शेर्पा समुदायमा पहिलो बामपन्थी परिवारसँग जोडिएको नाम हो लक्की शेर्पा । एकीकृत माओवादीकी केन्द्रीय सदस्य हुदै सिङ्गो हिमाली समुदायमा कम्युनिष्ट पार्टीबाट पहिलो पोलिटब्युरो सदस्य बनेकी उनी पछिल्लो समय आफ्नै मातृ पार्टी नेकपा एमालेमा विदेश विभाग सदस्यको रुपमा आबद्ध छन्  । विगत ४ दशक भन्दा बढी समयदेखि काठमाडौमा बसोबास गरिरहेकी शेर्पा हाल वातावरण र उर्जा सम्बन्धी बिषयमा विद्यावारिधी गर्दै छिन् ।


ADVERTISEMENT


शेर्पालाई विश्व युवा महासंघ, कोरिया र संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय महिला मानव अधिकार संगठन MADRE द्वारा २००७ को लागि शान्तिका लागि युवा राजदूत र ‘युवा महिला मानव अधिकार नेता’ को मान्यता प्रदान गरिनुको साथै सम्मानित गरिएको थियो। उनी आदिवासी शेर्पा समुदायबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्ने पहिलो महिला हुन् । त्रिभुवन विश्वविद्यालयको पाटन क्याम्पसबाट सन् २००१ मा अर्थशास्त्र संकायको कलेज टपर विद्यार्थी शेर्पा नेपालमा अमेरिकी दूतावास र वासिङ्टन डीसीको करुणा सेन्टर फर पिस बिल्डिङद्वारा आयोजित राजनीतिक नेतृत्वसम्बन्धी हालैको कार्यक्रममा आईएलओ, यूएनडीपी, यूएनइपी, यूएनएपफसीसीसी, सीबीडीद्वारा प्रदान गरिएका धेरै अन्तर्राष्ट्रिय तालिमहरूमा सहभागी भइन्।


ADVERTISEMENT

# # #


शेर्पा नेपालका राजनीतिक र सामाजिक अगुवा कार्यकर्ता, अष्ट्रेलिया र न्यूजील्याण्डका लागि पूर्व नेपाली राजदूत, नेपाल सरकारबाट राजदूत नियुक्त हुने पहिलो आदिवासी र हिमाली समुदायका महिला हुन् । राजनीति हुँदै कुटनीतिक क्षेत्रको यात्रा तय गरेर फेरि राजनीतितिरै फर्किएकी उनै लक्की शेर्पासँग वर्तमान राजनीतिक परिदृष्य, आगामी निर्वाचन लगायत समसामयिक विषयमा हिमालय पोष्टले कुराकानी गरेको छ ।

– निर्वाचनको घोषणा भइसकेको छ । एमालेलाई निर्वाचनले कत्तिको छोएको छ ?

एमालेलाई निर्वाचनले राम्ररी छोएको छ । लोकतान्त्रिक पद्धतिको सुन्दर पक्ष नै निर्वाचन भएकाले एउटा देशको जिम्मेवार पार्टीलाई निर्वाचन नलाग्ने कुरा नै भएन । पार्टीले यसभन्दा अघि पनि निर्वाचनको एजेण्डालाई उठाइरहेको थियो । निर्वाचनको मिति नै घोषणा भएपछि निर्वाचनका व्यापक कुराहरु पार्टीका नेता र कार्यकर्तामा भई नै रहेको पाएको छु । हामी उत्साहित भएर निर्वाचनमा होमिन लागेका छौं ।

– सबै पार्टीहरुमा उम्मेदवारहरुको घोषणा र सिफारिसहरु भई रहेका छन्, एमालेले चाहिँ उम्मेदवार कसरी छानिरहेको छ ?

