ललितपुर – ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभुका ५४ वर्षीय श्यामकृष्ण श्रेष्ठ सोमबार जिल्ला प्रहरी परिसर ललितपुरबाट हाजिर जमानीमा छुटे।


ADVERTISEMENT


गत असार १३ गते दिउँसो साढे २ बजे उनी पक्राउ परेका थिए। उनले चलाएको प्रदेश नम्बर ३-०२-०१२ प ६२४१ नम्बरको स्कुटरमा पेस्तोल भेटिएपछि प्रहरीले उनलाई इमाडोलबाट पक्राउ गरेको थियो। उनीबाट दुई राउन्ड गोली समेत बरामद गरेको थियो।


ADVERTISEMENT

# # #


उनी लुभुकै सहयोगी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका व्यवस्थापक समेत हुन्। उनी त्यस दिन स्कुटर चढेर लगनखेलको मालपोत कार्यालयमा गएर फर्किरहेका थिए। त्यहीँ प्रहरीलाई आएको फोनको आधारमा प्रहरीले श्यामकृष्णलाई फेला पारी अनुसन्धान अघि बढाएको थियो।

यसको अनुसन्धान परिसरले गरिरहेको थियो। तर यसबारे श्यामकृष्णलाई केही थाहै नभएको बताए। आफूले हतियार राख्नुपर्ने कुनै कारण नै नभएको बरू अरूले नै फसाएको हुनसक्ने उनले बताएका थिए।

उनले चढ्दै आएको स्कुटर पनि सहकारीकै सम्पत्ति हो। उनले उक्त स्कुटर एक वर्षदेखि चलाउँदै आएका थिए। परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहका अनुसार सो स्कुटरको दुइटा चाबी छ। जसमध्ये एउटा उनैले बोक्थे भने अर्को सहकारीका अध्यक्षले।

अनुसन्धान गर्दै जाँदा लुभुका ४३ वर्षीय सहकारीका अध्यक्ष अनिल श्रेष्ठ पनि तानिएको प्रहरी उपरीक्षक शाहले बताए। ‘चाबी एउटा श्यामकृष्ण र अर्को अनिल श्रेष्ठसँग भएको भन्ने खबर पाएपछि हामीले उनीमाथि पनि अनुसन्धान अघि बढायौं,’ शाहले भने। प्रहरीले उनलाई पनि पक्राउ गर्‍यो। तर उनले यो घटनाबारे स्वीकार गरेनन्। बरू आफूसँग चाबी नै नभएको भन्दै बसे।

त्यसपछि अर्का व्यक्ति पनि अनुसन्धानको दायरामा आए। उनी सोही सहकारीका निवर्तमान उपाध्यक्ष लुभुका ५० वर्षीय अख्खनदास श्रेष्ठ हुन्।

अख्खनदासमाथि चाबीको बारेमा सोधपुछ गर्दा उनले पनि अनिललाई २५ दिनअगाडि नै चाबी बुझाइसकेको खुलेको प्रहरी उपरीक्षक शाहले बताए। अनुसन्धान गर्दै जाँदा प्रहरीले थप शंका अनिलमाथि गर्‍यो। जसको श्यामकृष्णसँग पुरानो रिसिइवी थियो।

प्रहरीका अनुसार अनिलले सर्लाही घर भई लुभुमै बस्ने शिवजी महतोकी श्रीमती सरस्वती खत्रीलाई भगाएर दोस्रो विवाह गरेका थिए। त्यसरी विवाह गरेपछि जिल्ला प्रहरी परिसर ललितपुरबाट गत चैत १७ गते बहुविवाहको मुद्दा दायर गरिएको थियो। श्यामकृष्ण र शिवजी महतो मिल्ने साथी पनि हुन्।

