काठमाडौं – नेपालीहरुको महान् चाड  बडादसैँको पहिलो दिन घटस्थापनासँगै दशैं औपचारिक रुपमा सुरु भएको छ ।  बडादशैं आश्विन शुक्लपक्षको प्रतिपदा अर्थात् घटस्थापनाबाट सुरु भई दशमीको दिन समाप्त हुन्छ । घटस्थापनाको दिनदेखि नवमीको दिनसम्मलाई नवरात्र अर्थात् नौरथाको रूपमा मनाइन्छ । बडादसैँमा नवरात्रको छुट्टै महत्व रही आएको छ ।


ADVERTISEMENT


यस पटकको घटस्थापनाको साइत बिहान १० बजेर २३ मिनेटमा रहेको छ । दसैँको पहिलो दिन घटस्थापना गरिन्छ । घटः स्थापना अर्थात घैंटो, घडा वा कलश स्थापना गर्नु नै घटस्थापनाको मूल अर्थ हो ।


ADVERTISEMENT

# # #


आजका दिन स्थापना गरिएको घडाको जल, नौ दिनसम्म देवीलाई पूजा गरिएको टीका प्रसाद र घडामा राखिएको जमरा विजयादशमीका दिन दुर्गादेवीको प्रसादको रुपमा मान्यजनबाट ग्रहण गरिन्छ । घटस्थापना गरेर राखिएको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगि बिसर्जन गरिन्छ । नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

आसुरी प्रवृत्तिको प्रतीकका रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ, रक्तबीज लगायतका राक्षसको बध गर्न दुर्गाले लिएका नौ रुपको यस अवसरमा विशेष पूजा आराधना हुन्छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्रको समेत पाठ गरिन्छ ।

अन्तिम दिन भगवतीको प्रसाद लगाउँदै दसैंको समाप्ति हुन्छ । उसो त पूर्णिमासम्म मान्यजनको हातबाट  भगवतीको प्रसाद लगाउँदै आशीर्वाद लिने चलन पनि छँदै छ ।