काठमाडौँ– उदयपुरमा एकै परिवारका तीन जनाको बिभत्स हत्या आरोपमा पक्राउ गरेका एक व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय उदयपुरले आइतबार पत्रकार सम्मेलन गर्दै उदयपुरको बेलका नगरपालिका वडा नं. ७ गोवाटार मैनामैनीमा गत भाद्र १७ गते शुक्रबार एकै परिवारका तीन जनाको बिभत्स हत्या आरोपमा पक्राउ परेका ४३ वर्षीय नरबहादुर बस्नेतलाई सार्वजनिक गरेको हो ।


ADVERTISEMENT

# # #


उदयपुरको वाबिङ खोलामा एकै परिवारका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षीय सरिता बस्नेत र १२ वर्षीय छोरा सुजन बस्नेतको धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा बस्नेतलाई प्रहरीले सोहि दिन नै घटनामा प्रयोग गरिएको हतियार सहित पक्राउ गरेको थियो ।

आरोपितले राजकुमार सहित उनकी श्रीमती र छोरालाई एकान्त स्थान बबिङ खोलाको धान खेत नजिक खुकुरी प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ । घटना बिहान साढे ११ बजे भएको भए पनि घटना एकान्त ठाउँमा भएका कारण प्रहरीले दिउसो ३ बजे मात्र घटना बारे जानकारी पाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी ज्ञानेन्द्र प्रसाद फुँयालले जानकारी दिए ।

पक्राउ परेका हत्या आरोपी बस्नेतलाई जिल्ला अदालत उदयपुरबाट ७ दिनको म्याद थप गरी मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।