काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेर निर्वाचनमा जाने निर्णय गरेको छ । ललितपुरको च्यासलमा शुक्रवार र शनिवार बसेको केन्द्रीय कमिटी बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा ओलीलाई प्रधानमन्त्री उम्मेदवारको रूपमा अघि सार्ने निर्णय गरेको केन्द्रीय सदस्य किरण गुरूङले जानकारी दिए ।


ADVERTISEMENT


त्यसैगरी, अध्यक्ष ओलीको नेतृत्वमा एकल बहुमतको सरकार निर्माण गर्ने गरी चुनावी अभियान सञ्चालन गर्ने निर्णय पनि एमालेले गरेको छ ।बैठकले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ । केन्द्रीय कमिटी बैठकले उम्मेदवारको सिफारिस प्रक्रिया पनि तय गरेको छ ।


ADVERTISEMENT

# # #


यसैबीच अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित बनेका नेताहरूलाई यसपटक दोहोर्‍याएर समानुपातिक उम्मेदवार नबनाउने निर्णय पनि एमालेले गरेको छ ।

निर्वाचनको उम्मेदवारको सिफारिस गर्दा जिल्लाको सम्बन्धित प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस गर्ने एउटा मात्र निर्वाचन क्षेत्र रहेका जिल्लाहरूले जिल्ला कमिटीको बैठकबाट उम्मेदवार सिफारिस गर्ने मापदण्ड तय गरिएको छ ।

प्रदेशसभा सदस्यको उम्मेदवार सिफारिस पनि सोहीबमोजिम सम्बन्धित निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले गर्ने गरिएको सिफारिसमा सम्बन्धित जिल्ला कमिटी र प्रदेश कमिटीले आफ्नो अन्य राय भए सोसमेत उल्लेख गरेर सिफारिस गर्ने भनिएको छ ।

त्यसरी भएको सिफारिसमाथि अन्तिम निर्णय केन्द्रले गर्ने तय गरिएको छ । प्रत्येक निर्वाचन क्षेत्रबाट तोकिएको मापदण्ड पूरा गरेका कम्तिमा एकजना महिलासहित तीनजना उम्मेदवारको नाम सिफारिस गर्ने मापदण्ड एमालेले बनाएको छ ।

समानुपातिकतर्फको बन्दसूचीका लागि उम्मेदवारको प्रस्ताव पठाउँदा सन्तुलन, समावेशीता र अवसरको न्यायोचित वितरणलाई समेत ध्यानमा राखी सम्बन्धित जिल्ला कमिटीको बैठकबाट सिफारिस गर्ने गरी मापदण्ड एमालेले बनाएको छ ।