पार्टीले उम्मेदवार छनोटका लागि एकखालको मापदण्ड बनाएको छ । केन्द्रीय कमिटीले यो कुरालाई निर्णय गरेसँगै जिल्लादेखि प्रदेशसम्म व्यापक छलफल गरेर उम्मेदवारको छनोट र सिफारिस भइरहेको छ । जिल्ला र प्रदेशले छलफल गरेर सिफारिस गरेका मध्येबाटै उम्मेदवार बनाउने भन्ने पार्टीको अवधारणा हो । जनवर्गीय संगठनहरु पनि यसमा प्रक्रियागत रुपमा लागिरहेका छन् । यसरी प्रक्रियामा गएर तलदेखि नै कार्यकर्ताको भावनालाई समेटेर उम्मेदवार बनाउने कुरा सकारात्मक भएको पाएको छु ।

– पार्टीले संघ, प्रदेश र समानुपातिकमा कस्ता उम्मेदवार बनाउनुपर्छ भन्ने ठान्नुहुन्छ ? 

पार्टीले विचारमा र साँच्चिकै व्यवहारमा पनि जनताको हित गर्न सक्ने उम्मेदवारलाई टिकट दिनुपर्छ भन्ने लाग्छ ।

व्यवहार र बोलीमा फरक कुरा गर्ने, जनताको हितका सन्दर्भमा काम गर्न नसक्ने उम्मेदवारलाई पार्टीले टिकट दिनु पनि हुँदैन र त्यस्ता उम्मेदवारले चुनाव जित्न पनि अब गाह्रो छ । जनताको चेतनाको स्तर निकै फराकिलो भइसकेको छ । त्यसैगरी उम्मेदवार योग्य, सक्षम र जनताकोबीचमा उभिनसक्ने, जनताको समस्या हल गर्न तत्पर हुने हुनुपर्छ ।

नेताका खानपान, व्यवहार, विचार, योग्यताको मूल्यांकन नगरी अब जनताले मत दिने अवस्था छैन । नेताको रहनसहन, सामाजिक र राजनीतिक सोच कस्तो खालको छ भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । उम्मेदवारले समाजको तल्लो तहका मान्छेलाई पनि भलाइ हुने कुनकुन काम गरेको छ भन्ने कुरा पनि ख्याल गर्नु जरुरी हुन्छ । यसैगरी राष्ट्रिय राजनीतिमा उसको योगदान र योगदानको सम्भावनालाई पनि जनताले महसुस गरेर मत हाल्ने अवस्था आएकाले विचार पुर्याएर उम्मेदवार छनोट गर्नुपर्छ ।

– आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनविरुद्ध एमाले एक्लैले लड्नुपर्ने अवस्था सिर्जना हुँदैछ । यसका लागि एमालेको रणनीति के छ ?

एमालेले आफ्नै शक्ति र बलबुतामा चुनाव लडेर विजयी हुनसक्ने शक्ति आर्जन गरेको छ । हाम्रो पार्टी सँधै जनताकोबीचमा रहेको कारण पनि हामी धेरैभन्दा धेरै ठाउँमा जित हासिल गर्छौं भन्ने हो । टिकट बाँडफाँडकै विषयमा पनि गठबन्धनमा कुरा मिलिहाल्ने अवस्था छैन । यदि मिलिहाले पनि कुनै न कुनै पक्षले विद्रोह गर्ने समस्या देखिएको छ ।

गठबन्धनको शक्ति धेरै छैन । व्यक्तिहरुको स्वार्थको लागि कसैलाई प्रधानमन्त्री वा मन्त्री बनाउन बनेको गठबन्धनसँग एमालेको कुनै तुलना हुने कुरा भएन । गठबन्धनको जग एकदमै कमजोर छ । यो स्वार्थ नमिलेपछि भत्किने खतरा भएको धरातलमा उभिएको प्रष्ट नै देखिएको छ ।

महाअभियोगका मुद्दा खेपिरहेका प्रधानन्याधीशका अभिव्यक्तिहरु र उनले दिएको बयानले पनि कति कमजोर धरातलमा गठबन्धन बनेको छ भन्ने कुराको पुष्टि भएको छ ।

– सरकारका कामका आधारमा चाहिं गठबन्धनलाई कसरी समीक्षा गर्नुहुन्छ ?

