प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका राज्यमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठसँग हिमालय पोष्टले सरकारका कामकारबाही, अर्थतन्त्रको वर्तमान अवस्था र भविष्यका योजना, सत्तारुढ पाँच दलीय गठबन्धन, आगामी चुनावी रणनीति र तयारी लगायतका विषयमा कुराकानी गरेको छ । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंशः


ADVERTISEMENT


यहाँको विचारमा सरकार कुन हिसाबले अघि बढिरहेको छ ?


ADVERTISEMENT

# # #


अहिलेको सरकार गठबन्धनको सरकार हो । सरकार कोरोनाको भ्याक्सिन सबै नागरिकलाई दिएर ठप्प भएको अर्थतन्त्रलाई चलायमान गराउने काम गर्न सफल भएको छ । यसैगरी सरकारले चुनाव गराउनुलाई प्रमुख दायित्वको रुपमा लिएको छ । स्थानीय तहको निर्वाचन एकैचरणमा शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । अब आगामी संघीय र प्रदेशको निर्वाचन गराउन सरकार लागिरहेको छ । निर्वाचनपछि नयाँ सरकार आउनेछ । त्यसपछि सरकारको दायित्व भनेको अर्थतन्त्रलाई चलायमान गराउँदै आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने रहन्छ ।

कतिपयले देशको आर्थिक अवस्था कमजोर हुँदै गइरहेकाले कतिपय हामी श्रीलंकाको बाटोमा छौँ भन्ने गरेका छन् । यसमा तपाईंको धारणा के छ ?

त्यस्तो कदापि हुँदैन । अहिले कोरोना महामारीको कारण विश्वभर नै एकखालको मन्दी देखा परेको छ । त्यसैको असर नेपालमा देखिएको हो । इन्धन संकटका कुरा पनि त्यसैबाट सिर्जना भएको कुरा हो । महङ्गीलाई नियन्त्रण गर्नुपर्छ । बजारलाई  नियन्त्रण र नियमन गर्न नयाँ सरकार बनेपछि चार पाँच महिनाका आर्थिक पाटाहरुका काम गर्नुपर्ने हुन्छ । त्यसपछी हाम्रो अर्थतन्त्र राम्रो हुन्छ । यसमा कोही पनि डराउनु पर्दैन । अहिले भएका कमी कमजोरीलाई सुधार गर्ने कुरालाई प्राथमिकतामा राख्ने कुरामा सरकार गम्भीर भएर अघि बढेको छ ।

अबको केही महिनाभित्रै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्नुपर्नेछ । निर्वाचनका विषयमा सत्तारुढ दलहरुबीच छलफल अघि बढेको सुन्ने गरिन्छ । चुनावमा गठबन्धन अहिले जसरी नै अघि बढ्छ कि के हुन्छ ?

गठबन्धनकै सन्दर्भमा कुरा गर्न र यसलाई कसरी अघि बढाउने भन्ने सन्दर्भमा नेपाली कांग्रेसले भर्खरै मात्र केन्द्रीय समितिको पाँच दिने बैठक सम्पन्न गरेको छ । बैठकले पाँच वर्षको स्थायी सरकार बनाउनका लागि गठबन्धनको अपरिहार्यता देखेको छ ।

सकेसम्म कांग्रेसलाई धेरै सिट हुनेगरी गठबन्धनमा जाने भनेर हामीले निर्णय गरेका छौं । गठबन्धनका अन्य दलहरु पनि सकारात्मक रुपमा नै अघि बढेकाे देखिएकोले अहिले जसरी नै अघि बढ्ला भन्ने लागेकाे छ । चुनावपछिको नेपाल समृद्ध बनाउन अघि बढ्ने भन्ने हामीले संकल्प लिएका छौं । त्यस्तो खालको सरकार बनेको खण्डमा १० वर्षमा नेपालको विकासले कायापलट गर्छ भन्ने हाम्रो धारणा हो ।

