काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायतका राजदूतसहित अष्ट्रेलिया, स्वीट्जरल्याण्ड र युरोपेली सङ्घका निमित्त राजदूतहरूले आज एमाले पार्टी कार्यालय, च्यासलमा सामूहिक भेट गरेका छन् ।


ADVERTISEMENT


भेटमा राजदूतहरूले नेपाल सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्न लागेको सन्भर्दमा प्रमुख विपक्षीको भूमिकाका विषयमा जिज्ञासा राखेका थिए । सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्दा अन्तर्राष्ट्रियस्तर र मान्यतामा ध्यान पुर्याउनुपर्छ भन्ने उनीहरूको चासो रहेको थियो । नेपालले अन्तर्राष्ट्रिय जगत्मा गरेको प्रतिबद्धताबमोजिम पीडितको आवाज सम्बोधनको व्यवस्था ऐनमा हुनुपर्ने र त्यसका लागि एमालेको प्रभावकारी र महत्वपूर्ण भूमिका रहोस् भन्ने उनहरूको भनाइ थियो ।


ADVERTISEMENT

# # #


सो अवसरमा अध्यक्ष ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन निर्माण र संशोधनको काम गर्दा संसद्को सम्पूर्ण प्रक्रिया पूरा गरेर गर्नुपर्छ भन्ने एमालेको धारणा रहेको बताए । अध्यक्ष ओलीले यस्ता महत्वपूर्ण विधेयकहरू छोटो प्रक्रियाबाट अगाडि बढाउनु न्यायोचित नहुने स्पष्ट गरे ।

यो समस्या गठबन्धन सरकार र गठबन्धनमा रहेका दलहरूको मात्र नभई देशकै समस्या भएकाले बहुमत–अल्पमतको आधारभन्दा माथि उठेर एकताका साथ टुङ्ग्याउनुपर्छ भन्ने एमालेको धारणा रहेको अध्यक्ष ओलीले स्पष्ट गरे ।

भेटवार्तामा अध्यक्ष ओलीसँगै रहेका पार्टीका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले यस विषयमा सर्वोच्च अदालतले के फैसला गर्छ, त्यसलाई हेर्नुपर्ने र नेपालले अन्तर्राष्ट्रिय जगत्मा गरेको प्रतिबद्धताअनुसार प्रक्रिया अगाडि बढाउनुपर्नेलगायत विषय राखेका थिए ।

पूर्वप्रधानमन्त्री ओलीसँग अमेरिकी राजदूत र्याण्डी बेरी, बेलायतका राजदूत निकोला पोलिटलगायतले गरेको भेटवार्तामा अध्यक्ष ओलीसहित उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ, उपमहासचिव विष्णु रिमाल र परराष्ट्र मामिला विभाग सचिव डा अञ्जान शाक्य सहभागी थिए ।