सरकारका कामहरुले पनि गठबन्धनलाई अलोकप्रिय बनाएको छ । जनताको काम गठबन्धन सरकारले गर्न सक्दैन भन्ने पुष्टि भइसकेको छ । गठबन्धन सरकार जनताको पक्षमा उदार छ कि अनुदार यो त ऐनाजस्तै भएको छैन र ? अहिलेको सरकारले एउटा पनि लोकप्रिय काम गरेको छ त ? उसका व्यववहार र चरित्रले नै ऊ लोकप्रिय काम गर्न, जनताको काम गर्न बनेको होइन भन्ने देखिएको छ । जनताले पनि सरकारले कसको काम गरिरहेको छ भन्ने राम्ररी बुझिसकेका छन् । जनता सरकारको नालायकीपनबाट वाक्क भइरहेको अवस्था छ । भागवण्डा र स्वार्थमा मात्र रुमल्लिरहने गठबन्धनले देशको निकास दिन्छ त ?

– यसअघिको एमाले सरकार र गठबन्धन सरकारका फरक कसरी केलाउनुहुन्छ ?

एमाले नेतृत्वको सरकारले जनताको भावनालाई महसुस हुनेगरी काम गरेको थियो । तर, आज कांग्रेसले नेतृत्व गरिरहेको गठबन्धनको सरकारले जनताको हितका कुनै काम  गरेको छ ? योजना, कार्यक्रम केही नहुँदा मुलुक लथालिङ्ग छ । ओली नेतृत्वको सरकार हुँदा मन्त्रालयहरु यसरी योजनाविहीन थिए त ? ओली नेतृत्वकै सरकारको कार्यक्रमको निरन्तरता मात्र प्रभावकारी ढंगले यो सरकारले गरिदिएको भए यस्तो जटिल अवस्थामा मुलुक आउने नै थिएन ।

एमालेको सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को अवधारणालाई लिएर अर्थतन्त्रको व्यापक पक्षहरुमा काम गरेको थियो । अर्थतन्त्रको अवस्था पनि राम्रो भइसकेको अवस्था थियो । आजको अवस्था कस्तो छ भन्ने कुरा त छर्लंगै छ ।

एमालेको सरकार हुँदा दक्षिण एशियामा नेपाल समृद्ध अर्थतन्त्र भएको मुलुकमा आफ्नो नाम दर्ज गराउने अवस्थामा पुग्दै थियो । गठबन्धनको सरकार बनेपछि देश कता गइरहेको छ ?

ओली नेतृत्वको सरकारले देश, जनता, राष्ट्र र राष्ट्रियताका सम्बन्ध जस्ता कामहरु गरेको थियो । यो सरकारले त्यतातर्फ ध्यान नै दिएको छैन । तत्कालीन एमालेको सरकारले देशको छवि अन्तराष्ट्रिय स्तरमा पुर्याउन खेलेको भूमिका पनि निकै प्रशंसनीय छ । तसर्थ यी दुई सरकारमा निकै भिन्नता छ ।

देशमा भ्रष्ट्राचारको अवस्था निकै डरलाग्दो रहेको छ । सरकारले यी कुरालाई नियन्त्रण गर्न कुनै कदम चालिरहेको छैन । प्रधानमन्त्रीचाँहि नदेखेजसरी निदाएर बस्नुभएको जस्तो लाग्छ । मन्त्रीहरु र सरकारले नियुक्त गरेका अन्य पदाधिकारीहरु सरकार रहेन भने हाम्रो भविष्य कहाँ छ र भन्दै यही क्रियाकलापमा लागेको देखिन्छ ।

– पछिल्लो समय चर्चामा रहेको नागरिकता विधेयक एमालेले विराध गरिरहेको छ । किन ?

