महेन्द्रनगर – गत वर्ष कात्तिक महिनामा आएको बेमौसी बर्सातले कञ्चनपुरको महाकालीपारिको दोधारा चाँदनी नगरपालिका–१० को कुतियाकवर बस्ती पूरै डुबानमा पर्यो ।


ADVERTISEMENT


धान खेती समेट्ने बेला आएको बाढीले किसानहरुको धानबाली त क्षति गर्यो नै, अझ ३९ परिवारको बसोबास रहेको सीमा नाकाको कुतियाकवरको बस्तीमा छाक टार्नसमेत मुस्किल पर्यो । विसं २०२२ देखि सीमाको पहरेदार बनेका कुतियाकवरबासीको त्यो बाढीको पीडामा सीमापारिका भातरीय नागरिकले लगाएको गुन स्थानीयवासी टेक सुनार अझै सम्झिन्छन् ।


ADVERTISEMENT

# # #


खुल्ला सीमा नाका, भारतीयसित सीमा स्तम्भ नहुँदा सीमा विवाद र अतिक्रमणका झमेलाहरु पर्ने गरेको भए पनि कुतियाकवरबासी र सीमापारिका भारतीयबीचको सम्बन्ध भने नङ र मासुको जस्तै छ । केही वर्षअघि मात्रै जोगबुढा नदीमा झोलुङ्गे पुल बनेपछि मुलुकसित साइनो जोडिएको बताउँदै सुनारले अझै पनि आफूहरुको किनमेलदेखि रोजगारीका लागि भारतीयहरुसित सहकार्य हुँदै आएको जानकारी दिए ।

सीमापारिको भारतीय कलौनीका नागरिकसित पैसाको सापटीदेखि घरायसी खाद्यान्नसमेत सरसापटीमा चलाउने गरेको सुनारको भनाइ छ । “समस्या पर्दा मैले नै भारतीय छिमेकीसित रु १० हजार मागेर अस्पतालमा उपचार गर्न गएको छु”, विगत सुनाउँदै सुनारले भने, “गत वर्ष बाढीका बेला पनि सात दिनसम्म भारतीय नागरिकहरुले नै हामीलाई खाद्यान्न सहयोग गरे ।”

सीमामा दुई देशका नागरिकबीचको प्रगाढ सम्बन्ध केवल व्यवहारमा मात्रै सीमित छैन । समस्या पर्दा दुवै देशका सिमानामा बसोबास गर्ने नागरिकहरुबीच सरसापटीसमेत लामो समयदेखि चल्दै आएको छ । विवाह, व्रतबन्धलगायतका सामाजिक कार्यहरुमा पनि दुवै देशका नागरिकहरुबीच निम्ता आदानप्रदानसमेत हुने गरेको छ ।

त्यसैगरी अर्का स्थानीयवासी बसन्ती सुनारले आफूहरुको भाइचाराको सम्बन्ध रहेको बताउँछन् । “सहयोग पनि दोहोरो नै हुन्छ”, उनले भने, “अहिले पो स्थानीय सरकार आएपछि गाउँमा सुविधा पुग्यो, पहिले त अन्धकार नै थियो ।” सीमा क्षेत्रमा नेपाली र भारतीयको सुरक्षा गस्तीका कारण आफूहरु सुरक्षित रहेको सुनारको भनाइ छ ।

“कतिपय बेला त भारतीयहरुको घरबाट पीठो मागेर पनि रोटी पकाएर खाएका छौँ”, उनले भने, “उनीहरु पनि समस्या पर्दा निसङ्कोच हाम्रो दैलोमा आउँछन् ।” दोधारा चाँदनीको विकट बस्तीमा पर्ने कुतियाकवर अझै पनि राज्यको पहुँच र सुविधाबाट टाढा छ । जोगबुढा नदी कटान समस्याका साथै बस्तीका बालबालिकाहरु अझै शिक्षाको पहुँच बढाउन सकिरहेका छैनन् ।

बस्ती सुरुआतमा बस्दा विसं २०२२ सालमा कुतियाकवरमा करिब दुई सय घरपरिवारको बसोबास रहे पनि बाढीको त्रासले अन्यत्र सरेको स्थानीयको भनाइ छ । रासस