नेपालमा अहिले युवावर्ग धेरै रहेका छन् । हरेक वर्ष नेपाली बजारमा केही गरौं भन्ने धारणा भएका पाँच लाख नयाँ नेपाली युवाहरु आइरहेका छन् । यसरी नयाँ युवाहरु बजारमा आइराख्दा पनि हामीले मुस्किलले पचास हजार युवाहरुलाई मात्र रोजगार दिन सकिरहेका छौं । यसलाई समाधान गर्ने बाटोमा सरकार जानुपर्छ ।  हामीले युवापुस्तालाई रोजगारी सिर्जना गर्ने वातावरण बनाउनु छ । देशलाई समृद्धि र उन्नतिको बाटोमा लैजानु छ ।

उसाे भए गठबन्धन चुनावसम्मै एकढिक्का भएर जान्छ होइन त ?

गठबन्धन चुनावसम्म एकढिक्का भएर जान्छ । यसमा शंका छैन । आजको दिनमा गठबन्धनको अपरिहार्यता नै छ । केन्द्रीय समितिले नै निर्णय गरेर चुनावको टिकट पनि बाँड्नेछ । यसले चुनावी परिणाम पनि राम्रो आउनेछ । चुनावपछिको सरकार पनि बलियो हुनेछ भन्ने मलाई लाग्छ । गठबन्धनका विषयमा फरक मत राखिरहेका साथीहरुले पनि गठबन्धन गर्नु हुँदैन भनेका छैनन् ।

गठबन्धनमार्फत् चुनावमा जाँदा नेतृ आरजु देउवा र प्रचण्ड प्रधानमन्त्रीको उम्मेदवार बन्ने चर्चा गर्ने गरिन्छ । यसलाई कसरी लिनुहुन्छ ?

यो हल्लाका कुरा होलान् । मान्छेहरुले साना कुराहरुलाई कल्पना गरेर ठूलो बनाउने गरेको पाइन्छ । प्रचण्ड वा आरजु देउवालाई प्रधानमन्त्री बनाउनका लागि गठबन्धन गरेर चुनाव गराउन नेपाली कांग्रेस लाग्यो भने चुनाव जित्ने सम्भावना नै छैन । यस्तो कुराको अनुमान अहिलेदेखि नै हामी गर्नै सक्तैनौं । पहिले त चुनाव हुनुपर्यो । चुनावको परिणाम के आउँछ भन्ने कुरा हुन्छ । चुनावी परिणाम हाम्रो पार्टीको पक्षमा आउनुपर्यो । चुनावको परिणामका आधारमा सरकार बनाउने कुरा हो । चुनाव अघि नै को प्रधानमन्त्री बन्छ भन्ने कल्पना गर्न सकिँदैन । पार्टीले त्यस्तो निर्णय गरेको छैन । हल्लाका पछि हामी दगुर्नु हुँदैन ।

आगामी निर्वाचनका लागि काँग्रेसको तयारी कस्तो हुन्छ ? तपाईंको विचारमा कुन रणनीतिका साथ काँग्रेस निर्वाचन लड्नुपर्छ ?

कांग्रेसले जितका लागि चुनावमा एकजुट भएर जानुपर्छ । आफ्ना उम्मेदवारलाई जिताउने काममा लाग्नुपर्छ । पार्टीको केन्द्रीय समितिमा हरेक सदस्यलाई बोल्नको लागि पाँच मिनेटको समय दिइनुपर्छ । कांग्रेस पुरानो पार्टी र धेरै कार्यकर्ताहरु भएको पार्टी भएकाले यहाँ कतिपय अवस्थामा अस्वस्थ प्रतिस्पर्धा हुनु नौलो कुरा होइन ।  स्वस्थ प्रतिस्पर्धाका आधारमा टिकट वितरण गरौं भन्ने लाग्छ ।