नागरिकता एकदमै संवेदनशील विषय हो । नीति निर्माणकै तहमा नागरिकतालाई राष्ट्रियताको विषयका रुपमा लिइनुपर्छ । नागरिकता निकै गम्भीर कुरा हो । संसदमा प्रतिपक्षीलाई बहिस्कार गरेर, पेलेर कहिले पनि नागरिकता विधेयक लानै हुँदैन । यो राष्ट्र र राष्ट्रियतासँग जोडिने कुरा भएकाले प्रतिपक्षीको सहयोगी भूमिका लिएर मात्र संसदमा लानुपर्ने कुरा हो । यसमा सरकार चुकेको छ ।

जोडबलले हतारिएर विधेयक आउनु पनि शंकास्पद कुरा हो । के स्वार्थका लागि र कसका लागि विधेयक ल्याइएको हो सरकारले प्रतिपक्षीलाई जवाफ दिनुपर्छ । अहिले आएको नागरिकता विधेयकले जनतालाई खुसी र न्याय गर्छ कि गर्दैन त ? तसर्थ नागरिकता विधेयकमा सरकार चुकेको छ । राष्ट्रियताको सन्दर्भमा हेर्ने हो भने स्वार्थपूर्ण तरिकाले यस्तो विधेयक ल्याउनै हुँदैन । त्यसैले एमालेले यसको विरोध गरेको हो ।

नागरिकता विधेयकमा सम्माननीय राष्ट्रपतिज्यू राष्ट्र र जनताका पक्षमा उभिनुभएकाे छ । उहाँ राष्ट्रियताका पक्षमा हुनुहुन्छ । देशकाे अभिभावककाे याे कदम सही छ ।

– चुनाव नजिकिएसँगै स्वतन्त्र उम्मेदवारहरुको पनि एकखालको लहर देखिएको छ । यसलाई कसरी हेरिराख्नुभएको छ ?

स्वतन्त्र उम्मेदवारहरु राजनीतिमा आउन चाहनुलाई नकारात्मक रुपमा लिनु हुँदैन । संविधानले नै नागरिकलाई स्वतन्त्र रुपमा राजनीतिमा आउने हक दिएको छ । कतिपय अवस्थामा पार्टीमा राजनीति गरिरहेका जनताका बीचमा भिजिरहेका मान्छेहरु पनि टिकट नपाउने कारण स्वतन्त्र रुपमा चुनाव लड्ने गरेका छन् । राजनीतिक सुझबुझका साथै योग्यता पनि भएका र तयारीका साथ आएका स्वतन्त्रहरु पनि छन् ।उहाँहरुको भावनाको राजनीतिक पार्टीको सदस्यका रुपमा मैलै विरोध गर्ने कुरा हुँदैन ।

तर, पार्टी नै स्वतन्त्र भनेर पनि कोही आएको भन्ने सुनेको छु ।  स्वतन्त्र पार्टी  ‘स्वतन्त्र उम्मेदवारको पार्टी’ भन्ने जस्तो खालको विरोधाभासपूर्ण कुरा कसैले गरेका छन् भने त्यो राजनीति भन्दा पनि जनताप्रतिको छलकपट र बेईमानी हो । यस्तो प्रबृत्तिको मुखुन्डो भोलिका दिनमा उत्रिहाल्छ । 

यी कुराहरु अलिक क्षणिक हुन् भन्ने हामीले बुझ्नुपर्छ । यस्तो प्रवृत्ति केही समय भाइरल भएर आफैं हराउने हुन्छन् । कतै यस्ता पार्टीको उम्मेदवारले चुनाव जिति नै हाले पनि देशका सन्दर्भमा केही काम गर्न सक्तैनन् ।

पार्टी स्वतन्त्र हुँदैन । ‘पार्टी त पार्टी हो’  उसको दर्शन र सिद्धान्तहरु हुन्छन् । कतै कुनै स्वतन्त्र उम्मेदवारले स्थानीय तहमा जित्यो, उसको लोकप्रियता राम्रो भयो, ऊ स्वतन्त्र उम्मेदवार हो र उसैसँग जनताले दाँजिहाल्छन् भनेर उसको दर्शन चोर्नु एक हिसाबमा राजनीतिभन्दा पनि अपराध हो ।

