गण्डकी – “रुपाको रुप झिल्केछ छ बेग्लै बेगनासको, फेवा प्रकृतिको पेवा के खोजी अरू तालको ?”


ADVERTISEMENT


तालै तालको पर्यटकीय सहर पोखराका तालको चर्चा गर्दै कवि मुकुन्दशरण उपाध्यायको वर्णनात्मक काव्य प्राकृत पोखरामा उल्लेखित कविताको पङ्क्ति हो यो । कविले भनेजस्तै यहाँका हरेक तालको आ–आफ्नै विशेषता छ ।


ADVERTISEMENT

# # #


सम्भावना नै सम्भावना भएर पनि अपेक्षितरुपमा यहाँका तालको उपयोग भने हुन नसकेको वास्तविकतामा रुपातालको माथि झोलुङ्गे पुल निर्माण गरिएको छ । पोखरा महानगरपालिका वडा नं ३१ पचभैयाको सिमलडाँडादेखि रुपा गाउँपालिका–७ भङ्गारा जोड्ने झोलुङ्गे पुल गण्डकी प्रदेश सरकारको सहयोगमा निर्माण भएको छ ।

पुलको एक कार्यक्रमबीच आज उद्घाटन गर्दै गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले तालमाथिको झोलुङ्गे पुल कास्कीको पोखरा महानगरपालिका र रुपा गाउँपालिकालाई जोड्ने मात्र नभै एउटा पर्यटकीय गन्तव्यका रुपमा समेत विकास हुने विश्वास व्यक्त गरे ।

यस स्थानमा झोलुङ्गे पुल निर्माणका लागि लामो समयदेखि प्रयास हुँदै आएको जनाउँदै उनले पुल निर्माणसँगै यस क्षेत्रको पर्यटकीय विकासमा टेवा पुग्ने बताए। यस स्थानमा झोलुङ्गे पुल निर्माणको चर्चा आजभन्दा २५ वर्षअघिदेखि निरन्तररुपमा चलेको पचभैया सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दिनानाथ ढकाल बताउँछन् ।

विसं २०४४ मा पचभैयामा अमरसिद्ध स्कुल सुरु गर्दा विद्यार्थी माग्न लामास्वाहाँरा, भङ्गारालगायतका स्थानमा पुग्दा त्यहाँका स्थानीयले पुलको माग गरेको स्मरण गर्दै उनले त्यसै बेलादेखि पुलको आवश्यकताले चासो र चर्चा पाएको बताए । “भङ्गराबाट विद्यार्थी पठाउन स्थानीयवासी तयार भएपछि हामीले तत्कालीन अवस्थामा पचभैयाको वनका सिमलका रुख काटेर आवतजावतका लागि डुङ्गा बनाएका थियौँ”, तत्कालीन समय स्मरण गर्दै उनले भने, “यति लामो समयपछि पुल बनेको छ, यसले आवतजावत त छँदैछ, तालमाथिको पुल भएका कारण यसले यहाँको पर्यटकीय विकासमा पनि टेवा पुर्याउने पक्का छ ।”

पुल निर्माणसँगै रुपाको भङ्गरा आसपासका विद्यार्थी आगामी दिनमा १५ मिनेटकै समयमा पचभैयास्थित अमरसिद्ध माविमा आएर कक्षा ११ र १२ सम्मको अध्ययन गर्न पाउनेछन् । झोलुङ्गे पुल यहाँको लामो समयदेखिको आवश्यकता रहेको पोखरा–३१ का वडाध्यक्ष ढकनाथ कँडेलले बताए । पुलले आसपासमा सञ्चालित रुपाकोट रिसोर्ट, बेगनास रिसोर्टजस्ता गन्तव्यसँगै यस क्षेत्रको पर्यटकीय विकासमा टेवा पुग्ने उनले बताए ।

बेगनासताल धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष ध्रुवनाथ अधिकारीले लामो समयदेखिको प्रयासमा सम्पन्न झोलुङ्गे पुलले यस क्षेत्रको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने बताए । पुल निर्माणसँगै आगामी दिनमा यहाँ आउने पर्यटक झोलुङ्गे पुलबाटै रुपातालको अवलोकन गर्न पाउने छन् । सात तालको बगैँचा यस सहरमा रहेको यो ताल रामसार सूचीमा सूचीकृत छ ।

सूर्यको किरणसँगै रुपातालमा पानीको रुपमा परिवर्तन आइरहने भएका कारण यसको नाम रुपाताल रहन गएको स्थानीयवासी बताउँछन् । रुपाताल प्राकृतिक सुन्दरताका दृष्टिले मात्र नभएर माछाका लागि पनि यतिखेर पर्यटकको आकर्षण गन्तव्य बनेको छ । यहाँका माछाको स्वाद लिन पनि दैनिक पर्यटक आउने गरेका छन् ।

सार्वजनिक बिदाका दिनका साथै अधिकांश शनिबारका दिन रुपाताल किनारमा माछा खान जानेको सङ्ख्या बढ्दै गएको स्थानीयवासी बताउँछन् । प्रेमी–पे्रमिकाको भेटघाटका लागि पनि पछिल्लो समयमा आकर्षणको केन्द्र बन्दै गएको यो तालमा स्वीमिङ र फिसिङका लागि पनि पर्यटक पुग्ने गरेका छन् ।

तालमा आउने चराचुरुङ्गी पर्यावरणीय अवलोकनकर्ताका लागि गजबकै आकर्षण बन्न सक्ने विश्वास लिइएको छ । रुपाताल किनारका जङ्गललाई समेटेर बनाइएको अन्तर्राष्ट्रियस्तरको खुला चिडियाखाना पनि यहाँको अर्को आकर्षण हो ।

चिडियाखानामा आउनेले यहीबाट हिमाली दृश्यावलोकनसहित तालको अवलोकन गरी रमाउन सक्छन् । ताल, चिडियाखानासँगै यहााका पचभैया देउराली, पचभैया कोट मङ्गलधर्म चक्र बौद्ध गुम्बा यहाँका धार्मिक पर्यटकीय गन्तव्य हुन् ।

रुपाताल आसपासका क्षेत्रको जङ्गलमा तीन सय ६१ प्रजातिका वनस्पति, एक सय ७५ प्रजातिका जडीबुटी पाइनुका साथै बाघ, मृग, अजिङ्गरजस्ता जनावर पाइन्छन् । एक सय ३४ जातका वन्यजन्तु तथा चराचुरुङ्गी पाइने यो क्षेत्रमा बनेको झोलुङ्गे पुलजस्ता संरचनाले आगामी दिनमा पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ । रासस