काठमाडौँ- प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी उनको सालिकमा माल्यार्पण गरिएको छ । कोइरालाको ४० औँ स्मृति दिवसको अवसर पारेर आज सुन्दरीजलस्थित बिपी सङ्ग्रहालयमा रहेको उनको पूर्णकदको सालिकमा माल्यार्पण गरिएको त्यहाँका अध्यक्ष परशुराम पोखरलले जानकारी दिएका हुन् ।


ADVERTISEMENT


प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री, संसद्का सभामुख एवं मन्त्रीहरुलाई बन्दी बनाइएको सुन्दरीजल बन्दीगृहलाई विसं २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयका रुपमा उद्घाटन गरिएको थियो । बिपीको जीवनका महत्वपूर्ण चीजबीजको सङ्कलन गरी दर्शनीय बनाइएको सङ्ग्रहालय २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भई हाल पुनःनिर्माण भइरहेको छ ।


ADVERTISEMENT

# # #


कोइरालाको ४० औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका उनको विसं २०३९ साउन ६ गते निधन भएको थियो । कोइरालाले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्‍याएका छन् । उनको जन्म १९७१ भदौ २४ गते भएको थियो । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा कोइराला पहिलो निर्वाचित प्रधानमन्त्री बनेका तिए ।

बिपी स्मृति दिवसको अवसर पारेर नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन आजदेखि बागमती प्रदेशको राजधानी हेटौँडामा सुरु हुँदैछ । महाधिवेशनको कांग्रेस सभापतिले आज उद्घाटन गर्ने कार्यक्रम छ । प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले स्वतन्त्ररुपमा चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पुर्‍याउनसमेत योगदान दिएका छन् । रासस