काठमाडौं – न्यायपालिकाको सर्वोच्च निकायमा न्यायमूर्ति भित्र्याउने प्रक्रिया अघि बढेको छ । सर्वोच्च अदालतका न्यायाधीशका रुपमा सिफारिस भएका डा. डी.एन. पराजुली, नीता गौतम दीक्षित र विनोद शर्माको नियुक्ति प्रक्रिया अघि बढेको हो ।


ADVERTISEMENT


न्याय परिषदको बैठकले गत भदौ २१ गते नाम सिफारिस गरेसँगै तीनै जनाको चर्चा एकाएक चुलिएको छ । संविधानको धारा १२९ अनुसार सिफारिस व्यक्तित्वहरुले नियुक्तिको प्रक्रिया पूरा गर्दै जिम्मेवारी सम्हाल्ने छन् । सम्मानित सर्वोच्च अदालतमा गरिमामय पदलाई काँधमा बोकेर मुलुक र जनताका पक्षमा संविधानको व्याख्या गर्न तम्तयार ‘वेटिङ जस्टिस’हरुको पृष्ठभूमि, विगतको भूमिका, पेशागत एवम् व्यवसायिक अनुभव, शैक्षिक योग्यता, कार्यक्षमता लगायतका विषयमा खोज रिपोर्ट तयार पारिएको छ ।


ADVERTISEMENT

# # #


यस शृंखलामा न्याय परिषदबाट सिफारिस भएका डा. डीएन पराजुलीकाबारेमा उनको परिचयसँगै कानुनका हस्तीहरुका प्रतिक्रियाहरु समेत समेटिएको छ ।

को हुन पराजुली ?

वि.सं २०५० देखि निरन्तर वकालतमा सक्रिय नाम हो, वरिष्ठ अधिवक्ता डा. डी.एन. पराजुली । नेपाल ल क्याम्पसको प्रमुखका रुपमा दोस्रो कार्यकाल निर्वाह गरिरहेका पराजुलीले त्रिविको कानुन संकायका प्रोफेसरका रुपमा शिक्षण पेशामा महत्वपूर्ण अनुभव संगालेका छन् ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को कानुन संकायबाट ‘रिकग्निसन एन्ड ईन्फोर्समेन्ट अफ फरेन आर्बिटरल अवार्ड ईन नेपाल’मा विद्याविरिधी गरेका पराजुलीले कानुन क्षेत्रको विज्ञ व्यक्तिका रुपमा चिनिँदै आएका छन् । त्रिविको पहिलो (२०५३–५५) ब्याचबाट एलएलएम गरेका उनले ‘यूएन म्यान्डेट युनिभर्सिटी फर पिस, सान जोस’बाट अन्तराष्ट्रिय कानुन र मानव अधिकारमा समेत स्नातकोत्तर गरेका छन् ।

कानुन र प्राज्ञिक क्षेत्रमा चर्चा कमाएका उनका कानुन, न्याय र मानव अधिकारका विषयमा दर्जनौं राष्ट्रिय/अन्तराष्ट्रिय जर्नलहरुमा लेख प्रकाशन भएका छन् । उनका ‘मर्कन्टाईल ल’, ‘बिजनेस ल’, ‘ईन्टरनेशनल ईन्स्टिच्युसन एन्ड ह्युमन राईट्स’, ‘कम्पनी ल’, ‘कर्पोरेसन ल’, ‘ईलेक्सन ल’ लगायतका दर्जन बढी चर्चित पुस्तकहरु प्रकाशित छन् ।

कानुन, न्याय क्षेत्रको विभिन्न समितिहरुमा बसेर महत्वपूर्ण कार्यसम्पादन गरिरहेका पराजुली त्रिविका सिनेटर (सभासद) भएर कार्य गरिसकेका छन् । बार काउन्सिलबाट सञ्चालित परीक्षा समितिमा बसेर महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका उनले बार काउन्सिलको कानुन, शिक्षा समितिका सदस्य भएर अनुभव संगालेका छन् ।

