काठमाडौँ – लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निर्माण भएको नयाँ प्रसूति भवन सञ्चालनमा आएको छ । सहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय आयोजना कार्यान्वयन एकाइले निर्माण गरेको यो भवन आजदेखि सञ्चालनमा आएको हो ।


ADVERTISEMENT


सहरी विकासमन्त्री मेटमणि चौधरी र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुुङले संयुुक्तरुपमा चार तले सुविधा सम्पन्न प्रसूति भवनको उद्घाटन गर्दै अस्पताललाई हस्तान्तरण गरेका हुन् । प्रसूतिका लागि भरपर्दो मानिएको उक्त अस्पतालमा शय्या अभाव भएको गुनासो आएपछि एक सय ५० शय्याको प्रसूति भवन निर्माण गरिएको हो ।


ADVERTISEMENT

# # #


सहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय आयोजना तथा कार्यान्वयन एकाइले रु २६ करोड ५१ लाख ७५ हजार लागतमा भवन निर्माण गरेको हो । उद्घाटन समारोहमै मन्त्रीद्वयको उपस्थितिमा आयोजना एकाइ कार्यालयले लुम्बिनी प्रादेशिक अस्पताललाई भवन हस्तान्तरणसमेत गरेको छ । कार्यक्रममा सहरी विकासमन्त्री चौधरीले प्रसूति भवनले बुुटवल र यस आसपासका बिरामीलाई ठूलो राहत पुुग्ने बताए । उनले भवनको अधिकतम उपयोग गर्न अस्पताललाई आग्रह गरे । अस्पतालले बिरामीलाई सहजरुपमा सर्वसुलभ र गुणस्तरीय सेवा दिनुपर्ने मन्त्री चौधरीले बताए ।

स्वास्थ्यमन्त्री खापुुङले मुटुु, मिर्गौला तथा क्यान्सरजस्ता रोगका कारण बर्सेनि पाँच लाख नेपाली गरिबीको रेखामा पर्ने गरेको तथ्याङ्क देखिएको जनाउँदै अब सरकारी अस्पतालको सेवा गुणस्तरीय बनाउनुुपर्ने बताए । उनले स्वास्थ्य मानव सेवा भएकाले भवन निर्माणले आमा र बच्चाको स्वास्थ्यमा गुणस्तरीय सेवा दिने विश्वास व्यक्त गरे । मन्त्री खापुङले सरकार नागरिकको स्वास्थ्यमा संवेदनशील रहेको बताए ।

सहरी विकास मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंह, लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विकास देवकोटा, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतले प्रसूति भवन निर्माणले अस्पतालको सेवालाई गुणस्तरीय बनाउन टेवा पुुग्ने बताए। कार्यक्रममा सङ्घीय आयोजना कार्यान्वयन एकाइका प्रमुख रमेश थिङले विसं २०७५ मा सम्झौता भएको भवन निर्धारित समयमै सम्पन्न भएको जानकारी दिए ।

अस्पतालका मेडिकल सुुपरिटेन्डेन्ट डा इन्द्र ढकालले सुविधा सम्पन्न प्रसूति भवन बनेकाले यसले नागरिकलाई राहत पुुग्ने बताए । उनका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा वार्षिक १३ हजारले प्रसूति सेवा लिने गरेका छन् । अपाङ्गमैत्री र लिफ्टको व्यवस्था रहेको भवनमा इर्मेजेन्सी, आइसियु, एनआइसियु, मेजर एण्ड माइनर, ओटी, पोस्ट शल्यक्रिया कक्ष, मातृशिशुु वार्ड, सम्पूर्ण बच्चाको खोप लगाइनेलगायतका कक्ष बनाइएको छ ।