झापा – झापाको एक्सेल डेभलपमेन्ट बैंक प्रदेश नं १ को पहिलो प्रादेशिक बैंक बन्ने भएको छ । प्रादेशिक बैंकको मान्यता पाउनका लागि प्रदेशभर बैंकिङ कारोबारको कार्यक्षेत्र हुनुपर्ने प्रावधान छ ।


ADVERTISEMENT


यसअघि झापा, मोरङ, सुनसरी, इलाम र पाँचथर गरी पाँच जिल्लामात्र कार्यक्षेत्र रहेकामा बैंकको १६औँ वार्षिक साधारणसभाले क्षेत्र विस्तार गरी प्रदेशका १४ वटै जिल्ला वित्तीय कार्यक्षेत्र हुने निर्णय गरेको छ ।


ADVERTISEMENT

# # #


सत्र वर्षअघि रु दुई करोड पूँजीमा स्थापित यो बैंकले आफ्ना एक लाख ७० हजारभन्दा बढी ग्राहकलाई ४४ शाखाबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ । ग्राहकको सेवामा समर्पित हुनुपर्छ भन्ने मान्यतामा उभिएर आफ्ना गतिविधि गरिरहेको एक्सेलमा २६६ कर्मचारी कार्यरत छन् ।

बैंकको साधारणसभाले कम्पनीको जारी र चुक्ता पूँजी  एक अर्ब १५ करोड १७ लाख ९२ हजार १३९ रुपैयाँबाट बढाएर  एक अर्ब २४ करोड ९६ लाख ९४ हजार ४७० रुपैयाँ पुर्याउने निर्णय गरेको छ ।

साधारणसभामा बैंक सञ्चालक समितिका अध्यक्ष महेन्द्रकुमार गोयलले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनका अनुसार आव २०७८ चैतसम्ममा बैंकले  ११ अर्ब २५ करोड ९४ लाख ९७ हजार रुपैयाँ निक्षेप सङ्कलन र  १० अर्ब ६९ करोड ८९ लाख ५८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । सोही अवधिसम्मको बैंकको खुद नाफा  १० करोड ५८ लाख ६५ हजार रुपैयाँ रहेको जनाइएको छ ।

साधारणसभामा कम्पनीका पूर्वअध्यक्ष हेमराज ढकाल, सञ्चालक राजन शर्मा, सञ्चालक पर्शुराम दाहाल, प्रमुख कार्यकारी अधिकृत डा इन्द्रकुमार कट्टेल, पूर्वसञ्चालक सुरेश बंशल, पूर्वसञ्चालक डा रुपक खनाललगायतले मन्तव्य व्यक्त गरेका थिए । साधारणसभाले ८.५० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने र बोनस शेयरको कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्नेसमेत निर्णय गरेको छ ।