काठमाडौँ– काठमाडौँ धुम्बाराहीस्थित ह्याम्स अस्पतालले नर्सका लागि पहिलोपटक इन्फेक्सन कन्ट्रोल (संक्रमण रोकथाम तथा नियन्त्रण) सम्बन्धी तालिम शुरु गरेको छ । अस्पतालले आइतबार एक समारोहबीच इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपालको सहकार्यमा नर्सका लागि पहिलो पटक यस किसिमको विशेष तालिम शुरु गरिएको जानकारी दिएको हो ।


ADVERTISEMENT


कार्यक्रममा बोल्दै ह्याम्सकी नर्सिङ निर्देशक वरुणा पौडेलले अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि इन्फेक्सन कन्ट्रोल असाध्यै महत्वपूर्ण हुने बताइन् । यसका लागि तालिम प्राप्त नर्सको खाँचो पर्ने भएकाले उक्त आवश्यकता मध्यनजर गर्दै ह्याम्समा पनि सो प्रशिक्षण शुरु गरिएको उनको भनाई छ ।


ADVERTISEMENT

# # #


अस्पतालमा संक्रमण फैलिन नदिन यसरी तालिम प्राप्त नर्सले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउँदै उनले भनिन्, ‘अहिले हरेक अस्पतालमा इन्फेक्सन कन्ट्रोल विभाग छुट्याउनैपर्छ । र तालिम प्राप्त नर्स पनि हुनुपर्छ । त्यसैले पनि यस खालको तालिम उच्च स्तरको सेवा दिनका लागि अनिवार्य जस्तै भएको छ ।’

पौडेलका अनुसार, बीएस्सी नर्सिङ तथा बीएनका तर्फबाट कुल १७ जना नर्स सहभागी जनाएको उक्त तालिमको अवधि ३ महिना रहनेछ । जसअन्तर्गत सो अवधिमा सहभागीले पहिलो ६ हप्ता आधारभूत तालिम तथा अर्को ६ हप्ता विशिष्टीकृत पढाई हासिल गर्नेछन् ।

यस्तै, आफ्नो अस्पतालले बिरामीको गुणस्तरीय सेवा पाउने अधिकार सुनिश्चित गर्न कुनै पनि कसर बाँकी नराख्ने अस्पतालका अध्यक्ष आरएस भण्डारीको भनाई छ । ‘सोही बमोजिम अस्पतालमा विभिन्न विशिष्टीकृत तालिमहरु शुरु गरेका हौँ, उनले सुनाए । यसअघि पनि नर्सका लागि क्रिटिकल केयर सम्बन्धी विशिष्टीकृत तालिम समेत गरिसकेको जानकारी दिदैँ उनले आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिइने बताए ।

यससंगै ह्याम्स‘ इन्फेक्सन कन्ट्रोल’ सम्बन्धी तालिम लिने नेपालकै तेस्रो ब्याच समेत बनेको छ । यसअघि नेपालमा दुई वटा ब्याचले सोसाइटीसँगको सहकार्यमा तालिम लिइसकेका छन् ।