मिल्ने साथी भएकाले श्यामकृष्णले अनिलविरूद्ध अदालतमा साक्षी बकपत्र गरेका थिए। जसकारण अनिल उनीसँग रिसाएका थिए। त्यस्तै अनिलले आफ्नो र परिवारको नाममा सहकारीबाट दुई करोड ९५ लाख रूपैयाँ ऋण लिएका थिए। त्यसको ब्याज र साँवा तिरेका थिएनन्। अनियमित भएकाले कर्जा चुक्ता गर्न व्यवस्थापक श्यामकृष्णले अनिललाई पटकपटक भनेका थिए।

‘अनिललाई पटकपटक कर्जा रकम तिर्नु भनेकाले श्यामकृष्ण श्रेष्ठ र अनिल श्रेष्ठबीच मनमुटाव रहेको देखिन्छ,’ उनले भने।

प्रहरीलाई यसरी हतियार राखेको छ भनेर केही समयअघि पनि सूचना आएको थियो। जेठ २५ गते अनिल आफैंले श्यामकृष्ण चढेको स्कुटरमा पेस्तोल र गोली छ भन्ने सूचना दिएका थिए। उनले त्यति बेला कन्ट्रोल रूममा फोन गरेर जानकारी गराएका थिए।

‘त्यस दिन सूचनाको आधारमा कन्ट्रोलमार्फत पक्राउ गर्न प्रहरी पनि परिचालन भयो। तर ललितपुरको प्रहरीले त्यो स्कुटर फेला पारेन,’ प्रहरी उपरीक्षक शाहले भने।

श्यामकृष्ण त्यस दिन फेला नपरेपछि अनिल त्यही दिन सहकारी पुगेका थिए। त्यस दिन दिउँसो ३:४८ बजे उनी सहकारी पुगेको देखिन्छ। कुनै कामै नभई उनी पार्किङ गरिरहेको ठाउँमा पुगेर उक्त स्कुटरबाट हतियार निकालेको सिसिटिभी फुटेजमा देखिएको परिसरले जनाएको छ।

असार १३ गते पनि श्यामकृष्ण मालपोत कार्यालय जान भनेर हिँडेका थिए। त्यसपछि उनले परिसरका प्रहरीलाई फोन गरी श्यामकृष्णको स्कुटरमा हतियार छ भनेर सूचना दिएको अनुसन्धानबाट देखिएको छ।

सूचना दिएर पनि उनी आफैंले पनि श्यामकृष्णलाई पिछा गरे। पिछा गरेर उनले २५ पटकसम्म प्रहरीलाई फोन गरेर लगातार ठाउँबारे जानकारी दिइरहेको प्रहरी उपरीक्षक शाहले बताए।

अनिलसँग पनि चाबी भएको र गतिविधिले गर्दा पनि स्कुटरको डिकी खोलेर उनैले पेस्तोल र गोली राखेको हुनसक्ने आधार बलियो भएको प्रहरीको भनाइ छ। प्रहरीले अहिले अख्खनदासलाई पनि नियन्त्रणमै राखेको छ। उनीमाथि पनि थप अनुसन्धान गर्न बाँकी रहेको भन्दै परिसरले हिरासतमै राखेको हो।

‘अनुसन्धानको क्रममा विभिन्न तथ्यहरू खुल्न आएको हुँदा पूर्व रिसिइवी तथा कर्जा असुलीमा ताकेता गर्दा आफूलाई परेको असर समेतको कारण श्यामकृष्णलाई फसाउन अभियुक्त अनिलले आपराधिक षड्यन्त्र गरेको देखिन आयो,’ शाहले भने।

प्रहरीले दुई जनालाई पक्राउ गरेर श्यामकृष्णलाई भने हाजिर जमानीमा छाडेको छ। पक्राउ परेका अन्य दुई जनामाथि हातहतियार तथा खरखजाना, आपराधिक षड्यन्त्र मुद्दामा जिल्ला अदालत ललितपुरबाट हिरासतमा राख्न प्रहरीले अनुमति लिएको छ। यसमा थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।