काठमाडौँ – पतञ्जली आयुर्वेद र आइएमईबीच रेमिटेन्स साझेदारी सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार भारतमा बसोबास गर्ने नेपालीले अब भारतभर रहेका पतञ्जली समूहमा आवद्ध विभिन्न १० हजार आउटलेटमा गएर सजिलै नेपाल पैसा पठाउन सक्नेछन् ।


ADVERTISEMENT


सम्झौता पत्रमा पतञ्जली समूहद्वारा प्रवर्द्धित भरुवा सोलुसन प्रालिका तर्फबाट निर्देशक डा. ऋषी कुमार र आइएमई इन्डिया तर्फबाट प्रमुख कार्यकारी अधिकृत गौतम नैथानीले हस्ताक्षर गरेका छन् । हरितालिका तीजको अवसरमा आयोजित एक विशेष कार्यक्रमकावीच मंगलबार दिल्लीमा उक्त समझदारी पत्र आदानप्रदान भएको हो ।


ADVERTISEMENT

# # #


समझदारी पत्र आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै स्वामी रामदेवले साझेदारीले भारत–नेपालबीचमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई बलियो बनाउने र नेपालीहरूलाई उनीहरूको परिवारका सदस्य वा नातेदारहरूलाई पैसा पठाउनको लागि एक सुविधाजनक एवम् सहज माध्यम थपिएको बताए ।

यस्तै आचार्य बालकृष्णले साझेदारी पतञ्जली समूह र यसको संस्था भरुवा सोलुसन प्रालिले प्रदान गर्ने वित्तीय सेवामा एउटा अर्को उपलब्धि थपिएकोमा प्रशन्नता व्यक्त गरे । उनले भने, ‘यो निर्वाध ग्राहक यात्राको लागि म आइएमई ग्रुपलाई धन्यवाद दिन चाहन्छु । साझेदारी घोषणा गर्न पाउँदा मलाई असाध्यै खुसी लागेको छ ।’

यस्तै उनले नेपालका पतञ्जली केन्द्रहरूबाट पनि रेमिटेन्स सेवा प्राप्त गर्न सकिने उल्लेख गरे । बैंकको शाखा भ्रमणको बोझ एवम् लामो आवेदन फारम भर्ने तनाव वा कुनै औपचारिकता पुरा नगरी यस्तो सेवा लिन सकिने आचार्य वालकृष्णले बताए ।

प्रत्येक भारतीय सहरमा पतञ्जली आयुर्वेदका आउटलेटहरू भएकाले तिनीहरू व्यापक रूपमा पहुँचयोग्य रहेको र आउटलेटहरूमा सजिलो पहुँचको कारण भारतमा कार्यरत नेपालीहरूले पैसा पठाउने सेवाहरू प्रयोग गर्न कुनै पनि स्थानहरूमा जान सक्ने बताइएको छ ।

अब भारतमा बसोबास गर्ने नेपालीले अब नेपालमा रहेका आफ्ना परिवारलाई सहज रूपमा पैसा पठाउन सक्नेछन् र पठाएको रकम नेपालका आफन्तले आफ्नो बैंक खाता वा मोबाइल वालेटमा तुरुन्तै प्राप्त गर्न सक्नेछन् ।

नेपालभर विस्तारित संजाल भएको आइएमई पे वा आइएमई एजेन्टहरूबाट रेमिटेन्स प्राप्त गर्न सजिलो हुने विश्वास पतञ्जली आयुर्वेद र आइएमई इन्डियाले लिएका छन् ।