पार्टी एकजुट भएर चुनावमा गएर टिकट पाएका उम्मेदवारलाई जिताएर आउनुपर्छ भनिरहेका छौं । तलदेखि नै हामी एकजुट भएर चुनावमा जानुपर्छ भनिरहेका छौं । अब फेरि ‘गाउँ गाउँ जाउँ कांग्रेस जिताऔं’ अभियान चलाउनुपर्छ । भदौ महिनाभित्र हामीले यो कुरालाई गर्नु जरुरी छ । कांग्रेसले चुनाव जितेको खण्डमा के गर्न सक्छ भन्ने कुरा जनतालाई बुझाउनु जरुरी रहेको छ । पार्टीका सम्भावना के हो ? हामीले हिजोका दिनमा के गर्यौं ? हामी अबका दिनमा के गर्नका लागि चुनावमा सक्रिय छौं भन्ने कुरा जनतालाई प्रष्ट्याउनु जरुरी रहेको छ ।

काँग्रेसको भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकमा पनि एकअर्काबीच आरोप प्रत्यारोपका स्वरहरु सुनिए । अहिले कांग्रेसमा गुटहरु फेरि सतहमा आएका हुन् ? के लाग्छ तपाईंलाई ?

वास्तवमा भन्नुपर्दा त्यस्तो होइन । पार्टीभित्र आफूलाई लागेको कुरा बोल्न पाउने स्वतन्त्रता छ । पार्टीमा सभापतिले यो अधिकार सबैलाई दिनुभएको पनि छ । सबै साथीहरुले आफूलाई लागेको कुरा भन्न पाउनुभएको पनि छ । मिडियामा जस्ता कुराहरु आएका छन् त्यस्तो भएको छैन । हामीले बैठकमा सर्वसम्मत निर्णय गरेर आएका छौं । कोही पनि केन्द्रीय सदस्यले पार्टीमा ‘नोट अफ डिसेन्ट’ गर्नु भएको छैन । चुनावमा जाने कुरामा पनि सबै साथीहरुको एकै धारणा आएको छ ।  गुटहरु सतहमा आएका छैनन् । सहमतिमा निर्णय भएको छ । सहकार्य र एकतामा हामी अघि बढेका छौं ।

अहिले अर्थतन्त्र पनि एकखालको समस्याबाट गुज्रिरहेको छ । नयाँ आर्थिक वर्ष पनि भर्खरै सुरु भएको छ । सरकारका मन्त्रीका हिसाबले अर्थतन्त्रमा सुधार भएर जाने केही लक्षण देख्नुभएको छ ?

नेपाल अर्थतन्त्रका हिसाबले एकदमै सम्भावना भएको मुलुक हो भन्ने कुरा मैँले सधैँ भन्दै आएको छु । नेपालमा हाइड्रो पावर, पर्यटन, वनजंगल जडिबुटी र स्वास्थ्य क्षेत्रका सन्दर्भमा असाध्यै धेरै सम्भावना रहेको छ । यी क्षेत्रमा लगानी गरेर जाने हो भने हाम्रो मुलुकको अर्थतन्त्रले छिटै काँचुली फेर्न सक्छ । हामीले यी विविध क्षेत्रमा लगानी भित्र्याउने वातावरण बनाउन आवश्यक छ । नेपालमा सिस्टमकै कमजोरीका कारण लगानी भित्रिरहरेको छैन ।

पूँजीगत खर्च पनि असाध्यै कम भइरहेको अवस्था छ । करीब १८ खर्ब बजेटमा हामीले पूँजीगत खर्च ३-४ खर्ब मात्र गरिरहेको अवस्था छ । यो एकदमै कम खर्च भएको हो । यसलाई ठिक गर्नु जरुरी छ । पैसाको सम्भावनाहरुका स्रोत भनेको ११ देखि १२ खर्ब करबापत प्राप्त भएको रकम हो । त्यसैगरी रेमिटेन्स मार्फत १० खर्ब जति रकम प्राप्त हुन्छ ।

