दफा ११३ को उपदफा १(च) बमोजिम विदा स्वीकृत नगराई लगातार ४५ दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा सेवाबाट हटाउने वा वर्खास्त हुने प्रावधान रहेको छ ।

सरकारले वैशाख १८ गते सिंहलाई आईजीपीमा नियुक्त गरेको थियो । तर, नियुक्तिमा असन्तुष्टी जनाउँदै एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।  पटकपटक हेर्दाहेर्दैमा सरिरहेको उक्त मुद्दाको सुनुवाई असार २६ गते (आईतबार)लाई तोकिएको छ ।

एआईजी पोखरेलले २० साउनदेखि उमेरहदका कारण अनिवार्य अवकाश पाउँदैछन् ।