काठमाडौँ – यस वर्षको शरद ऋतु (अटम सिजन) को हिमाल आरोहणका लागि ४८ आरोही समूहका चार सय ५० भन्दा बढी आरोहीले आरोहण अनुमति लिएका छन् । पर्ययटन विभागका अनुसार यो सिजनमा सगरमाथा (८,८४८.८६ मिटर), मनास्लु (८,१६३ मिटर) लगायत हिमाल तथा चुली आरोहणका लागि धमाधम आरोही आइरहेका छन् । यो अवधिमा सबैभन्दा बढी मनास्लु आरोहणका लागि ३७ आरोही समूहका तीन सय ९४ आरोहीले आरोहण अनुमति लिएका छन् ।


ADVERTISEMENT


विभागको पर्वतारोहण शाखाको विवरणमा सगरमाथा आरोहणका लागि एक समूहका पाँच आरोहीले अनुमति पाएका छन् । यस्तै, धौलागिरि (८, १६७ मिटर) आरोहणका लागि चार आरोही समूहका ३४, हिम्लुङ हिमालका (७,१२६ मिटर) मा दुई समूहका सात, नुप्से (७,८५५)आरोहणका लागि एक समूहका पाँच र सरिबुङ (६,३४६ मिटर) आरोहणका लागि मात्र एक आरोहीले अनुमति लिएका छन् ।


ADVERTISEMENT

# # #


यो सिजनमा हिमाल आरोहणबाट हालसम्म पाँच करोड ३२ लाख २७ हजार ५९२ हजार रोयल्टी जम्मा भएको छ । हिमाल आरोहणका लागि हालसम्म ६० मुलुकका एक सय १० महिला र तीन सय ४४ पुरुष गरी कूल चार सय ५४ आरोही नेपाल आएका छन् ।

अघिल्ला वर्षमा झै यो वर्ष पनि मनास्लु आरोहणमा आरोहीको आकर्षण देखिएको छ । विश्वको आठौँ अग्लो र नेपालको सातौँ अग्लो मनास्लु हिमाल आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही आएका छन् । शरद ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम मानिने भएकाले सर्वाधिक आरोहीको रोजाइमा पर्छ । शरद ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम भएकाले पनि प्रत्येक वर्ष यो सिजनमा आरोहण गर्न उल्लेख्य सङ्ख्यामा आरोही आउने गरेको नेपाल पर्वतारोहण सङ्घले जनाएको छ ।

सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले आठ हजार १६३ मिटर अग्लो मनास्लुको सफल आरोहण गरेका थिए । सेभेन सम्मिट ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले यो सिजनमा मनास्लु आरोहणका लागि धमाधम आरोही आइरहेको बताए । आरोहणको उपयुक्त मौसम मानिएकाले हरेक वर्ष मनास्लु आरोहणमा सर्वाधिक आरोही आउने गरेको प्रबन्ध निर्देशक शेर्पाको भनाइ छ । रासस