लोकतन्त्रमा दलीय अभ्यासको विकल्प नै छैन । राजनीतिक सुझबुझ भएको योग्य, स्वतन्त्र मान्छे पनि संसदमा आएर देशलाई योगदान दिन सकोस् भन्ने कुरामा भने कुनै पनि राजनीतिक पार्टी नकारात्मक छैनन् । संविधानमा राजनीतिक स्वतन्त्रताको अधिकार राखिएको नै यही कारणले हो ।

– कम्युनिष्ट पार्टीहरु विभिन्न रुपमा विभाजित छन्, जनतामा यसले नकारात्मक भावना पैदा भएको देखिन्छ । एमालेले यसलाई सच्याउन कस्तो भूमिका निभाउनु पर्ला ?

माओवादी पार्टी जुन रापतापले आएको थियो, त्यो रापताप एकदमै सेलाएर गएको छ । माओवादीमा संगठनका नीति, नियम र विधानअनुसार काम नै भएका छैनन् । त्यो पार्टीमा मैले १० वर्ष संगठनको सदस्य भएर भूमिका निभएकोले यो कुराको एकदमै महसुस भएको छ । वर्गीय नीति यस्तो हुनुपर्छ भन्नेमा पनि अन्योलता, जनयुद्धका बेलामा उठाएका मुद्दाहरु सेलाउनु, अव्यवहारिक रुपमा पार्टी चल्नु, ठूलाठूला एजेण्डाहरु उठाए पनि हिँडिरहेको बाटो साँघुरो हुनु, स-साना स्वार्थमा रमाउनु र जनतालाई बेवास्ता गर्नु जस्ता कारणले धेरै राम्रा मान्छेहरु पार्टीमा अटाउने ठाउँ नै रहेन ।

यसैगरी नेकपा एकीकृत समाजवादी एउटा समूहको अहंकारका कारण जन्मिएको पार्टी हो । यसले समाजको रुपान्तरणमा भूमिका निभाउन सक्ने अवस्था पनि छैन । यहाँ व्यक्तिहरुले आफ्नो क्षणिक स्वार्थ खोज्ने काम गरिरहेको आम जनताले प्रष्ट रुपमा नै देखेका छन् । राजनीतिक रुपमा आ-आफ्नो स्वार्थ पूरा नहुने देखिएपछि त्यहाँ विभिन्न खालका मनोवृत्तिहरु पनि देखिए । जनताका मुद्दा र सवालका सन्दर्भमा नेकपा (एस)ले सोच्न पनि फुर्सद पाएको छैन ।

एमालेमा पनि केही कमीकमजोरी त पक्कै छन् । तर, एमालेले जनताको मुद्दालाई प्राथमिकतामा राखेको छ । जनताका मुद्दालाई आत्मसात गरिरहेको देखेर नै म माओवादी छाडेर एमालेमा आएको हुँ ।

हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले जनताको मुद्दालाई प्राथमिकतामा राख्न बारम्बार निर्देशन दिइरहनुभएको छ । उहाँले सरकारको नेतृत्व लिँदा पनि जनताको हितका सन्दर्भमा राष्ट्र र राष्ट्रियताका विषयमा जुन काम गर्नुभयो, त्यसको सकारात्मक प्रभाव अहिले पनि परिरहेको देखेको छु ।

उहाँसँग केही महिना काम गरेपछि जनताको नेता कस्तो हुनुपर्छ, पार्टी कस्तो हुनुपर्छ, जनताको मुद्दा कस्तो हुनुपर्छ भन्ने कुराको राम्ररी महसुस पनि भएको छ ।

