-डा. मनोज बोहरा


ADVERTISEMENT


केही समय अघिसम्म पनि टाउको वा मस्तिष्कघातको उपचार गर्दा टाउको चिरेर गर्नुपर्ने बाध्यता थियो । यद्यपि विगत केही वर्षयता यस पद्दतिको शुरु भएसंगै नशासम्बन्धी टाउको वा मस्तिष्कको उपचार शल्यक्रिया बिना अझ भनौं टाउको नचिरेरै सफल रुपमा गर्न सकिने भएको छ । जसलाई नै चिकित्सा क्षेत्रमा ‘न्यूरो-इन्टरभेन्सन’ पद्धति भनिन्छ ।

‘न्यूरो-इन्टरभेन्सन’ मस्तिष्क रोगको क्षेत्रमा भित्रिएको यस्तो नयाँ उपचार पद्धति हो, जसले चिकित्सा क्षेत्रमा मस्तिष्कका रक्तनलीको उपचार गर्दा टाउको चिर्नुपर्ने अवस्थालाई कम गराएको छ । यस उपचार पद्धतिअन्तर्गत बिरामीको हात वा खुट्टा लगायतका रक्तनलीको माध्यम हुँदै इक्युप्मेन्ट्स (उपकरणहरु) मस्तिष्कमा लगेर उपचार गरिन्छ ।


ADVERTISEMENT

# # #


नेपालमा २-३ वर्ष अघिसम्म मात्रै पनि यस किसिमका रोगको उपचार टाउको चिरेर नै गरिन्थ्यो । यद्यपि हाल भने यो विधि भित्रिएसंगै यस्तो किसिमको मस्तिष्कघातको उपचार अझै प्रभावकारी तथा जटिलतारहित भएको छ ।

कस्ता बिरामीमा लाभदायिक ?

मस्तिष्कमा जाने नसाहरु खुम्चिएर वा रगत प्रवाह नभएर हुनसक्ने रोगहरुमा न्यूरो-इन्टरभेन्सनको उपचार विधि प्रयोग हुँदै आएको छ । यसको प्रयोग विशेषतः निम्न समूहहरुमा गरिन्छ :

मस्तिष्कघातका बिरामीहरु

अंग्रेजीमा ‘स्ट्रोक’ भनिने मस्तिष्कघातमा शरीरको एउटा पाटो नचल्ने अर्थात् प्यारालाईसिस हुने समस्या देखिन्छ । यसरी प्यारालाईसिस तथा स्ट्रोकको लक्षण देखिएको व्यक्तिमा ६ घण्टाभित्र नै उपचार गरिसक्नुपर्ने भएकाले यी बिरामीहरुमा समयको विशेष महत्व रहन्छ । यद्यपि पछिल्लो समय भएका नयाँ खोज एवम् सर्वेक्षणहरुले देखाएको अनुसार हामीले यो रोग लागेको २४ घण्टाभित्र पनि उपचार सुरु गर्न सकिने बताएको छ । तर, अधिकांश गाइडलाईनहरुमा भने बिरामीको उपचार ६ घण्टाभित्रमा सुरु गर्न सकेमा त्यसको लाभ अधिक देखिने बताएको छ ।

तसर्थ न्यूरो-इन्टरभेन्सनको माध्यमबाट मस्तिष्कमा अवरोध भएका रक्तनलीहरु खोली पुनः रगत सञ्चालन गर्ने उपचार निकै प्रभावकारी रहेको देखिन्छ । र, यसरी न्यूरो-इन्टरभेन्सनको माध्यमबाट समयमै उपचार गर्न सकिएका बिरामीहरुमा प्यारालाईसिसको समस्या पूर्ण रुपमा निको भएका उदाहरणहरु प्रशस्त छन् ।

ब्रेन ह्यामरेजका बिरामीहरु

मस्तिष्कका कुनै पनि नसाहरु फुटेर देखिने समस्या नै ‘ब्रेन ह्याम्रेज’ हो । सरल भाषामा भन्नुपर्दा, ‘ब्रेन एन्युरिज्म’ भनेको विविध कारणवश् मस्तिष्कका नसाहरु क्रमिक रुपमा फुक्दै गएर यो बेलुन जस्तो भएर फुलिने रोग हो । जुन पछि गएर फुट्ने सम्भावना रहन्छ । र, यसपश्चात् भने व्यक्तिमा ‘ब्रेन ह्यामरेज’ हुन्छ ।

तसर्थ यस्तो रोगमा न्यूरो-इन्टरभेन्सनको माध्यमबाट टाउको नखोलीकनै फुटेको रक्तनलीलाई भित्रबाट टालेर उपचार गरिन्छ ।

न्यूरो-इन्टरभेन्सनले ‘एन्युरिज्म’ बाहेक रगतका नसा र अन्य धेरै किसिमका रोगहरुको उपचारलाई सहज बनाएको छ ।

न्यूरो-इन्टरभेन्सबाट हुने अन्य उपचार

न्यूरो-इन्टरभेन्सनका माध्यमबाट ‘एन्जिओप्लाष्टि’ भनिने खुम्चिएका नसाहरु फुलाउने प्रक्रिया मस्तिष्कभित्र नै पनि गर्न सकिन्छ । यसअन्तर्गत मस्तिष्कमा रक्तप्रवाह गर्ने घाँटीमा खुम्चिएका मुल नसाहरुमा स्टेन्ट हालेर नसालाई फुलाइन्छ । र ,यसरी नसा फुलाइएकै कारण त्यसले मस्तिष्कमा उचित रुपमा रक्त सञ्चालनमा सघाउ पुर्याउँछ ।

