काठमाडौं-क्रिस्टियानो रोनाल्डोको रियल म्याड्रिड ४० वर्षपछि पहिलोपल्ट च्याम्पियन्स लिग उपाधिको ह्याट्रिक गर्ने दाउमा छ । त्यसका लागि टोलीले अन्तिम १६ मा नेयमरसम्मिलित पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पराजित गर्नुपर्ने हुन्छ । सोमबार र्युइएफएको मुख्यालयमा भएको च्याम्पियन्स लिग अन्तिम १६ को ‘ड्र’ मा यी दुई टोली भिड्ने पक्का भएको हो ।


ADVERTISEMENT


१९७० को दशकमा बायर्न म्युनिखले लगातार तीनपल्ट उपाधि जितेयता अन्य कुनै टोलीले त्यो सफलता हासिल गरेको छैन । हालसम्म १२ पटक उपाधि जितिसकेको म्याड्रिड २०१८ मेमा किभमा उक्त दुर्लभ सफलता हात पार्ने प्रयासमा हुनेछ । रियल सधैं प्रतियोगिताको बलियो दाबेदारमध्ये एक हो । प्रतियोगितामा अनेकौं कीर्तिमान राखेका रोनाल्डोको साथले रियललाई थप बलियो बनाएको छ ।


ADVERTISEMENT

# # #


पीएसजीले यस सिजनको ट्रान्सफर विन्डोमा विश्व कीर्तिमानी २ सय २२ मिलियन युरो खर्चेर ब्राजिली स्टार नेयमरलाई भित्र्याएको थियो । त्यसपछि किलियन एमबाप्पे लोनमा आए पनि क्लबले अर्को वर्षको ट्रान्सफरमा मोनाकोलाई १ सय ८० मिलियन युरो तिर्नेछ । हाल फ्रान्सेली लिग तालिकामा शीर्षस्थानको मोनाको आफ्नो समूहमा बायर्नभन्दा माथि रहेर दोस्रो चरण पुगेको हो ।

रियलले पीएसजीको सामना गर्दा अर्को स्पेनिस महारथी बार्सिलोनाले भने चेल्सीको सामना गर्दैछ । पाँचपल्टको च्याम्पियन्स लिग विजेता बायर्न म्युनिखले टर्किस क्लब बेस्किटासको चुनौती स्विकार्ने छ । गत संस्करणको फाइनलमा पराजित इटालियन टोली युभेन्ट्सले इंग्लिस टोली टोटेनहम हट्स्परसँग खेल्नेछ ।

म्यानचेस्टरका दुई टोलीलाई भने तुलनात्मक रूपमा सहज ड्र परेको छ । म्यानचेस्टर युनाइटेडले सेभियाको सामना गर्नेछ भने प्रिमियर लिगको शीर्षस्थानको म्यानचेस्टर सिटीले एएफसी बसेलसँग प्रतिस्पर्धा गर्नेछ । बसेलले विगतका संस्करणमा इंग्लिस टोलीविरुद्ध राम्रो नतिजा हासिल गर्दै आएको छ । पाँचपल्ट उपाधि उठाएको लिभरपुलले एफसी पोर्टोसँग खेल्नेछ । युक्रेनी टोली साख्तार डोनेस्कले एएस रोमासँग भिड्ने छ ।