अर्थतन्त्रलाई बचाएको नै रेमिटेन्सले हो । रेमिटेन्सलाई अझ सुधार गरेर जाने हो भने रकम अझै बढेर जाने सम्भावना पनि छ । नीतिगत तहमा नै हामीले सुधार गर्नुपर्छ । आएको पैसालाई लगानी गर्ने वातावरण र बजारको व्यवस्थापन राम्ररी गर्नसक्नुपर्छ । विदेशमा भएका लाखौं नेपालीलाई पनि लगानी गर्न दिने, सामाजिक उत्तरदायित्वमा सहभागी गराउने काम गर्नुपर्छ । यसो गर्दै गयौं भने रेमिटेन्स १५ खर्बसम्म पुग्न सक्छ । वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई हामीले सहजता र सहुलियत दिनुपर्छ । उनीहरुलाई नै सबै ठाउँमा बाधा र अड्चनमा राखियो भने अर्थतन्त्र सुधार हुँदैन ।

लगानी गर्न आउने विदेशीलाई पनि धेरै अप्ठेरो भएको मैले देखेको छु । लगानी गर्न दिने, पैसा लान नदिने, लैजाँदै गर्दा पनि धेरै स्थानमा सोधेर हैरान पार्ने र हतोत्साही गर्ने काम भइरहेको छ । यसो हुन हुँदैन । गैरकानुनी रुपमा लगानी भएको र हुने खालको पैसा आउनुहुँदैन भन्ने हो । त्यसैगरी संसारभर बन्देज गरिएको रकम पनि आउनुहुँदैन । कानुनी रुपमा कमाएको पैसा ल्याएर लगानी गर्ने मान्छेलाई हतोत्साही गर्न हुँदैन । यसरी सुधारिएर  गइयो भने अर्थतन्त्र सुधार भएर जान्छ ।

नेपालको जिडिपीको ३५ प्रतिशत जति लोन छ । लोन हाम्रो सुरक्षित खालको छ । हामीले लिएको लोन भनेको एडिपी, विश्व बैंक जस्ता आधिकारिक निकायको मात्र हो । प्राइभेट लोन खासै छैन । धेरै ब्याज तिर्नुपर्ने ऋण नभएकोले आत्तिनुपर्ने अवस्था छैन ।

तर, हामी १७ देखि १८ खर्बको व्यापार घाटामा छौं । २० खर्बको आयात हुँदा हामी २ खर्बको मात्र निर्यात गरिरहेका छौं । व्यापार घाटा घटाउने कुरा चुनौतीको विषय भए पनि हामी उत्पादनमा सक्रिय भएर लाग्न जरुरी छ । अनावश्यक वस्तुहरु र विलासिताका वस्तुलाई आयात गर्न रोक लगाउनुपर्छ । नेपाली उत्पादनको प्रयोगमा जोड दिनुपर्छ । हाम्रो देशको मौसम अनुसार उत्पादन हुने खाद्यान्न र तरकारीजन्य उत्पादनका बेला विदेशबाट हामीले ती सामान पनि ल्याउनुहुँदैन ।

स्वास्थ्यलाई फाइदा नगर्ने वस्तुहरु पनि हामीले ल्याइरहेका छौं । ती कुराहरुलाई प्रतिस्थापन गर्नुपर्छ । लगानीकर्तालाई पनि मार्ने काम हामी गर्न सक्तैनौं । तसर्थ विलासिताका वस्तुहरु छोटो-छोटो अवधिका लागि बन्द गर्दै अर्थतन्त्र मजबुत पार्न लाग्नुपर्छ । विलासिताका सामानको कर थोरै घटाइदिने र कमै मात्र आयात गर्न दिने रणनीतिमा हामी जानुपर्छ । नेपाल विश्व व्यापार संगठनको सदस्य पनि भएकोले सबै आयात हुने सामानमा प्रतिबन्ध लगाउन पनि मिल्दैन । यसले राम्रो सन्देश दिँदैन ।  तसर्थ बाह्य व्यापार पनि चलिराख्नुपर्छ । यो बेला सर्तक भएर आयातलाई कम गर्नुपर्छ । २० खर्बमा कुदिरहेको आयात १५ खर्बमा मात्र झार्न सकियो भने पनि एकदमै राम्रो हुन्छ । उत्पादनमुखी बजार बनाउन हामी सक्रिय हुनुपर्छ ।

सरकार यही हिसाबमा अघि बढेको छ त ?