यसका विशेषताहरु

यसका विशेषताको सन्दर्भमा भन्नुपर्दा, यो बिरामीको टाउको नचिरीकन गरिने उपचार भएकाले यसबाट शल्यक्रियाका लागि बिरामीलाई एनेस्थेसिया (बेहोस बनाइने पद्धति) मा लैजानुपर्ने समयको कटौतीसंगै त्यसका लागि दिनुपर्ने औषधिको मात्रा पनि कम हुन्छ । संगै व्यक्तिमा एनेस्थेसियाका कारण देखापर्ने सम्भावित प्रभावहरु पनि न्युन भएर जानु यसको अर्को विशेषता हो ।

अर्को भनेको यस विधिमा चिरफार गर्न नपर्ने भएकाले बिरामीमा घाउ संक्रमणको भय रहदैँन भने उपचारपछि बिरामीमा छिट्टै स्वास्थ्य लाभ हुने सम्भावना प्रबल रहन्छ । जसले बिरामीको अस्पतालको बसाई त, छोटिन्छ नै संगै त्यसबाट अस्पताल बसार्ईका क्रममा लाग्ने लागत पनि कम पर्न जान्छ ।

नेपालमा यसको अवस्था र चुनौती

विश्वमै नयाँ पद्दति मानिने न्यूरो-इन्टरभेन्सन विधि नेपालमा भित्रिएको भर्खरै ३-४ वर्ष भएको छ । जसकारण पनि यो सेवा नेपालको सबै अस्पतालहरुमा उपलब्ध छैन ।

यसर्थ हाम्रो अनुभवका आधारमा भन्ने हो भने यसको सबैभन्दा ठुलो चुनौती भनेकै बिरामी समयमा अस्पताल नआइपुग्नु हो । बिडम्बनाका साथ भन्नुपर्छ, नेपालको सन्दर्भमा भौगोलिक, सामाजिक, प्राविधिक तथा आर्थिकलगायत अन्य विविध कारणवश् बिरामीलाई अस्पताल पुर्याउन नै निकै ढिलो भइसकेको हुन्छ ।

अघि भनिए झैं स्ट्रोकको समस्यामा हामीले ६ घण्टाभित्र उपचार गर्न सकेको खण्डमा एकदमै राम्रो नतिजा पाउन सक्छौं । त्यसैगरी २४ घण्टा कटिसकेको अवस्थामा त यस विधिबाट उपचार गर्नै मिल्दैन ।

तसर्थ यस विधिबाट प्रभावकारी लाभ लिनका लागि समयको अत्यन्तै महत्व हुने भएकाले बिरामी छिटोभन्दा छिटो अस्पताल पुग्न जरुरी हुन्छ ।
यसबाहेक आर्थिक पक्षलाई यसको अर्को चुनौतीको रुपमा लिन सकिन्छ । न्यूरो-इन्टरभेन्सन उपचार पद्धतिको अथाह फाइदा भएपनि उपचार खर्च भने अन्यको तुलनामा धेरै छ ।

यस उपचारका लागि आवश्यक अधिकांश उपकरणहरु विदेशबाट आयात गरिएकाले पनि यो उपचार महङ्गो पर्न गएको हो । यद्यपि बिरामीले प्यारालाइसिस भएर जिन्दगीभर उठाउने भार तथा समस्याहरुका बारेमा सोच्ने र सीपमूलक दैनिकीमा फर्कन सक्ने अवस्थालाई हेर्ने हो भने त्यसको तुलनामा भने यो सस्तो पर्न जान्छ ।

मस्तिष्कघातले निम्त्याउने जोखिबाट बच्न ध्यान दिनुपर्ने पक्षहरु: 

मस्तिष्कसम्बन्धि देखिने रोगहरुबाट बच्ने प्रमुख उपाय भनेकै यसका कारणहरुबाट टाढा रहनु हो । यसका लागि व्यक्तिले निम्न पक्षमा विशेष ध्यान दिनुपर्छ :
–स्वस्थ्य तथा गुणस्तरीय जीवनशैलीलाई प्राथमिकता दिने,

–आणुवंशिकका कारण पनि यो रोगले व्यक्तिलाई सताउने हुँदा परिवारका सदस्यमा मस्तिष्कसम्बन्धि समस्या देखिएका व्यक्तिहरु यसबारे चनाखो रहने,

– सबैभन्दा महत्वपूर्ण प्यारालाईसिस, आँखाको दृष्टि गुम्नु, हिड्दा ब्यालेन्स नमिल्नु, अत्यन्त रिङ्गटा लाग्नु, मुख बागिंनु, बोली लरबरिनु र बेहोस हुनुलगायतका लक्षण मस्तिष्कघातका संकेत भएकाले यस्ता लक्षण देखापर्ने बित्तिकै बेवासता नगरी सम्भव भए स्ट्रोकको सुविधायुक्त नभए नजिककैको कुनै अस्पतालमा पनि जाने ।

समग्रमा, समयमै उपचार गर्न सकेमा मस्तिष्कघातबाट हुने मृत्युदर तथा यसका जटिलतालाई धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ ।

(डा. बोहरा काठमाडौँस्थित ह्याम्स अस्पतालका वरिष्ठ न्युरोसर्जन तथा न्यूरो-इन्टरभेन्सनालिष्ट हुन् ।)