काठमाडौं – नेकपा एमालेकी केन्द्रीय सदस्य भगवती चौधरीले आफ्नो चुनावी एजेण्डा सार्वजनिक गरेकी छन् । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभाका लागि एमालेकी उम्मेदवार रहेकी चौधरीले आर्थिक समृद्धि, युवा स्वरोजगार र व्यवसायिक कृषि योजना र स्थानीय विकासका आधारलाई आफ्नो चुनाबी नारा रहेको बताएकी छन् ।


ADVERTISEMENT


चौधरी प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट सुनसरी क्षेत्र नं ३ मा सर्वसम्मत उम्मेद्वार सिफारिस भएकी छन् । चौधरीले आर्थिक समृद्धि, निर्यातमुखी कृषि, युवा स्वरोजगारबाट नै मुलुकको विकास गर्न सकिने धारणा राखेकी छन् ।


ADVERTISEMENT

# # #


बुधबार काठमाडौंमा  सञ्चारकर्मीहरुसँग अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै नेतृ चौधरीले सुनसरी क्षेत्र नं ३ विकास र आर्थिक दृष्टिकोणले सबैभन्दा पछाडी परेको चर्चा गर्दै उक्त क्षेत्रको विकास र जनताको जीवनस्तर उकास्नकै लागि आफु राजनीतिमा होमिएको उद्घोष गरिन् । ‘राजनीतिमा लागेर मैले कुनै व्यक्तिगत लाभ लिनु छैन, मेरो एकमात्र उद्देश्य भनेको त्यहाँका जनताको जीवनस्तर उकास्नु हो ।’ करिब तीन दशकदेखि समाजसेवा र महिला सशक्तिकरणका अभियान समेत सञ्चालन गर्दै आइरहेकी पूर्वराज्यमन्त्री चौधरीले भनिन् ।

उनले सुनसरी ३ कृषि, पर्यटनका लागि अत्यन्त उर्वर क्षेत्र भए तापनि राज्यको नजर नपर्दा पछि परेको जिकीर गरिन् । आधुनिक कृषि प्रणाली अवलम्बन गर्दै चक्लावन्दी गरी नगदेबाली लगाए उक्त क्षेत्रका जनताको जीवनस्तर सुधार हुने चौधरीले प्रष्ट्याइन् । ‘मुलुकलाई समृद्ध बनाउने हो भने हाम्रो आयातमुखी कृषिलाई निर्यातमुखी बनाउन पर्छ । कृषि क्षेत्रको विकास गर्न सकेमात्रै सबै क्षेत्रको विकास हुन्छ ।’ चौधरीले भनिन् ।

सुनसरी क्षेत्र नं ३ सँग जोडिएका क्षेत्र र जिल्लाका जनताको जीवनस्तर सुदृढ हुँदै जाँदा आफ्नो क्षेत्रका जनताहरु अझै ऋणमा पिल्सिइरहेको पनि बताइन् । ‘अन्य क्षेत्र र जिल्लाहरुको आर्थिक सूचकांक सवल हुँदा मेरो क्षेत्रको आर्थिक सूचकांक कमजोर हुनुको कारण राज्यको भूमिका कमजोर भएर हो । यो पल्टको निर्वाचनमा जितेपछि मेरो एउटै उद्देश्य आफ्ना क्षेत्रका जनताको जीवनस्तर उकास्ने रहनेछ ।’

चौधरीले यसपल्ट आफुले १० औं हजार भोटले चुनाब जित्ने दावी पनि गरिन् । पछिल्लो समय युवाहरुले उठाएका सुशासन, आर्थिक उन्नती, स्वरोजगार, आत्मनिर्भरताका कुरा आफुले १० वर्ष अगाडी देखि उठाउँदै आएको बताउँदै चौधरीले योपल्ट सुनसरी ३ ले परिवर्तनका लागि आफुलाई भोट दिने दावी गरिन् । ‘विगतका २ वटा चुनाबमा मलाई जनताले जिताएका थिए तर, राज्यसत्ता नै लागेर हराइयो । योपल्ट त्यो नियती दोहोरिने छैन । एउटै व्यक्तिलाई पटकपटक विस्वास गरेर जनता वाक्क भइसके । योपल्ट मलाई दशौं हजार मतले जनताले जिताउने छन्’ चौधरीले भनिन् ।

नेकपा एमालेले ल्याएका स्वरोजगार, आत्मनिर्भरका एजेण्डाबाट नै मुलुकको विकास गर्न सकिने तर्क गर्दै समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न पनि एमालेलाई पुनः सरकारका पठाउनु पर्ने चौधरीको भनाई थियो ।

चौधरी नेकपा एमालेकी केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सह–इन्चार्ज हुन् । २०६४ सालको पहिलो संविधान सभा सदस्य समेत रहेर झलनाथ खनालको नेतृत्वको सरकारमा वन तथा भू–संरक्षण राज्यमन्त्री समेत भइसकेकी चौधरी लघुवित्त र महिला सशक्तीकरणको अभियानमा सक्रिय रहेकी छिन् ।