आजको दिनमा कम्युनिष्ट पार्टीहरुको नेतृत्व लिनसक्ने पार्टी नै एमाले हो । कम्युनिष्ट आन्दोलनलाई जनताका माझमा लैजान सक्ने पार्टीका रुपमा अध्यक्ष ओलीको नेतृत्वमा एमाले अघि बढिरहेको देखिएको छ । उहाँका विचार र भिजनलाई सचिवालय, पार्टीको केन्द्रीय कमिटी, जिल्ला स्तरका नेता कार्यकर्ता सबैले हातेमालो गरेर अघि बढेको खण्डमा एमालेलाई कसैले हराउन सक्दैन ।

हामी यही रुपमा अघि बढिरहेका छौं । पार्टीलाई अघि बढाउन  जनता, राष्ट्र र राष्ट्रियताका विषयमा काम गर्न अझै पनि हामीले मेहनत भने गर्नुपर्छ । अनि पार्टीको शक्ति र पावरलाई विकेन्द्रीकरण गरेर लैजानु छ । यसका लागि पार्टीको नेतृत्व सकारात्मक  देखिएको छ । यसको सकारात्मक प्रभाव पर्दै गएको पनि छ । यसरी अघि बढेमा हामीले दुई तिहाई बहुमत पनि ल्याउन सक्छौं । जनताका भावना र देशको हितमा पनि काम गर्न सक्छौं भन्ने लाग्छ । कम्युनिष्ट आन्दोलन बच्ने यहीँबाट हो ।

– तपाईं आफैं चाहिं चुनावमा उठ्ने कस्तो तयारी गरिरहनुभएको छ ? 

म चुनावमा यहीँ उठ्छु, मलाई यो क्षेत्र दिनुपर्छ भनेर मैले भनिरहेको छैन । मलाई पार्टी नेतृत्वले तपाईं कता चाहना राख्नुहुन्छ भनेर सोधिरहनुभएको पनि छ । मैले जिल्लाका सबै नेता कार्यकर्ताहरुको भावनाले के भन्छ, उहाँहरु के चाहनुहुन्छ, सरसल्लाह गरेर सबैको चित्त बुझाएर मात्र चुनावमा उठ्छु भनेको छु । यसैगरी पार्टीले मेरो योग्यता, क्षमता र काम गर्ने हौसलालाई ख्याल गरेर जहाँ भन्नुहुन्छ, म त्यहीँ गएर चुनाव लड्छु भनेर सोचेको पनि छु । पार्टी नेतृत्व र जिल्लाका नेता, कार्यकर्ता सबैले मलाई चाहनुभयो भने म प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ उम्मेदवार हुन पनि तयार नै छु ।

– अन्तिममा के भन्नुहुन्छ ?

देश निर्वाचनमय भएको छ । आगामी निर्वाचनको मत परिणामले देशलाई दुईवटा मात्र बलियो राजनीतिक पार्टी भएको मुलुकमा रुपान्तरण गर्न सकोस् । एउटा सरकारमा जाने पार्टी र अर्को ‘अपोजिसन’मा बलियो भएर बस्न सक्ने पार्टी । नेपालले धेरै पार्टीहरु धान्न सक्ने अवस्था पनि छैन । नेपाललाई राजनीतिक स्थायित्वका लागि दुईवटा मात्र बलियो पार्टी चाहिएको छ । स-साना पार्टीहरुलाई काखी नच्यापेसम्म सरकार नै नबन्ने स्थितिबाट देशलाई अब मुक्ति चाहिएको छ । जनताले धेरै मुलुकमा विकासका कामहरु यस्तै राजनीतिक ब्यवस्थाबाट भएको हो भन्ने बुझ्न जरुरी देखिएको छ । दुईवटा मात्र बलियो पार्टी नभएसम्म देशले राजनीतिक स्थायित्व पाउला भनेर कल्पना नै गर्न नसकिने अवस्था आएको छ । आम मतदाताले अब यो कुरा बुझेर मतदान गर्नुहुनेछ भन्नेमा बिश्वस्त छु ।