‘कानुन परिचर्चा’ र ‘नेपाल ल रिभ्यू’का प्रधान सम्पादक समेत रहेका उनी यसअघि नेपाल बार काउन्सिलको ‘ल जर्नल’को प्रकाशन समितिका सदस्य थिए । अधिवक्ताका रुपमा इलामबाट न्यायिक क्षेत्रमा आफ्नो पाइला अघि सारेका पराजुलीले सर्वोच्च अदालतको न्यायाधीशका रुपमा सिफारिससम्म आइपुग्दा आफूलाई कानुन क्षेत्रको प्राज्ञिक व्यक्तित्वका रुपमा उभ्याउन सफल भएका छन् ।

व्यवसायिक रुपमा वकालतका साथै देशको कानुनी क्षेत्रसँग सम्बन्धित अपार अनुभव र ज्ञान आर्जन गरेका पराजुली कानुनका विविध विषयहरुको खोज र अनुसन्धानमा अभ्यस्त छन् ।

के भन्छन् न्याय क्षेत्रका व्यक्तित्वहरु ?

हरिहर दाहाल (वरिष्ठ अधिवक्ता, पूर्व अध्यक्ष: नेपाल बार एशोसिएशन )

उहाँ कानुन व्यवसायी र प्राज्ञिक व्यक्ति पनि हो । लामो समयदेखि शिक्षण पेशामा आवद्ध भएकाले पनि उहाँ न्यायालयमा चाहिने व्यक्ति हो । उहाँको सिफारिसलाई सकारात्मक रुपमा हेरेको छु ।

भोलिका दिनमा  न्यायपालिकामा उहाँको भूमिका र न्यायसम्पादन कस्तो हुन्छ भन्ने कुरा उहाँमा नै निर्भर हुन्छ । तर, क्षमतामा, योग्यतामा प्रश्न गर्ने ठाउँ मैँले देखेको छैन । न्यायालय सुधारमा उहाँको भूमिका प्रभावकारी हुने अपेक्षा गरेको छु ।

माधव बाँस्कोटा (वरिष्ठ अधिवक्ता: पूर्व महासचिव : नेपाल बार एशोसिएशन)

उहाँ इलाममा हुँदा राम्रो वकालत गरेको मलाई थाहा छ । मुद्दाको हैसियतमा उहाँ इलाममा राम्रै चलेको वकिल हुनुहुन्थ्यो । काठमाडौँ आइसकेपछि कानुनको प्राज्ञ बन्नुभयो । नेपाल ल क्याम्पसको क्याम्पस प्रमुख समेत हुनुभयो । अधिवक्ताका रुपमा लामो अनुभव संगालेको व्यक्तित्व हुनुहुन्छ । अहिले सर्वोच्चको न्यायाधीशमा सिफारिस हुनुभएको छ । यसलाई मैँले सकारात्मक रुपमा नै लिएको छु ।

विजय मिश्र  (वरिष्ठ अधिवक्ता, पूर्व महासचिव : नेपाल बार एशोसिएशन)

मैँले चिने अनुसार उहाँ राम्रो अधिवक्ता, प्राज्ञ व्यक्ति हो । योग्य भएकाले उहाँलाई नियुक्ति गर्दा राम्रो हुन्छ । उहाँ जत्तिको कानुन क्षेत्रको प्राज्ञ व्यक्ति न्यायालयमा जानु पनि पर्छ । सर्वोच्च अदालतको न्यायाधीश हुनका लागि उहाँमा कुनै कमी छैन । त्यसकारण उहाँ उपयुक्त पात्र हो । जतिसक्दो चाँडो नियुक्ति गरिनु पर्छ ।

डा. कृष्ण प्रसाद बस्याल  (वरिष्ठ अधिवक्ता, डिन : कानुन संकाय, त्रिभुवन विश्वविद्यालय)

अहिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस हुनुभएका डा. डीएन पराजुलीलाई म नेपाल ल क्याम्पसको सहायक क्याम्पस प्रमुख हुँदा जब उहाँ २०६३–६४ सालतिर इलामदेखि आउनुभएको थियो, त्यो बेलादेखि नै चिन्छु ।

उहाँको प्राज्ञिक क्षेत्रमा देखिएको लगनशीलता, पठनपाठन र अरु व्यवहारबाट निकै सहज र सरल अनुभूति विगतदेखि नै लागेको थियो, जुन अहिले पनि कायम नै छ । अहिलेको कुरा गर्दा त्रिभुवन विश्वविद्यालयमा कार्यरत रहँदा नै एउटा प्राध्यापन गरिरहेको व्यक्तिलाई सर्वोच्च अदालतमा न्यायाधीशका रुपमा लैजानु भनेको वास्तवमा समग्रमा त्रिभुवन विश्वविद्यालय र कानुन संकायको गौरवको विषय हो ।