अवश्य पनि सरकार यही हिसाबमा अघि बढिरहेको छ । सम्माननीय प्रधानमन्त्रीले पनि यस विषयमा चासो राखेर राष्ट्र बैंकका गभर्नर, अर्थ मन्त्रालयका सचिव, अर्थतन्त्रका विज्ञहरु बसेर छलफल गर्नुभएको छ । रणनीति बनाएर नै हामीले विलासिताका वस्तुमाथि केही समयको रोक लगाएका हौं । यसका लागि एउटा समिति पनि बनेको छ । जसले कुन वस्तु आयात गर्न दिने र कुन वस्तुलाई नदिने भन्ने कुराको निश्चय गरिरहेको छ । कुन वस्तुको आयात रोक्दा नेपाली जनतालाई फाइदा हुन्छ र कुन वस्तु रोक्दा बेफाइदा हुन्छ भन्ने रणनीति तयार गरेर सरकार अघि बढिरहेको छ ।

चुनाव नजिकिँदै आएको छ । व्यक्तिगत रुपमा तपाईंले चुनावको तयारी कसरी गरिरहनुभएको छ, के छ योजना ? 

म राजनैतिक क्षेत्रमा लागेको लामो समय भएको छ । राजनीतिक क्षेत्रमा लागेपछि मैले दुईपटक सांसद हुने अवसर पनि पाएँ । देशका लागि त्यहाँबाट जे गर्न सकिन्थ्यो योगदान दिने अवसरको सदुपयोग पनि गरें । साथीभाइ सुभेच्छुकको मायाले केन्द्रीय सदस्य पनि जितेको छु । केही राम्रो गरौं भनेर नै अघि बढिरहेको अवस्थामा मलाई पार्टीका भाइसाथीहरुले विश्वास र माया गर्नुभएको छ ।

मलाई टिकट नदिए मारामार गर्नुपर्छ भन्ने पक्षमा पनि म लागेको छैन । सबै साथीहरुले विश्वास गरेर यसले जित्नसक्छ भनेर विश्वास गर्नुभयो भने अवश्य नै म चुनाव लड्छु । चितवनमा मैले राम्रो काम गरेको कारण मलाई त्यहाँबाट टिकट दिएमा चुनाव लड्ने विचार पनि गरेको  छु । तर, कुन क्षेत्रमा टिकट पाए लड्छु भनेर म अहिले नै भन्न सक्तिन ।

पार्टीले  सांसद पनि भइसकेको, मन्त्री पनि भइसकेको कारण चुनावमार्फत् आऊ भनेमा म लड्ने विचारमा छु । पार्टीले प्राथिमकता दिएर खटाएको क्षेत्रमा चुनाव लड्नु पनि पर्छ । अरु पनि आकांक्षीहरु होलान् । पार्टी सभापतिले कस्तो चाहना गर्नुहुन्छ त्यो पनि अर्को कुरा हुन्छ । मेरो ईच्छाचाँहि प्रतिनिधिसभाकै लागि चुनावमा जानुपर्छ भन्ने छ । तर, पार्टीलाई अप्ठेरो हुनेगरी सभापतिलाई अप्ठेरो हुनेगरी मैले टिकट पाउनैपर्छ भनेर म भन्दिन । सबै साथीहरुको ईच्छा, आकांक्षाहरु बुझेर मात्र अगाडिको यात्रा गर्नुपर्छ भन्ने मेरो मान्यता हो । सबैको चित्त बुझाएर मात्र चुनाव लड्न सकिन्छ भन्ने मलाई लाग्छ ।

अन्तिममा, तपाईंको नाम जोडेर सञ्चारमाध्यममा विभिन्न किसिमका टिकाटिप्पणीहरु हुने गर्छन् । यसलाई कसरी लिनुभएको छ ?

