काठमाडौँ – माध्यमिक तहको परीक्षा कक्षा १२ को पछिल्लो परिणाममा धेरै सङ्ख्याका विद्यार्थीले माथिल्लो कक्षामा पढ्न योग्य हुन नसकेको सन्दर्भमा शिक्षाकर्मीले सिकाइ र परीक्षा पद्दतिमा परिमार्जन गर्न सुझाएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) द्वारा आज यहाँ आयोजित माध्यमिक तहको परीक्षा र मूल्याङ्कन प्रणाली विषयका गोष्ठीका वक्ताहरुले परीक्षालाई भन्दा सिकाइ प्रक्रियामा सुधार ल्याउन माग गरेका छन् ।


ADVERTISEMENT


सिकाइमा सुधारका लागि शिक्षक जिम्मेवार र सक्षम हुनुपर्ने भएकाले सरकारले शिक्षक सक्षमताका लागि कार्यक्रम दिन पनि उनीहरुको आग्रह छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले कतिपय शिक्षकले पाठ्यक्रमको नीति र ग्रेड निर्धारणका आधार नै थाहा नपाएकाले विद्यार्थीलाई समस्या पर्न गएको बताउँदै बोर्डले शिक्षक अभिमुखीकरणका कार्यक्रम सञ्चालन गर्ने जनाए । उनले अगामी वर्षमा कक्षा १२ को परीक्षामा सबै प्रदेशका लागि समानस्तरका प्रश्न सोधिने र मूल्याङ्कनलाई पाठ्यक्रम र सोभन्दा बाहिर पनि लागू हुने गरी कसरी पद्दति विकास गर्न सकिन्छ भन्नेबारे छलफल चलाउने बताए ।


ADVERTISEMENT

# # #


उनले भने, “बोर्डले परीक्षाको प्रशासनिक काम मात्रै गर्ने भएकाले पाठ्यक्रम निर्माण, प्रश्नपत्र निर्माण, उत्तरपुस्तिका सम्परीक्षण आदि काम विज्ञहरुबाटै हुनुपर्छ । ” शिक्षाविद् डा बालचन्द्र लुइँटेलले विद्यार्थीलाई परीक्षामा भन्दा सिकाइमा जोड दिन आग्रह गर्दै पाठ्यपुस्तकलाई साध्यका रुपमा नभइ साधनका रुपमा लिनुपर्ने बताए ।

प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले परीक्षा प्रणालीमा सुधार र परिमार्जन आवश्यक भएकाले आफूहरुले छलफललाई अघि बढाएकाले विज्ञहरुका सुझावलाई सरकारले सुनुवाइ गर्नुपर्ने बताए । शिक्षा विश्लेषक ज्ञानेन्द्र वन र हरि मुस्यानले परीक्षा प्रणालीबारे प्रस्तुतिकरण गर्दै तल्ला तहमा उदार कक्षोन्नति र माथिल्लो कक्षाका परीक्षामा कस्ने पद्दति सही नभएको टिप्पणी गरे ।

बोर्डकाले अक्षराङ्कन पद्दति २०७८ अनुसार नतिजा प्रकाशित गर्दै आएको छ । यस वर्षको कक्षा १२ को नतिजा अनुसार चार जिपीए ल्याउने सङ्ख्या शून्य रहेको छ । नियमित तर्फ एक लाख ८८ हजार भार सय १० जना नन् ग्रेडिङमा परेकाले उनीहरु कक्षा ११ मा भर्ना हुन पाउँदैनन् । परीक्षामा नियमिततर्फ तीन लाख ६३ हजार एक, ग्रेड वृद्धितर्फ ३० हजार ४५ र आंशिकतर्फ तीन हजार एक सय ३२ जना गरी तीन लाख ९६ हजार उक सय ८५ विद्यार्थी सहभागी थिए ।