उहाँको विज्ञता, पठनपाठन, सहनशीलता, धैर्यता र अर्को महत्वपूर्ण पक्ष भनेको ४ वर्ष क्याम्पस प्रमुखको कार्यकाल पूरा गर्नुभयो, त्रिभुवन विश्विद्यालयले विश्वास गरेर ४ वर्षको लागि कार्यकाल दोहोर्याएको अवस्था थियो । त्यसले पनि के प्रमाणित गर्छ भने व्यक्तिगत रुपमा उहाँ एउटा कुशल प्रशासक, कुशल प्राध्यापक, विद्यावारिधी गरेको, कानुनको विज्ञ, वरिष्ठ कानुन व्यवसायीबाट परिचित हुनुहुन्छ ।

एउटा व्यक्ति भन्दा पनि शिक्षण संस्था, त्रिभुवन विश्वविद्यालयको गरिमा उच्च भएको अनुभूति भएको छ । यो सबैका लागि प्रशंसाको विषय हो र आगामी दिनमा हाम्रा प्रध्यापकहरुले असल र निष्ठावान भयो भने त्यसको प्रतिफलस्वरुप न्यायालयमा पनि मूल्याङ्कन हुन्छ भन्ने उदाहरण उहाँ बन्नु भएको छ ।

प्रा. डा. अम्बर प्रसाद पन्त (वरिष्ठ अधिवक्ता, पूर्वडिन : कानुन संकाय, त्रिभुवन विश्वविद्यालय)

डीएन पराजुली पहिलेदेखि नै इलाममा सफल व्यक्ति हुनुहुन्थ्यो । यहाँ (काठमाडौँ) आएर प्राज्ञिक कानुनविद्को रुपमा काम गर्न थाल्नुभयो । उहाँ जत्तिको योग्य, इमान्दार मान्छे मैँले देखेको छैन ।

क्याम्पस प्रमुख भनेको कानुनको विज्ञ हो, कानुन सिकाउने व्यक्ति हो । सर्वोच्च, बार काउन्सिलतिर पनि उहाँ काम गरिराख्नुभएकै छ । मलाई उहाँ काममा समर्पित मान्छे लाग्छ ।

अहिलेसम्मको रेकर्ड हेर्दा उहाँले नराम्रो गरेको केही पनि थाहा छैन । स्वच्छ हुनुहुन्छ । अहिले न्यायाधीशका लागि तीन जना सिफारिस हुनुभएको छ । त्यसमा विवाद गर्नुपर्ने ठाउँ मैँले देख्दिँन । मैँले ३५ सालदेखि ल क्याम्पसमा पढाएँ, उहाँलाई समेत मैँले पढाएको पनि हो । नेपाल ल क्याम्पसबाट पहिलो पटक उहाँले सर्वोच्च अदालतमा प्रतिनिधित्व गर्ने अवसर पाउँदै हुनुहुन्छ । म आफै सिफारिस भएको महसुस गरिरहेको छु ।

कानुनको विज्ञ भएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयमा पीएचडी गर्नुभएको छ, किताब लेख्नुभएको छ, उहाँमाथि कसैले औँला ठड्याएका छैनन् । वि.सं. २०११ सालमा स्थापना भएको ल क्याम्पसको इतिहासमा पहिलो पटक उहाँले राष्ट्रपतिलाई बोलाएर गत असार १७ गते क्याम्पसको स्थापना दिवस मनाउन सफल हुनुभयो । समर्पण के हो भनेर यी सबै कुरा हेर्नुपर्छ । 

डा. डी.एन. पराजुली, नीता गौतम दीक्षित र विनोद शर्माको सिफारिसका विषयमा सकारात्मक चर्चा र प्रतिक्रियाहरु आइरहेका छन् । योग्य, क्षमतावान र स्वच्छ छवी भएका व्यक्तिलाई सर्वोच्चको न्यायाधीशका रुपमा नियुक्ति प्रक्रिया अघि बढाइएसँगै न्याय परिषद्को समेत प्रशंसा भइरहेको छ ।