-सिन्धुली


ADVERTISEMENT


‘सुनको चुरा, औंठी नि सुनकै छ…’


ADVERTISEMENT

# # #


तीज गीत घन्किरहेको थियो, सिन्धुलीमाढीस्थित सीताराम पार्टी प्यालेसमा । कार्यक्रम हलमा टाँगिएको थियो, एउटा व्यानर । व्यानरमा लेखिएको थियो ‘अपाङ्गता भएका महिलाहरुको लागि शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम ।’

कार्यक्रममा सहभागी थिए, सुनाइ, बोलाइ र हिँडाइसम्बन्धी समस्या भएका महिलाहरु । श्रवण क्षमता कम भएका महिलाहरु घन्किरहेको गीतमा झुम्न सकेका थिएनन् । कारण थियो, गीत बजेको पत्तो नहुनु ।

हिँडाइसम्बन्धी समस्या भएका केही महिलाहरु ह्विलचियरबाट उठ्न सकेका थिएनन् । एकापट्टीको खुट्टा मात्र गुमाएकी दिपा कार्यक्रम हलको कुर्सीमा बसेर सबै सार्थीहरुलाई नचाउन उस्काइरहेकी थिइन् ।
घन्किरहेको गीतको शब्द, सुनको चुरा औंठी नि सुनकै छ,

माया जालमा परेकी क्या हो म,
दिनरात झझल्को उनकै छ ।
‘हे, मनको कुरा गाह्रो भो खोल्न,
क्यारी भनु थाल्यो नि मन पोल्न,
सुनको चुरा औंठी नि सुनकै छ ।
माया जालमा परेकी क्या हो म,
दिनरात झझल्को उनकै छ ।’

यस गीतले तान्यो, कमलामाई नगरपालिका–७ माझिटारकी ह्विलचियर प्रयोगकर्ता गोमादेवी कार्की (चमलादेवी) लाई । गायत्री थापाको शब्द, उनकै सङ्गीत । राजमजी खाण र देवी घर्तीको स्वर ठूलो आवाजमा बजिरहँदा उनलाई यो हरफले मन छोयो । आफ्नै कथा गीतमा भनिदिए झैँ लाग्यो ।

‘शौचालय जाँदा लडेर मेरुदण्ड भाँचिएदेखि हास्न सकेको छैन । कम्मरमुनिको अङ्ग चल्दैन, नाच्नु कसरी ?’ आँखा आँसुले भरियो । उनी निःशब्द भइन् । केही समयपछि तीजको रमझममा रमाउने उपाय बुन्न थालिन् । दुःख, पीडालाई बेवास्ता गरेर हाँस्ने जाँगर बढाइन् । सुनको चुरा नभएपनि औँठी र रिङ सुनकै छ भनेर ठट्यौली गर्न थालिन् । ह्विलचियरमा बसेरै पाखुरा भाँचीभाँची नाच्न शुरु गरे । अन्य साथीसङ्गीले ताली पिटेर साथ दिए । कार्यक्रमस्थल हाँसोले भरियो । सबैको अनुहारमा उमङ्गता छायो ।

फराकिलो हृदय मात्र होइन् फरासिलो स्वभावले भरिपूर्ण भएकी चमलादेवीलाई गीतले भने झैँ मनको कुरा खोल्न गा¥हो भएपनि तीजको कुरा बोल्न केहिले छेकेन । उमेरले ६९ वर्ष पार गर्नै लाग्दा श्रीस्वस्थानीको महिनामा जन्मेको भएर आफ्नो नाम गोमा कार्की राखेदेखि ४० वर्ष कटेपछि रमाउन नपाएको तीजका कुरा खुलेर सुनाइन् ।

‘नारी जातिको पर्व हो तीज । साथीसङ्गी जम्मा भएर रातो सारी लर्खाउँदै बारुले कम्मर मर्काएर पाउजु बजाउँदै छमछमी नाचिन्थ्यो,’ अपाङ्गता हुनुअघिको तीजलाई सम्झिइन्। झन्डै २५ वर्षपछि सार्थीसङ्गीसँग तीज मनाउन पाएको खुशियालीले उहाँलाई फेरी एक्छिन भावुक बनायो ।

‘तीजको व्रत बस्ने अघिल्लो दिन रातको १२ बजेसम्म दर खाएर बस्थ्यौँ । भोलिपल्ट तीन सय जना महिला जम्मा भएर खोलामा नुहाउन जान्थ्यौ । बाटोबाटो नाँच्दै शिव मन्दिर पूजा गर्न पुग्थ्यौँ । नाच्दैनाच्दै घर फर्किन्थ्यौँ । गाउँमा सबैभन्दा फराकिलो आँगन जसको घरमा छ, उसैकोमा दिउँसो सामूहिक पूजा लगाइन्थ्यो । रातभर जाग्राम बस्थ्यौँ । त्यो बेलाको जस्तो रमाइलो अहिलेको तीजमा कहाँ छ र छोरी ?,’ उनले सुनाइन् ।

उबेला मनाइने तीज र यो बेला बनाउँदै गरिएको तीजबीचको फरक तुलना गर्दाका क्रममा चमलादेवीको अगाडि खीर, अचारलगायतका परिकार आयो । पहिलो चम्चा खीर निल्दै उनले भनिन्, ‘मीठो रहेछ । यसरी पार्टी प्यालेसमा आएर दर खाएको आजै हो ।’

उनी मात्र कहाँ हो र ? उनकै छेउमा रहेका तथा अपाङ्गता भएका महिलाहले पनि आफूहरुको पहिलो अनुभव भएको सुनाए । यसरी, उस्तैउस्ता र पीडा मिल्दाजुल्दा भएका साथीसङ्गीसँग बसेर सुविधायुक्त ठाउँमा तीज मनाउन पाउनु आफूहरुका लागि हर्षको कुरा भएको सुस्त श्रवण शक्ति भएकी सुनिता दाहालले बताइन् ।

अपाङ्गता भएका महिलाको लागि शुभकामना आदाप्रदान तथा दर खाने कार्यक्रम सिन्धुली जिल्लामै पहिलोपटक भएको सिन्धुली अपाङ्ग महिला सङ्घ, सिन्धुलीकी अध्यक्ष दिलकुमारी देवकोटा (दिपा) बताउँछिन् । ‘महिलालाई वर्षेनी दर खान स्थानीय सरकारले सरकारी सम्पति छुट्याउने गर्दछ । अपाङ्गगता भएका महिलाहरुलाई समेटिँदैन । सपाङ्गता भएका महिलाहरु कार्यालय, गाउँ तथा पार्टी प्यालेसमा मनाउँछन्,’ उनले भनिन्, ‘सपाङ्गता भएका महिलालाई जस्तै अपाङ्गगता भएका महिलाहलाई पनि तीज मनाउने रहर हुन्छ । त्यसैले यस वर्ष अपाङ्गगता भएका महिलाका लागि छुट्टै कार्यक्रमको आयोजना गर्नु परेको हो ।’


ADVERTISEMENT

#
#


अपाङ्गगता भएका महिलालाई सरकारी कार्यालयलेसम्म अपाङ्गगतासम्बन्धि बाहेकका कार्यक्रममा नसमेटेको उनको दुखेसो छ । कमलामाई नगरपालिकाले भने तीज मनाउन आर्थिक सहयोग गरेको आयोजकसमेत रहेका सिन्धुली अपाङ्ग महिला सङ्घ, सिन्धुलीले जनाएको छ । रासस

प्रतिकृया

प्रतिकृया