सञ्चार माध्यमले सत्यतथ्य कुराहरु जनतासामु लैजानुपर्छ र पस्किनुपर्छ भन्ने मलाई लाग्छ । दोषीलाई दोषीका रुपमा चित्रण गरिदिने र सही मान्छेलाई सही रुपमा विश्लेषण गरिदिने हो भने मलाई राम्रो लाग्छ । मनगढन्ते कुराहरु लेखिदिने, केही राम्रो काम गर्न लाग्यो भने डाहा गर्ने खालको भाषा प्रायोग गरिदिँदा दुःख लाग्छ ।

यस्ता कुराले हरेक कुरालाई नकारात्मक रुपमा हेर्ने संस्कारको विकास हुँदै जान्छ । मिडियामा पनि यस्तो धारणा भएका धेरै व्यक्तिहरु छन् । नकारात्मक काम गर्नेको बारेमा त नकारात्मक नै लेखिदिनुपर्छ तर जसले देशको बारेमा सोचिरहन्छ,  देशको उन्नति, प्रगति विकासका बारेमा काम गरिरहेको मान्छेलाई हतोत्साही गर्ने काम गर्नुहुँदैन । नचाहिने कुराहरु लेखिदिँदा धेरै दुःख लाग्छ ।

त्यसको प्रतिवाद गर्दै हिँड्ने काम पनि गर्न चाहन्न । सकारात्मक सोचले अघि बढ्नुपर्छ भन्ने मान्याता भएकोले प्रतिवाद गर्नतर्फ नलागेको हो । सत्यको बारेमा त जनताले विस्तारै थाहा पाइहाल्छन् नि ! नभएका कुराहरु लेख्न लागाउनेहरु पनि छन् । तर, म काम गरिरहनुपर्छ भन्ने धारणा भएको मान्छे भएकाले यस्ता कुरामा धेरै ध्यान दिन्न । यस्ता कुरालाई खासै वास्ता नगरे तापनि नकारात्मक कुराहरु देख्दा कहिलेकाँहि गर्न खोजेको काम जनतालाई बुझाउन नसक्दा खिन्नताको अनुभवचाँहि हुने गरेको छ ।

भविष्यमा राम्रो कामको मूल्यांकन भइ नै हाल्छ । मैले गरेको कामको प्रशंसा पनि भई नै रहेकोले हतोत्साहीचाँहि भएको छैन । भर्खरै एउटा सञ्चारमाध्यमलेचाँहि वाहियात नै लेखेको कारण मैले विज्ञप्ति निकालेको हो । त्यसमा मैलै गल्ती गरेको भए कारबाही गर्नका लागि अगाडि बढ्न भनेको छु । नभए नकारात्मक लेख्ने काम नगर्नु भनेर आग्रह गरेको छु । यस्तो कुरा लेखिदिँदा मलाई नजिकबाट नचिनेका मान्छेहरुमा नकारात्मक सोच उत्पन्न हुन्छ भन्ने लाग्छ । चिन्नेहरुले त मेरो स्वभावलाई चिन्नुभएकै छ ।

म गाउँघरमा नै हुर्किएर सहरमा आएर आफ्नै कामले चिनिएको र अलिकति उन्नति गरेको मान्छे हो । मैले हमेसा सेवाको काम मात्रै गरेको छु । जसले विकास र समृद्धिमा टेवा पुगेको छ । देशको अर्थतन्त्रलाई पनि टेवा पुगेको छ । इमानदार भएर काम गर्नुपर्छ भन्नेमा म सचेत नै छु । आयात-निर्यातको काम मैँले कहिले पनि गरेको पनि छैन । यी कुराहरुलाई सञ्चारमाध्यमले पनि बुझिदिए हुन्थ्यो जस्तो मलाई लाग्छ ।